११ असार २०८३, बिहीबार
दुईदलीय प्रणालीको बहस

प्रचण्डको आशंका र एमाले महासचिवको संकेत– तत्काल सम्भव छ दुईदलीय प्रणाली ?

चैत १, २०७८
प्रचण्डको आशंका र एमाले महासचिवको संकेत– तत्काल सम्भव छ दुईदलीय प्रणाली ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा विदेशीले नेपालमा दुईदलीय व्यवस्था ल्याउन चाहेको जिकिर गरेका थिए ।

प्रशिक्षणमा उनले आफ्ना कार्यकर्तालाई भनेका थिए,‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुईदलीय सिस्टम स्थापित गर्न ‘इन्टरनेसनल रियाक्सन’ लागेको छ । चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन, नेपाल राष्ट्रले हार्छ । जनक्रान्तिका उपलब्धि हार्छ । समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

विदेशीको षड्यन्त्र असफल पार्न पनि आगामी निर्वाचन जित्नैपर्ने प्रचण्डको तर्क थियो । 

प्रचण्डले मात्रै होइन, केही दिनअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि नेपालमा दुई दल मात्रै बनाउने बारेमा बहस शुरू गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

फागुन १४ मा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौं सम्मेलन काठमाडौंमा उद्घाटन गर्दै पोखरेलले देशलाई दुईदलीय प्रणालीमा लैजाने बहसलाई जागरणको रूपमा चलाउन कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

हुन त एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि उक्त पार्टीका दोस्रो अध्यक्षको हैसियतमा प्रचण्डले पार्टीहरू बीचको ध्रुवीकरणलाई महत्त्वका साथ उठाउने गर्थे । वामपन्थी पृष्ठभूमिका पार्टीहरू एक ठाउँमा हुनुपर्ने उनको तर्क हुन्थ्यो । तर, नेकपा विभाजन भएर पूर्ववत् माओवादी केन्द्र र एमाले बनेपछि प्रचण्ड अघिल्लो तर्कबाट पछि हटेका छन् ।

एमालेका महासचिव शंकर पोखरेको अभिव्यक्तिबाट तरंगित भएर नेपालमा दुईवटा पार्टी मात्रै बनाउने षड्यन्त्र भइरहेको बताएका हुन् वा विदेशीले नेपालमा दुई पार्टीलाई मात्रै अस्तित्वमा राख्ने षड्यन्त्र गरिरहेको सूचना उनले पाएरै अभिव्यक्त गरेका हुन्, त्यो भने उनले खुलाएका छैनन् । 

प्रचण्डले विराटनगरमा माओवादी केन्द्रले चुनाव हार्दा जनक्रान्तिको उपलब्धिले हार्ने, समावेशी समानुपातिक लोकतन्त्रले हार्ने तर्क गरेका थिए । तर, कुन शक्तिले नेपालमा दुईदलीय व्यवस्था ल्याउन खोजेको भन्ने चाहिँ प्रचण्डले खुलाएका छैनन् । 

स्थानीय तह निर्वाचनको सम्मुखमा भएका कारण कार्यकर्तामाझ ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको अर्थमा पनि कतिपयले प्रचण्डको अभिव्यक्तिलाई अथ्र्याएका छन् ।

नेपालमा दुईदलीय व्यवस्थाको आवश्यकता रहेको तर्क गरेका एमाले महासचिव शंकर पोखरेलले भने बहुदलीय प्रणालीका कारण राजनीतिक अस्थिरता उत्पन्न हुने गरेकाले दुई दल मात्रै हुँदा राजनीतिकरूपमा स्थायित्व हुनसक्ने बताएका थिए ।

‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ’, पोखरेलले भनेका थिए । 

‘नेपालमा थोरै पार्टी भए उनीहरूलाई स्वार्थअनुरूपको व्यवहार गर्न सजिलो हुन्छ । धेरै दल हुँदा धेरै मान्छेहरूसँग संवाद गरिरहनुपर्छ । थोरै पार्टी हुँदा ‘डिल’गर्न सजिलो भएर त्यस्तो ठानेका होलान्, तर नेपालको यथार्थ हेर्दाचाहिँ त्यो नमिल्ने कुरा हो’, ढकालले भने । 

