३० असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

एक वर्षपछि एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल– घोचपेचदेखि ठट्टासम्म

मंसिर २४, २०७८
एक वर्षपछि एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल– घोचपेचदेखि ठट्टासम्म

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा देशका तीन ठूला कम्युनिस्ट पार्टीका नेताले एकआपसमा घोचपेच गरेका छन् ।

लामो अन्तरलापछि शुक्रवार भृकुटीमण्डपमा एउटै मञ्चमा देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच घोचपेच चलेको हो । 

गत वर्षको पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपामा तीन शीर्ष नेताहरू पहिलोपटक सार्वजनिक मञ्चमा एकै ठाउँमा देखिएका थिएनन् । एक आपसमा नबोले पनि नेताहरूबीच राम्रै घोचपेच चलेको हो । 

कांग्रेसले मञ्च व्यवस्थापनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको दायाँपट्टि प्रचण्ड र माधव नेपाल तथा बायाँपट्टि ओली बसेका थिए । 

जसपाका नेता उपेन्द्र यादवले सम्बोधन गरेपछि बोल्ने समय पाएका माधव नेपालले ओलीको नामै नलिई अरूको सम्मान नगर्ने र मैमत्त प्रवृत्तिले लोकतन्त्र बच्न नसक्ने बताए । 

नेकपा रहँदा र एमाले विभाजन हुनुअघि नेपालले ओलीमाथि मैमत्तको आरोप लगाउने गर्दथे । 

माधव नेपालपछि बोलेका प्रचण्डले अहंकारले गर्दा ओरालो यात्रा शुरू भएको भन्दै ओलीप्रति कटाक्ष गरे । महाधिवेशनको शुरूमा बोल्ने भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधामनन्त्री देखेको बताएका थिए । 

ओलीतर्फ हेर्दै प्रचण्डले भने, ‘भाजपाका साथीले भन्नुभयो- यति धेरै पूर्वप्रधानमन्त्रीलाई देखेँ, उहाँ हिँड्नु भएछ, मैले यो पनि भन्नेवाला थिएँ– हामी सबै एकले अर्कालाई प्रधानमन्त्री बनाएको हो ।’ 

प्रचण्डले एक्लाएक्लै हिँड्ने अहंकार नगर्न आग्रह गरे ।

‘एक्लै हिँड्ने अहंकार नगरौं । राजनीतिक प्रतिष्पर्धा गरेपनि प्रतिस्पर्धाभित्र एकता खोज्नुपर्छ । अहिलेको सफलता गठबन्धनले भएको सफलता हो । जसले अहंकार गर्‍यो, त्यसको ओरालो यात्रा शुरू भएको इतिहास छ,’ प्रचण्डले भने । 

प्रचण्डले यसअघि ओलीको अहंकार पराजित भएको बताउँदै आएका थिए । 

प्रचण्डपछि बोलेका ओलीले शुरूमै आफ्नो कुरा राख्न अरूको मञ्च आवश्यक नपर्ने बताए । ‘कसैको कुरामा वाद प्रतिवाद केही गरिरहन चाहन्नँ । राजनीति आफ्नै मञ्चमा गर्न पाउँछु । अरूको मञ्च आवश्यक छैन,’ ओलीले भने । 

प्रचण्डले एक्लै हिँड्न हुन्न भनेर दिएको अभिव्यक्तिको जवाफ पनि ओलीले दिए । ‘देश बनाउन सँगै कि सरकारमा ? देश बनाउने कुरामा सँगै छौं । प्रतिपक्ष भनेपनि संसद्मा छैनौं ? लोकतन्त्रका लागि हामी लडेका छैनौं ? कसैलाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला । एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन,’ ओलीले भने ।

कांग्रेसलाई एक्लै नहिँड्न सुझाव दिएका प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– ‘अरूका नीतिमा होइन, कांग्रेसले आफ्नो नीतिमा अरूलाई हिँडाउन सकोस् । प्रधानमन्त्री मात्र होइन, शेरबहादुरजी सरकारको नेता बन्नुहोस् ।’ 

ओलीले सम्बोधन गर्न थालेपछि प्रचण्ड उठेर हिँडेका थिए । ओलीले सम्बोधन गर्दैगर्दा माइकमा साउन्ड नआएपछि ‘कांग्रेसलाई महाधिवेशनको शुभकामना छ, देउवाजीलाई छाडिदिएँ भन्दै ओली कुर्सीमा फर्किए ।

त्यसपछि कांग्रेस महाधिवेशनको उद्घोषण गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीले विचार व्यक्त गरिरहँदा प्राविधिक समस्या आएको भन्दै पुनः सम्बोधन गर्न समय दिए । 

नेताहरूले एकआपसमा मात्र होइन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनप्रति उस्तै स्वरमा निसाना समेत लगाए ।

सम्बोधनका क्रममा लिङदेनले ‘गाउँतिर नेताहरूलाई चोर आयो भन्छन्’ भनेर अभिव्यक्ति दिएपछि ओली, प्रचण्ड र नेपाल तीनैजना उनीप्रति खनिएका थिए ।

‘हरेक नेता चोर हुन्छ ? भर्खर भर्खर अध्यक्षमा छानिएकोलाई त्यस्तो लागेको होला । बाच्छो हिँड्न जान्दैन, दौडिन्छ । नयाँनयाँ अध्यक्ष भएको रापताप होला,’ ओलीले भने ।

मञ्चमा ओली र प्रचण्डबीच केहीबेर कुराकानी समेत भएको थियो । शेरबहादुर देउवा बीचमा रहँदा ओली र प्रचण्डले दुईतिरबाट ठट्टा गरेका थिए ।

दुवै जना हाँसेर बोलिरहेको समेत देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्