०२ साउन २०८३, शनिबार

पोखरा चिनाउने शरणार्थीहरूको कथा

माघ २, २०७८
पोखरा चिनाउने शरणार्थीहरूको कथा

उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ ।

तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार डोल्मा बाटैमा जन्मिएकी थिइन् रे ।

‘मानव बस्तीभन्दा धेरै पर, हिउँ जमेका अनकन्टार पाखापखेरा, न खाना, न न्यानो बास, बाटो अन्दाज गरेर जोहो गरेको खाना पनि सकिएको अवस्थामा उनकी आमाले धर्तीमा पाइला टेकेकी थिइन् ।

‘यस्तो बेला बाटोमा सुत्केरी हुनुको पीडा कल्पना पनि गर्न सकिँदैन,’ आफ्नो हजुरआमाले भोगेको त्यो कठिन क्षणको कथा स्मरण गर्दै हिसीले भनिन्, ‘त्यहीबेला समूहमा आएका केही साथी र लोमान्थाङबाट गएका नेपालीहरूले ठूलो सहयोग गर्नुभएछ ।’

त्यति बेला लोमान्थाङ भित्रिन पनि सजिलो थिएन । नौलो मानिस कहाँबाट आए, किन आए ? सबैलाई चासो र त्रास हुन्थ्यो । अर्कातिर भाषाको पनि समस्या थियो ।

‘इशाराले कुरा बुझाएरै त्यहाँका नेपालीलाई आफ्नो बनाउनुभएछ,’ केहीबेरको अनौपचारिक कुराकानीमा हिसीले आफ्नो पुर्ख्यौली इतिहासको पोको फुकाइन् ।

उनको परिवार तिब्बतबाट शरणार्थी भएर नेपाल छिरेको ६० वर्ष पुगिसकेको छ ।

****

हिसी मात्र होइन, पोखराको छोरेपाटनस्थित टासिलिङ शरणार्थी क्याम्पमा पुग्दा सबैका यस्तै यस्तै कथाव्यथा छन् ।

सो क्याम्पमा बस्दै आएकी ६८ वर्षीया छोल्मालाई ७/८ वर्षको उमेरमा बुवाको बुई चढेर कयौं दिनको यात्रा गरेको याद छ ।

छोल्माले भनिन्, ‘दिनभरी हिँड्ने, रात पर्न लागेपछि पाल बिछ्याएर सुतेको मलाई सम्झना छ । अरू कुरा त बिर्सिएँ ।’

मुस्ताङ आएर केही वर्ष बसेपछि सन् १९६४ मा पोखरा झरेको थियो रे, छोल्माको परिवार ।

‘पोखरा आएर करीब एक वर्ष त पालमुनि नै बिताइयो,’ विगत सम्झिँदै छोल्माले भनिन्, ‘काम पाइने आशामा दिनभर घर–घर चाहार्थ्यौं, कतिले माया गरेर खानेकुरा, पैसा पनि दिनुहुन्थ्यो, बेलुका पालमुनि बसेर त्यही खाएर सुत्थ्यौं ।’

बाल्यकालमै आफूले पाएको दुःखको कहानी सुनाउँदा उनका आँखामा आँसु भरिए ।

तिब्बतबाट भागेपछि यात्राका क्रममा सुरक्षाका लागि चट्टानका पाखा पहराको बाटो रोज्दथे ।

कति बाटोमै बिमार परे, कति हराए, कतिको मृत्यु भयो, बचेकाहरू नेपाल छिरेर विभिन्न स्थानमा शरणार्थीका रूपमा बस्न थाले ।

यी त नेपाल छिर्दाका दुःख भए, यहाँ आएपछिका दुःख पनि कम्ता छैनन् ।

जति जनासँग कुरा गरेपनि उस्तै कुरा सुनाउँछन्, ‘नेपालमा दशकौंदेखि बस्दै आएकाले यहाँको भूमिसँग माया गाँसिएको छ । तर यसलाई प्रमाणित गर्ने कुनै कागजात छैन । जागिर खान, औपचारिक व्यापार व्यवसाय गर्न, घर जग्गा किन्न, चार पांग्रे सवारीसाधन किन्न अधिकार छैन । बैंक खाता खोल्न, मोबाइल नम्बर लिन र दुई पांग्रे सवारी साधन किन्न समेत पुर्खाको पालाको शरणार्थी परिचयपत्रसहित उक्त पत्र रुजु गर्ने नातेदार सबै जुटाउनु पर्छ ।’

‘नेपाल छाडौं, दुई दिनमै फर्केर यहीँ आउन मन लाग्छ, नछाडौं आफ्नो क्षमताको काम गर्ने अधिकार पनि छैन,’ काठमाडौंको नाम्गेल तिब्बतीयन विद्यालयबाट स्नातकसम्मको पढाई पूरा गरी पोखरा फर्किएका २३ वर्षीय तेञ्जिङ यङले भने ।

आफ्नी हजुरआमाले सन् १९९५ मा पाएको शरणार्थी परिचय पत्र हराउँदा उनले बैंक खाता खोल्न र मोटरसाइकल किन्न पनि पाएका छैनन् ।

क्याम्पनजिकै डेभिड फल्सको आसपास सुभनियर सामग्री (पत्थर तथा रत्नका झुम्का, माला इत्यादि) बेचिरहेका भेटिन्छन्, उनी ।

‘उबेला बाउबाजेले लेक र भोट गएर ल्याएका यिनै सामान पोखरा आउने पर्यटकलाई बेचेर जति आउँछ, त्यसैले जीवीकोपार्जन गर्दै आएका छौं,’ उनले भने ।

