३१ जेठ २०८३, आइतबार

पोखराका पर्यटन व्यवसायी निषेधाज्ञाबीच प्रदर्शनमा

असार २१, २०७८
पोखराका पर्यटन व्यवसायी निषेधाज्ञाबीच प्रदर्शनमा

पोखराका पर्यटनकर्मीहरूले कोरोना भाइरसविरुद्ध भ्याक्सिनको माग गरेका छन् । उनीहरुले एक सूत्रीय माग राखेका छन्–नो भ्याक्सिन, नो टुरिजम । 

पोखरामा सोमबार उनीहरुले यसबारे विभिन्न नारा अंकित प्लेकार्ड सहित भद्र आन्दोलन गरेका छन् । लेकसाइड स्थित अम्बोटबाट सुरु भएको प्रदर्शन शहिद चोकस्थित जिल्ला प्रशासन कार्यालय गेट अघि आएर धर्नामा परिणत भएको थियो । 

पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाए । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुले अहिले एक सूत्रीय माग खोप रहेको बताए । उनले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, मजदुर सबै गरेर करिब ३० हजार हाराहारीमा खोप आवश्यक रहेको बताए । 

परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले अति नै संवेदनशील क्षेत्र पर्यटन रहेकोले यसलाई जीवन भर्न खोप अनिवार्य आवश्यकता रहेको बताए ।

उनले खोप नभएसम्म आफूहरु व्यवसाय संचालन गर्न नसक्ने पनि बताए ।  

कोरोना भाइरस महामारीका कारण डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र आक्रान्त छ । जिल्लामा हाल निषेधाज्ञा कायमै रहँदा समेत उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै यसरी प्रदर्शनमा उत्रिएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्