०५ साउन २०८३, मंगलबार
रुस-चीन-इरान साझेदारी

हिन्द महासागरमा रुस, चीन र इरानको संयुक्त युद्धाभ्यास– निशानामा को ?

माघ ९, २०७८
हिन्द महासागरमा रुस, चीन र इरानको संयुक्त युद्धाभ्यास– निशानामा को ?
तस्वीर स्रोत : सिन्ह्वा/Xinhua

विश्वमा शीतयुद्ध चलिरहेको भाष्य निर्माण गरिएको बेलामा अमेरिकी साम्राज्यको विरोध गर्ने तीन शक्तिहरू रुस, चीन र इरानले गत शुक्रवार र शनिवार उत्तरी हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । उक्त अभ्यासको नाम चिरु–२क्यू२२ राखिएको छ ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले समुद्री डाँकाहरूविरुद्ध कारवाहीका लागि यो अभ्यास गरिएको जानकारी दिएको छ । डाँकाहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुईवटा व्यापारिक जहाजमा कब्जा गरेको र तीन देशका सेनाले त्यसलाई मुक्त गराएको परिकल्पना सहितको अभ्यास गरिएको छ । 

त्यसबाहेक बलिरहेको जहाजलाई उद्धार गर्ने अनि आकाशमा उडिरहेका लक्ष्यहरूलाई रातिको समयमा गोली हानेर खसाउने अभ्यास पनि गरिएको छ । अर्थात्, तीन मुलुकले कुनै देशप्रति लक्षित स्ट्राटेजिक भन्दा पनि सुरक्षामा आधारित ट्याक्टिकल अभ्यास गरेका छन् । 

इरानी जलसेना प्रमुख रियर एड्मिरल मोस्तफा ताजोल्दिनीले हिन्द महासागर क्षेत्रको सुरक्षा तथा आधारशिलालाई बलियो बनाउने र विश्व शान्ति, जलक्षेत्रीय सुरक्षा तथा जलक्षेत्रीय समुदाय निर्माणका लागि तीन मुलुकहरूबीचको बहुपक्षीय सहकार्यलाई विस्तार गर्ने उद्देश्य यस अभ्यासको रहेको बताए । 

उनको भनाइले यो अभ्यास कुनै शक्तिराष्ट्रका विरुद्ध भन्दा पनि शान्तिका लागि गरिएको आभास हुन्छ । अभ्यासको कोडनेम पनि मरिन सिक्योरिटी बेल्ट २०२२ भएकाले यसले आक्रामक भन्दा पनि प्रतिरक्षात्मक उद्देश्य लिएको जस्तो देखिन्छ ।

यस अभ्यासको योजना निकै लामो समयअगाडि बनाइएकाले अभ्यासको महत्त्वलाई बढाइचढाइ गर्न नहुने मस्कोस्थित अमेरिकी भूराजनीतिक विश्लेषक एन्ड्रु कोरीब्कोको दाबी छ । पश्चिमले नियमित रूपमा गर्ने युद्धाभ्यास जस्तो नभई तीनवटा रणनीतिक सहयोगीहरूबीच विश्वास बढाउने प्रतीकात्मक अभ्यास भएको उनी लेख्छन् । 

रुस र चीनका जहाजहरू निकै लामो समय लगाएर उक्त क्षेत्रमा पुगेकाले युक्रेन तनावको बीचमा सन्देश दिन गरिएको अभ्यास यसलाई भन्न नमिल्ने उनको दाबी छ । 

तर जुन रणनीतिक स्थानमा अभ्यास गरिएको हो, त्यसले एक किसिमको राजनीतिक सन्देश त पक्कै दिएको छ । उत्तरी हिन्द महासागर र ओमान सागरमा गरिएको अभ्यास अर्थपूर्ण छ किनकि ओमान सागर चरम रणनीतिक महत्त्व बोकेको होर्मुज जलसन्धि (स्ट्रेट) सँग जोडिन्छ र उक्त जलसन्धि पर्सियाली खाडीसँग जोडिन्छ । 