****

दक्षिण भारतको ब्यालाकुपस्थित टीसीभी विद्यालयबाट इञ्जिनीयरिङ कोर्ष गरेका २४ वर्षीय हिसी तेञ्जिङ पनि पढाइ सकेर पोखरा नै फर्किए ।

प्लस टुसम्मको अध्ययन पोखरा तिब्बतीयन क्याम्पभित्रैको एसओएस हर्मन जेभियर विद्यालयमा पूरा गरी इन्डिया गएका हिसीलाई घरपरिवार र पोखराको यादले तान्यो । 

‘इन्डियामा काम त पाइएको थियो, तर परिवार, छिमेकी तथा पोखरालाई माया मार्न सकिएन,’ डेभिड फल्स नजिकैको एक तिब्बतीयन खाजा पसलमा कूकको काम गरिरहेका तेञ्जिङले भने ।

तिब्बतीयन क्याम्पभित्रकै शरणार्थीलाई लक्षित गर्दै तिब्बतीयन खाजा (मम, चाउमिन थुक्पा)बेच्न वर्षौ पहिले तेञ्ङिका बुवा पेम्बाले यो पसल खोलेका थिए ।

अहिले यहाँ नेपाली ग्राहक नै खचाखच हुन्छन् ।

निकै मन पराइएको मःम, चाउमिन र थुक्पा यिनै तिब्बती शरणार्थीले पोखरा भित्र्याएका हुन् ।

तिब्बतीयन क्याम्पभित्र वा क्याम्पलाई लक्षित गरी आसपासमा खोलिएका मःम पसलमा नेपालीको पनि भीड बढ्दै गयो ।

विस्तारै नेपालीले पनि सिको गरे । अहिले पोखरामा लगभग घर–घरमा मःम पसल छन् । पोखराको मःम देश विदेशका पर्यटकले खुबै रुचाउँछन् ।

‘नेपाली जस्तै सुविधा भोग गर्न नपाए पनि आफूले चिनाएको सीपले बजार लिएको देख्दा खुशी लाग्छ,’ ५५ वर्षीय पेम्बाले भने ।

पोखरामै डोल्मा मःम हाउस सञ्चालन गरेकी ५८ वर्षीय डोल्मा छिरिङले पनि आमाकै पालादेखि मःम पसल धानिरहेकी छिन् । 

करीब दुई दशकसम्म नामविनै खाजा पसल सञ्चालन गरेकी डोल्माले लामो संघर्षपछि गत वर्षदेखि पसल दर्ता गर्न पाइन् ।

यही कुरामा उनी औधी खुशी छिन् । दर्ताका लागि डेढ वर्षको मेहनत र बुवाको शरणार्थी परिचय पत्र काम आयो ।

'यही खुशीले क्याम्पभित्रको विद्यालयमा टप पोजिसन ल्याएर पढेका आफ्ना तीन छोरी र एक छोरा अहिलेसम्म बेरोजगार रहेको पीडा भुलाइदिएको छ,' उनले भनिन् ।

मःम चाउमिन मात्र होइन, पोखराका घरघरमा सिटिङ रूममा बिच्छ्याइने गलैँचा पनि तिब्बती शरणार्थी क्याम्पबाटै उत्पादन शुरू भएको थियो ।

शरणार्थीलाई परिचय पत्र वितरण गर्न रोकिएसँगै विभिन्न नीतिगत जटिलताले यस्ता उद्योग क्रमशः बन्द हुँदै गएका छन् । 

तिब्बतीयन क्याम्पभित्र तिब्बतीलाई लक्षित गर्दै सञ्चालित विभिन्न कार्यालयका अनुसार अहिले नेपालभर करीब १३ हजार तिब्बती शरणार्थी छन् । तीमध्ये एकतिहाइ पोखरा र आसपासमा बस्छन् ।

उनीहरू हेम्जा, पृथ्वीचोक, छोरेपाटन र तनहुँको दुलेगौंडामा नेपाल सरकारले अनुमति प्रदान गरेको  शरणार्थी क्याम्पभित्र बसोवास गर्दै आएका छन् । 

सन् १९९५ मा शरणार्थी परिचय पत्र वितरण गरिएको थियो । उतिबेला परिचय पत्र पाउनका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्दथ्यो । त्यसयता उनीहरूका छोराछोरी, नातिनातिना जन्मिसकेका छन् ।

कतिले त्यहीबेला बाउबाजेले पाएको परिचय पत्रका आधारमा लामो प्रक्रिया पुर्‍याएर भएपनि सार्वजनिक सेवा सुविधा दिएका छन् । तर, त्यो कार्ड पाएका कतिपय बितिसकेको वा अन्य कारणले आफ्ना पुर्खाको उक्त कार्डको रुपरेखै नदेखेका युवापिँडीको संख्या पनि ठूलो छ ।

‘सानातिना सुविधाका लागि पनि हजुरबुवा, हजुरआमाका पालाको पत्र खोज्नुपर्ने भएकोले नयाँ पुस्ता त धेरैको बैंक खाता समेत छैन,’ छोरेपाटनस्थित टासिलिङ क्याम्पकी एरिया इञ्चार्ज यासी छोइडेनले भनिन् । 

तमाम् समस्याका बावजूद आफूसँग भएका सीप, सिर्जना र कला कौशल बेचेर जीविकोपार्जन र पोखरा चिनाउन व्यस्त छन्, शरणार्थीहरू । तिब्बतको सीप र कलाले पोखरा चिनाएका छन् ।

पृथ्वीचोक क्याम्पका बासिन्दा ४८ वर्षीय थुप्तेन छिरिङ भन्छन्– ‘बस्न पायौं, भइहाल्यो । अरू सुविधा माग्ने त अधिकार पनि हुनुपर्‍यो नि । दुःखका बेला नेपाली समाजले दिएको साथ र हात बिर्सिन सक्दैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्