नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई वैशाखमै चुनाव गर्ने निर्णय गर्न सुझाव दिएका छन् ।
शुक्रवार पार्टीको केन्द्रीय कमिटी भर्चुअल बैठकपछि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर उनीहरूले संविधान र कानूनले तोकेकै मितिमा चुनाव गर्ने निर्णय गठबन्धनबाट गराउन सुझाव दिएका हुन् ।
केन्द्रीय कमिटीको भर्चुअल बैठक समापन भएपछि उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति देउवासँग छलफल गरेका थिए ।
शनिवार आगामी निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने तय भएको छ । बैठकमा निर्वाचन सार्ने विषयमा सहमति व्यक्त नगर्न नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।
‘चुनाव समयमै गराउनेबारे छलफल भएको छ । चुनाव गराउने जिम्मेवारी कांग्रेसको हो । वैशाखमै चुनाव गर्नुपर्छ भन्नेबारे हामीले छलफल गरेका छौं,’ उपसभापति धनराज गुरूङले भने ।
त्यसबाहेक पार्टी सभापतिसँग भातृ संगठनहरूको व्यवस्थापन समयमै गर्नुपर्नेबारे पनि छलफल भएको उनले बताए ।
‘भातृ संस्थाहरूको म्याद सकिँदैछ । कतिपय पदाधिकारीहरू नै केन्द्रीय सदस्य बनेका छन् । विधानले पनि माथिल्लो तहमा गएपछि तल्लो तहमा रिक्त हुने व्यवस्था गरेको छ । त्यसैले समयमै भातृ संस्थाको नेतृत्व चयन गराउनेबारे छलफल गरेका छौं,’ उनले भने ।
१ हप्ताभित्रमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमा निर्णय लिइने उनले बताए ।
शुक्रवारको केन्द्रीय कमिटी बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकको मुख्य एजेण्डा नै भातृ संगठनको विषयलाई बनाउने सहमति भएको उनले बताए ।
त्यसबाहेक सरकारको कामबारे पनि छलफल भएको नेताहरूले बताएका छन् । विशेषगरी उखु किसानको समस्या र मलखाद समयमा उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको गुरूङले बताए ।
५ मिनेटमै सकिएको भर्चुअल बैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक करीब ५ मिनेट बसेर सकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले केन्द्रीय समितिको बैठक भर्चुअल रूपमा बोलाएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा लगायत मुख्य पदाधिकारी कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाट भर्चुअल रूपमा बैठकमा सहभागी भएका थिए ।
बैठक शुरू गर्दै सभापति देउवाले कोरोना महामारीका कारण भर्चुअल रूपमा बैठक बस्नुपरेको बताउँदै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव रहेको बताएका थिए ।
त्यसपछि उनले महामन्त्री गगन थापालाई केन्द्रीय सम्पादन समितिमा रहने व्यक्तिको नाम पढ्न लगाएका थिए ।
अहिले सबैलाई केन्द्रीय कार्यसम्पादन समितिमा समेट्न नसकिएको र पछि समेटिने पनि देउवाले बताए ।
महामन्त्री थापाले प्रस्ताव पढेर सुनाएपछि बैठकले पारित गर्यो र बैठक सकियो । अन्य कुनै पनि विषयमा बैठकमा छलफल नभएको र नेताहरूले बोल्ने अवसर पनि नपाएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।
आगामी दिनमा महत्त्वपूर्ण विषयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर निर्णय लिने तयारी कांग्रेसले गरेको छ । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ ।