पोखरा विमानस्थल

उडान भर्न अंग्रेजी नयाँ वर्षको साइत जुराउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

उडान भर्न अंग्रेजी नयाँ वर्षको साइत जुराउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

कुनै व्यवधान नआए अबको ३ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू हुनेछ । लामो समय कोरोना महामारीले पोखराको पर्यटन क्षेत्र प्रभावित बनेको बेला अंग्रेजी नयाँ वर्ष २०२२ शुरूसँगै पर्यटनले छलाङ मार्नेमा पोखरेली आशावादी छन् । 


Advertisement

पोखरा विमानस्थल प्रमुख विक्रम गौतम भन्छन्, ‘२०२२ जनवरीदेखि घरेलु उडान हुनेछ । त्यसको १ वर्षमै अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो लक्ष्य छ ।’ 


Advertisement

विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलका संयोजक समेत रहेका विमानस्थल प्रमुख गौतमले जनवरी १ देखि आन्तरिक उडान खुला गर्न नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गरिसकेको जानकारी दिए ।

नेपालका करीब २ दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल पूर्व निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्ररूपमा काम भइरहेकोमा पछिल्लो समय कोरोनाका कारण प्रभावित बनेको हो । नभए यतिबेलासम्म पोखरेली आकाशमा अन्तर्राष्ट्रिय उडान भइसक्थे । 


Advertisement

निकै महत्त्वका साथ हेरिएको पोखरा विमानस्थल सन् २०२१ जुलाई १० सम्म सक्ने समयसीमा थियो । कोरोना महामारी भित्रिनुअघि द्रूतरूपमा काम भइरहेकोले विमानस्थल निर्माण आयोजनाले त्यसको ६ महिनाअघि अर्थात सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकेर नेपाल सरकारले हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो ।

दुवै मितिमा निर्माण पूरा हुन नसकेपछि समयसीमा १ वर्ष थप गर्दै आगामी सन् २०२२ जुलाई १० सम्म सम्पूर्ण निर्माण पूरा हुने लक्ष्य रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् । 

कुन–कुन संरचना बने ?

पोखरा महानगरपालिका–१४, १५ र १८ भित्र पर्ने आयोजनाको हालसम्म ८४ प्रतिशत काम पूरा भएको छ । २२ अर्बको परियोजनामा हालसम्म आर्थिक प्रगति ६९ प्रतिशत छ । निर्माणमा हाल चिनियाँ १८५ र नेपाली २३० जना कामदार काममा खटिएका छन् भने ११० वटा हेभी मशिनरी प्रयोग भइरहेका छन् ।

हालसम्म विमानस्थलको टर्मिनल, याक्ट टावर, ह्याङ्गर लगायत १४ वटा भवन बनेका छन् । तिनीहरूको फिनिसिङ बाँकी छ । रन–वे, आइसोलेटेड पार्किङ, ट्याक्सी वे, ह्याङ्गर एप्रोन, पेभमेन्ट मार्किङ, एअरफिल्डमा लाइटको काम सकिएको छ । 

विमानस्थलमा एक्सेस रोड, कार पार्किङ, टर्मिनल वरिपरिको बाटो र पाइप बिछ्याइएको छ । बाँकी काम अब मशिनरी जडान लगायतसँग सम्बन्धित छ । डिसेम्बरसम्म विदेशबाट सबै निर्माण सामग्री आइसक्ने र त्यसपछि काम गर्न सहज हुने विमानस्थल प्रमुख गौतमले बताए । 

गण्डकी प्रदेश सरकारको चासो

निर्माणको उत्तरार्द्धतिर पुग्दा गण्डकी प्रदेश सरकारले यसलाई निकै चासोको रूपमा हेरेको छ । विमानस्थल सञ्चालनपछि प्रदेशकै अर्थतन्त्रमा निकै महत्त्व राख्ने भएकाले उच्च महत्त्वका साथ हेरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

विमानस्थल आयोजनाको स्थलगत निरीक्षण गर्दै उनले प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्र्याउनुपर्ने उनको भनाइ छ । पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने उनले बताए ।

निरीक्षणमा मुख्यमन्त्री पोखरेलसहित गण्डकीका मन्त्रीहरू कुमार खड्का, रामजीप्रसाद बराल ‘जीवन’, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मीलगायत सहभागी थिए ।

५० वर्षअघिको सपना 

विमानस्थल निर्माण प्रक्रियाको शुरूआततर्फ फर्किँदा सन् १९५० सम्म पोखरा यातायातको साधनबाट पूर्णतः वञ्चित थियो । सडक सञ्जालसँग जोडिनुअघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको हो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि पर्यटनले गति लिएको हो ।

विमानस्थल बनाउन २०३२ सालमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरियो । निर्माण जारी रहँदा २ वर्षअघि सरकारले फेरि १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो ।

२०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्ड अनुसार फोरडी मोडलमा चिनियाँ कम्पनी सीएएमसी इन्जिनीयरिङले सन् २०१७ नोभेम्बरदेखि थालेको थियो ।   

त्रिभुवन विमानस्थलको विकल्प 

आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इन्जिनीयरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको छ । चिनियाँ सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । 

विमानस्थल बनेपछि दैनिक आन्तरिक ४८ र अन्तर्राष्ट्रिय ६ वटा उडान हुने गरी नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ । विमानस्थलमा ११ वटासम्म जहाज पार्किङ गर्न मिल्छ । भौगोलिक जटिलताले विमानस्थलमा ठूला बोइङ जहाज अवतरण हुने छैनन् । 

२ हजार ५०० मिटर लामो धावनमार्गको विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुने बताइएको छ । 

