२६ जेठ २०८३, मंगलबार

सुकुमबासी वस्तीको दशैं कथा- 'हाम्रा लागि के दशैं के तिहार' [भिडियो]

असोज २७, २०७८

गाउँघर, शहरबजार जताततै दशैंको माहोल छ । दशैंमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, आफन्तजनसँग बसेर रमाइलो गर्ने गरिन्छ । काममा बाहिर रहनेहरू पनि दशैंको मौकामा घर फिर्छन् । 

तर, थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्ने ५७ वर्षीया जानुका पोखरेलका छोरा भने ८ वर्ष भइसक्दा पनि घर फर्केका छैनन् । कारणबारे जानुका भन्छिन्, ‘जेठो छोरो यहाँको दुःख देखेर नेपाल फर्किनै मान्दैन, उसलाई दशैंमा टीका नगलगाएको ८ वर्ष भइसक्यो ।’

उनी यो वस्तीमा बस्न थालेको १४ वर्ष भयो । मोरङकी उनी जग्गाजमिन केही नभएपछि श्रीमान् र बालबच्चासहित यहाँ आएकी रहिछन् । 

‘घरबहालमा बस्दै आएकी थिएँ, २०६४ मा माओवादीले यो जग्गामा भूमिहीनलाई बस्ने व्यवस्था गरेपछि यहाँ आएकी हुँ,’ उनले भनिन् । जसोतसो कमाएको रकम र ऋण गरेर उनले घर नबनाएको पनि होइन । तर, बाबुराम भट्टराई सरकारका पाला घर भत्काइदिएपछि उनी फेरि घरबारविहीन भइन् । 

त्यतिबेलादेखि उनलाई दशैं दशैंजस्तो लाग्दैन रे । भन्छिन्, ‘सुकुम्वासीका लागि दशैं के राम्रो हुनु ?’

उनीजस्तै थुप्रै सुकुम्वासीहरू बस्ने वस्तीमा दशैंले छोएको छैन । सुनसान छन् । अन्य दिन जसरी बित्थ्यो, चाडपर्वका बेला पनि उसै गरी विना रमाइलो बिताइरहेछन् सुकुम्वासीहरू । 

बल्खु पुलस्थित सुकुम्वासीवस्तीमा भाडा तिरेर बस्ने सुशीला बोम्जनलाई पनि दशैं रमाइलो लागेको छैन । ‘श्रीमान ज्यालामजदुरी गर्नुहुन्छ, त्यो पनि एक दिन काम भयो भने पाँच दिन काम हुँदैन,’ उनले भनिन्, ‘अनि हाम्रा लागि के दशैं के तिहार ?’

salt training

कमेन्ट गर्नुहोस्