
मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।
मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका थिए ।
मलद्वारको पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको थियो ।
अस्पताल र चिकित्सकले लापरवाही गरेर उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका थिए । आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए ।
सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमवार साँझ शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेका कारण अस्पतालले थप उपचारका लागि उनलाई भेन्टिलेटरमा राखेको थियो ।
हुसेनको राति १० बजेतिर निधन भएको थियो । अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न भएको आरोपमा ७ जनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहम्मद आजाद, ३३ वर्षीय मोहम्मद अख्तर, ३० वर्षीय मोहम्मद साजद, २३ वर्षीय मोहम्मद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहम्मद इरसाद र २० वर्षीय मोहमद सुवेर छन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।