विमानस्थल सञ्चालन आएपछि पोखरा मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने बताइन्छ । 

विमानस्थल सञ्चालनका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानका संस्थासँग निरन्तर छलफलमा रहेको विमानस्थल प्रमुख गौतम बताउँछन् ।

पोखराबाट उडान भर्ने हवाई यात्रालाई छोटो र सस्तो बनाउन आफूहरूले एयर रुटको अध्ययन गरिरहेको उनको भनाइ छ । उनका अनुसार उडान समय घटाउन भैरहवाबाट एयर रुट जोड्न सके उपयुक्त हुन्छ । किनकि भैरहवाको रुट ‘इनकमिङ’ नभई ‘आउट गोइङ’ रुट हो ।  विदेशबाट बढी सम्पर्क जोड्न सबैभन्दा मुख्य रुट बाराको सिमरा रुट हुने उनको भनाइ छ ।

उद्घाटनको बेला हङकङ, बैंकक, दोहा, दिल्ली गरी ४ गन्तव्यलाई प्रारम्भिक रूपमा जोड्न आफूहरू अघि बढेको उनले बताए । 

ल्यान्डफिल साइट, बाढी र डाँडा कटान समस्या

निर्माणाधीन विमानस्थल नजिकै ल्यान्डफिल छ । विमानस्थल सञ्चालनअघि ल्यान्डफिल साइट हटाउनुपर्ने पहिलो शर्त छ । यो हटाउने जिम्मा पोखरा महानगरपालिकाको हो तर अहिलेसम्म पहल भएको छैन ।

विमानस्थल सञ्चालनको ६ महिनाअगावै ल्यान्डफिल साइट परिवर्तन गर्नुपर्छ । ताकि चरालाई ठाउँ परिवर्तन गर्न पनि ६ महिनासम्म लाग्छ । नभए उनीहरू पुरानै ठाउँमा फर्किंदा उडानमा खतरा हुने मुनंकर्मीको भनाइ छ । विमानस्थलको हवाई सुरक्षासँग जोडिएको यो विषयमा महानगरमा पटक–पटक पत्राचार भए पनि पोखरा–३३ रजेडाँडामा सार्ने भन्ने विषयले मूर्तरूप लिन पाएको छैन ।

त्यसका लागि महानगर सरसफाइ शाखा, आईकाओका एशिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रम अध्यक्ष, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक सहितको टोलीले सो क्षेत्रको स्थलगत अध्ययन समेत गरेका थिए । सो ठाउँ उपयुक्त रहेको निष्कर्ष रहे पनि उडान शुरू हुन लाग्दा ल्यान्डफिल हटाउन सकिएको छैन ।

विमानस्थल नजिकै रहेको खुला ल्यान्डफिल साइटका कारण चराचुरुङ्गीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले आग्रह गरे ।

विमानस्थल पूर्वी भेगमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने काम थाँती नै छ । सो डाँडा ४० मिटर काटे मात्र विमान उडान मिल्छ । विमानस्थल मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान शुरू भए पनि ठोसरूपमा अगाडि बढ्न नसकेको स्वयं मुख्यमन्त्री पोखरेलको स्वीकारोक्ति छ । 

उनले भने, ‘सरकारी वनतर्फको कटान शुरू गर्न पुनः एआईए गर्नुपर्ने छ ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको जानकारी उनले गराए । 

पोखराको धेरैजसो भागको पानीको निकास विमानस्थल आसपास भएकाले त्यसको व्यवस्थापन अभावमा विमानस्थल नै खतरामा पर्न थालेको छ । एयरपोर्टको पूर्वतर्फको जग्गा पहिरोको जोखिममा छ । रन–वेदेखि करीब ५० मिटर परसम्म पहिरोले छोइसकेको छ । वर्षाको भेल व्यवस्थापन अर्को समस्या छँदैछ । 

अत्याधिक वर्षाका कारण आउने भलले पूर्वी भाग कटान गर्ने खतरा बढेकाले यसबारे बेलैमा सोच्नुपर्ने विमानस्थल आयोजनाले जनाएको छ । आयोजनाले मुख्यमन्त्री पोखरेल समक्ष समस्याबारे जानकारी गराएपछि उनले भने, ‘स्थानीय नागरिकले उठाएका सवाल तत्काल सम्बोधन गर्नुपर्नेछ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याउँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’

इन्धन डिपोको काम पनि अहिलेसम्म अगाडि बढेको छैन । नेपाल आयल निगमले इन्धन डिपोको पूर्वाधारको डिजाइन सके पनि टेन्डर प्रक्रियामै अल्झिएको छ ।  

स्थानीय के भन्छन् ? 

विमानस्थल बनाउन विमानस्थल निर्माण परियोजनाले पटके रूपमा गरेको जग्गा अधिग्रहण शृंखलाले स्थानीय आजित छन् । २ वर्षअघि सरकारले विमानस्थल बनाउन जग्गा अपुग रहेको भन्दै थप १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो । त्यसबेला १ दर्जनजति घरपरिवारलाई मुआब्जासहित स्थानान्तरण गरिएको थियो तर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिले परियोजनाले पटकेरूपमा गरेको जग्गा अधिग्रहणको शृंखलाले उठिबास लाग्ने स्थिति आएको गुनासो गरेको छ ।

विमानस्थल सञ्चालन पूर्व आफूहरूका १६ बुँदे माग पूरा हुनुपर्ने उनीहरूको अडान छ । समिति संयोजक गनेस पौडेल रन–वे बन्नु मात्र विमानस्थल बन्नु हैन भन्छन् । रन–वे बाढीको काम गरेको बताउँदै उनले त्यसको उचित ढल निकास हुनुपर्नेमा जोड दिन्छन् ।
 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्