राजनीतिक दलहरूबीचको झै–झगडाले उत्पन्न हुने अस्थिरता धान्न सक्ने हैसियत देशको भएकाले दुई पार्टीको सिस्टममा जाने बहस अभियानकै रूपमा शुरू गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । 

वामपन्थी आन्दोलनको शक्तिको रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीको रूपमा कांग्रेस रहेकाले यी दुई पार्टीको नेतृत्वमा राजनीति ध्रुवीकृत हुनुपर्ने पोखरेलको तर्क थियो । 

‘अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ । वामपन्थी आन्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस छ । अरू पार्टी तिनका सहयोगी मात्रै हुन्’, उनले भने । 

तर, दुवै नेताले दाबी गरेजस्तो सजिलै नेपालमा दुईदलीय प्रणाली सम्भव छैन । नेपालको संविधानले राजनीतिक दल खोल्न पाउने स्वतन्त्रतालाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । प्रत्येक नागरिक आफूले चाहेको दलको सदस्य बन्न पाउने स्वतन्त्रता संविधानले प्रत्याभूत गरेको छ ।

अर्कातर्फ, निर्वाचनबाटै दुई दलको मात्रै अस्तित्व कायम गराउने सम्भावना पनि उत्तिकै कमजोर छ । नेपाल बहुलवादी समाज भएको देश हो । यहाँ स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यास संविधानले सुनिश्चित गरेको छ ।

हुन त अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका केही मुलुकमा दुई पार्टी मात्रै रहेको प्रणाली पनि अस्तित्वमा नै छ । 

राजनीतिक विश्लेषक नारायण ढकाल विशेषगरी पश्चिमा शक्तिहरूले नेपालमा दुईदलीय प्रणाली चाहेको भए पनि उनीहरूको चाहना पूरा हुन सजिलो नभएको बताउँछन् ।

‘नेपालमा थोरै पार्टी भए उनीहरूलाई स्वार्थअनुरूपको व्यवहार गर्न सजिलो हुन्छ । धेरै दल हुँदा धेरै मान्छेहरूसँग संवाद गरिरहनुपर्छ । थोरै पार्टी हुँदा ‘डिल’गर्न सजिलो भएर त्यस्तो ठानेका होलान्, तर नेपालको यथार्थ हेर्दाचाहिँ त्यो नमिल्ने कुरा हो’, ढकालले भने । 

नेपाल बहुआयामिक विशेषता भएको देश भएकाले भाषा, संस्कृतिको विविधतायुक्त समाजको मनोभावना दुईवटा दलले मात्रै प्रतिविम्बित गर्न नसक्ने उनको तर्क छ ।

‘नेपाली समाजमा उत्पन्न भएका पछिल्ला मुद्दाहरूलाई त कांग्रेस र एमालेले मात्रै सम्बोधन गर्ने सम्भावना नै हुँदैन । प्रजातान्त्रिक अभ्यास भएको ठाउँमा एकाएक दुई पार्टी हुने कुरा पनि हुँदैन’, ढकालले भने, ‘विदेशीले चाहँदैमा नेपालमा दुई पार्टीको अभ्यासको सम्भावना छैन । उनीहरूले नै सबै विधि विधान तयार गरिदिने हो भने त्यसबेला सम्भव हुन्थ्यो । नेपालको अवस्था त्यस्तो होइन ।’

पार्टीको राजनीतिक शक्ति आर्जनको हिसाबले कार्यकर्तालाई उद्वेलित गराउनका लागि पनि नेताहरूले बेलाबेलामा दुई पार्टीको विषय बहसमा ल्याउने गरेका छन् ।

नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्त गरेका तर्कहरू कतिपय अवस्थामा आधारहीन र कतिपय अवस्थामा भावुकता आधारित रहने गरेको ढकालको तर्क छ ।

‘शंकर पोखरेलले दुई पार्टी हुनुपर्छ भन्ने अभिव्यक्ति दिँदा नै उहाँले कुन विवेकले बोल्नुभयो भन्ने लागेको थियो । अहिले प्रचण्डले पनि त्यही कुरा दोहोर्‍याउन थाल्नुभयो । हुन त प्रचण्ड अलि भावुक खालको मान्छे हो क्यारे । कहिलेकाहीँ उहाँ अलि बढी नै भावुक पनि भइदिनुहुन्छ’, ढकालले भने ।

salt training

कमेन्ट गर्नुहोस्