
कोका–कोलाले एक हजार महिला व्यवसायीहरूलाई सक्षम तालिम दिन शुरू गरेको छ ।
कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गरेको हो ।
यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कम्पनीले जनाएको छ ।
यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउँछ ।
कम्पनीका अनुसार यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो कार्यक्रममा सहभागी महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेमा ढुक्क रहेको बताए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले यो अभियानले महिलाहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउने विश्वास लिइएको बताए ।
सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकाँक्षी लक्ष्य सहित कोका–कोलाले सन् २०१० मा “५ बाई २०” कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो ।
साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म ‘स्टार’ (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सञ्चालन गरेको थियो जसमा ५,८०० महिला व्यवसायीहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।