
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।
साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय समेटेर उनीहरूलाई स्पष्टीकरण पत्र पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तर, पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनु आवश्यक नठानेको सांसद मेटमणि चौधरीले बताए । उनी वरिष्ठ नेता नेपाल पक्षीय सांसद हुन् । उनले भने, ‘केपी ओलीको पार्टीलाई हामीले एमाले नै मानेका छैनौँ । त्यस्तो पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुपर्छ भन्ने हामीले ठानेकै छैनौँ । कसैले पनि स्पष्टीकरणको जवाफ नदिने भएका छौं ।’
एमालेमा विवाद सुरू भए यता विभिन्न समूहले पार्टी दाबी गरेर चलाइरहेको र त्यस्तो गुटको निर्णयबाट सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने चौधरी बताउँछन् ।
अर्का सांसद विरोध खतिवडाले भने स्पष्टीकरणको जवाफ दिनु आवश्यक नरहेको बताए । ‘पार्टीले स्पष्टीकरण सोध्नै मिल्दैन । त्यस्तो स्पष्टीकरणको जवाफ दिनु पनि परेन । उनीहरूले सोध्ने भनेको स्पष्टीकरण पत्र नै आइपुगेको छैन । नआएको स्पष्टीकरणको के जवाफ हुन्छ र ?’, खतिवडाले भने ।
त्यसैगरी, माधव नेपाल पक्षकै अर्का सांसद कल्याणी खड्काले पनि अहिलेसम्म आफूलाई कुनै पनि स्पष्टीकरण पत्र अहिलेसम्म नआएको बताइन् ।
प्रधानमन्त्रीलाई दिएको विश्वासको मतको सन्दर्भलाई लिएर सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने काम गर्नै नमिल्ने सांसद खतिवडाले बताए । त्यस्तो काम गरेका अदालतको मानहानिको विषय हुने उनले बताए ।
एमालेका पार्टी महासचिव ईश्वर पोखरेलसँगको समन्वयमा एमाले केन्द्रीय कार्यालयले तयार पारेको स्पष्टीकरण पत्रमा २७ वैशाखमा आफ्ना पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा किन संसद्मा अनुपस्थित भएको, पार्टीको अनुशासन किन उल्लंघन गरेको ? र, पार्टी हित विपरीतको काममा हित संलग्न भएको भन्ने प्रश्न उल्लेख गरिएको छ ।