प्रशान्त र हिन्द महासागरलाई सोलोडोलो राखेर ती दुवै महासागरमा आफ्नो प्रभुत्व जमाउनका लागि अमेरिकाले हिन्द–प्रशान्त रणनीति ल्याएको छ । उक्त रणनीतिले ओगटेको क्षेत्रमा अमेरिकाविरोधी तीन मुलुकले गरेको अभ्यासलाई अमेरिकाले शंकाको दृष्टिले नहेर्ने भन्ने हुन्न । 

अभ्यासको टाइमिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो सक्रियतासँगै जोडिएको पनि विचारणीय छ । नेटोलाई रुसको सीमा नजिक विस्तार गर्न नदिनका लागि जोडबल लगाइरहेका पुटिनले पश्चिमको विरोध गर्ने मुलुकहरूसँगको साझेदारीलाई बलियो बनाउन कोशिश गरिरहेको बेलामा यो संयुक्त अभ्यास भएको हो । 

यस अभ्यासको ठीक अघि पुटिनले इरानका राष्ट्रपति इब्राहिम रईसीलाई मस्कोमा स्वागत गरेका थिए । दुई देशबीच विभिन्न मोर्चामा सहकार्य थप बलियो बनाउने सम्झौता भएको छ । 

अब पुटिन चीनको राजधानी बेइजिङ गएर शीतकालीन ओलम्पिकमा सहभागी हुने कार्यक्रम छ । उक्त अवसरमा उनले चीनका राष्ट्रपति सी चिनपिङसँग वार्ता गर्नेछन् र दुई देशबीच घनीभूत बन्दै गएको सम्बन्धलाई सैन्य साझेदारीमा स्तरोन्नति गर्ने विषयमा पनि छलफल गर्न सक्छन् । 

त्यसबाहेक पुटिनले निकारागुआ र भेनेजुएलाका राष्ट्रप्रमुखहरूसँग फोनमा कुराकानी गरेका छन् । यसैबीच रुसको सरकारी विमान क्युबा र भेनेजुएलामा पुगेको र त्यसबाट रुसको आगामी खतरनाक रणनीतिक कदमको संकेत पाइएको रुसी विश्लेषक भ्लादिमिर इसाचेनकोभले लेखेका छन् । 

उनले संकेत गरेको कदम शीतयुद्धकालीन सोभियत कदमको पुनरावृत्ति हुन सक्छ । सन् १९६२ मा अमेरिकाले इटली र टर्कीमा जुपिटर ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गरेर सोभियत संघलाई जोखिममा पारेपछि सोभियतहरूले क्युबामा त्यस्तै किसिमका ब्यालिस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरेका थिए । 

युरेसियाका शक्तिहरूबीचको समन्वय थप बलियो बन्नु यस अभ्यासको सबभन्दा महत्त्वपूर्ण सन्देश हो । भूराजनीतिक विश्लेषक पेपे एस्कोबारका अनुसार, चीन रुस र इरानबीचको अन्तर्क्रिया घनीभूत बन्दै जाँदा पश्चिमीहरूको आधिपत्य रहेको कथित नियममा आधारित विश्व व्यवस्थालाई गतिलो चुनौती मिलेको छ । 

क्युबाली क्षेप्यास्त्र संकट भनिने उक्त प्रकरणका कारण संसार आणविक युद्धको त्रासमा परेको थियो । पछि दुवै पक्षको सुझबुझका कारण क्षेप्यास्त्रहरू हटाइएका थिए । 

अहिले अमेरिकी नेतृत्वको पश्चिमी सैन्य संगठन नेटोले रुसको भूसुरक्षालाई जोखिममा पार्ने गरी आक्रामक विस्तार गरिरहेकाले त्यसलाई रोक्न रुसले भेनेजुएला र क्युबाको भूमिलाई उपयोग गर्न सक्ने देखिएको छ । अमेरिकाका विरोधी ती दुई मुलुकहरूमा क्षेप्यास्त्र राख्न रुसले सफलता पाएमा अमेरिकाको सुरक्षा खतरामा पर्छ र अमेरिकाले नेटोको विस्तारलाई रोक्छ भन्ने पुटिनको आकलन हुन सक्छ । 

त्यसले काम गरिरहेको पनि देखिन्छ किनकि शुक्रवार रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच जेनेभामा भएको वार्तापछि अमेरिकाले रुसको सुरक्षा प्रत्याभूति प्रस्तावको लिखित जवाफ दिने सहमति गरेको छ । रुसको प्रस्ताव कुनै हालतमा स्वीकार्य नभएको भनी अड्डी गर्ने अमेरिका लिखित जवाफका लागि सहमत हुनु पुटिनको जीत नै हो । 

त्यसरी अमेरिकालाई उसकै ब्याकयार्डमा पुगेर चुनौती दिने रणनीति बनाएका पुटिनले हिन्द महासागर क्षेत्रमा चीन र इरानसँगको अभ्यासलाई पनि रणनीतिक रूपमै लिएको देखिन्छ । चीनले रुसलाई पूर्ण समर्थन दिँदै उरुमछी मिसाइल डिस्ट्रोयर, आपूर्ति जहाज थाइहु, जहाजबाट उडान भर्ने हेलिकप्टरहरू र ४० जना मरिन सैनिकहरू अभ्यासमा पठाएको छ । यसको जानकारी चीनको रक्षा मन्त्रालयले दिएको हो । 

त्यस्तै रुसले मिसाइल क्रुजर भारयाग, एन्टी सबमरिन वारफेयर जहाज एड्मिरल ट्रिब्युट्स र विशाल ट्यांकर बोरिस बुटोमा पनि पठाएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उसले जनवरी र फेब्रुअरी महिनामा विभिन्न क्षेत्रमा गएर अभ्यास गर्ने बताएको छ र हिन्द महासागरको अभ्यासलाई पनि उच्च महत्त्व दिएको छ । 

युरेसियाका शक्तिहरूबीचको समन्वय थप बलियो बन्नु यस अभ्यासको सबभन्दा महत्त्वपूर्ण सन्देश हो । भूराजनीतिक विश्लेषक पेपे एस्कोबारका अनुसार, चीन रुस र इरानबीचको अन्तर्क्रिया घनीभूत बन्दै जाँदा पश्चिमीहरूको आधिपत्य रहेको कथित नियममा आधारित विश्व व्यवस्थालाई गतिलो चुनौती मिलेको छ । 

नियममा आधारित व्यवस्था भनेर पश्चिमले आफ्नो नियममा अरू चल्नुपर्ने भनेको हो । त्यस्तो नियम नमान्ने मुलुकलाई पश्चिमले कठोर आर्थिक प्रतिबन्ध लगाउने गरेको छ । इरान र रुसमाथि त्यस्तो प्रतिबन्ध लगाइएको छ । चीनसँग व्यापारयुद्ध गरेर अनि कतिपय चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएर अमेरिकाले एक किसिमको सजाय दिइरहेको छ । 

तर चीन, रुस र इरानले संयुक्त सैन्य अभ्यास गरेर आफूहरूको साझेदारी बलियो बनेको र पश्चिमी प्रतिबन्धलाई मिलेर प्रतिकार गर्ने स्पष्ट सन्देश दिएका छन् । 

चीनले विश्वव्यापीकरणलाई पश्चिमी प्रभावबाट मुक्त गराउनका लागि कोशिश गरी बेल्ट यान्ड रोड इनिसिएटिभ ल्याएको र उसले भन्ने गरेको साझा भाग्य भएको समुदाय (कम्युनिटी अफ शेयर्ड डेस्टिनी) को उम्दा उदाहरण रुस र इरानसँगको थप गहिरो अन्तःसम्बन्ध हो भनी एस्कोबारले गरेको विश्लेषणमा दम छ ।

उत्तरी हिन्द महासागरमा चीन, रुस र इरानले गरेको अभ्यासले बदलिँदो विश्वको राम्रो उदाहरण प्रस्तुत गर्छ । पराआन्ध्रीय (ट्रान्सएट्लान्टिक) साझेदारीको बलमा विश्वमा आफ्नो प्रभुत्व लाद्न खोज्ने पश्चिमको हैकम अब नचल्ने र युरेसियाली शक्तिहरूको उदय भइसकेको सन्देश यस संयुक्त अभ्यासले दिएको भन्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्