
बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ ।
सेवाको शुरूवात मंगलवार एक कार्यक्रमका बीच समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरे ।
यस अन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजत पत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्टआइपीएस र मोबाईल एप तथा कर्पोरेटपे प्रणालीहरु मार्फत आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने छ ।
विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानी सम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समय अघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ भने, पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाइएको छ ।
एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य समेत हुदैछ ।
यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने समितिले जनाएको छ ।
अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरण भुक्तानीको लागि प्रयोगकर्ताले कनेक्टआइपीएस वा मोबाईल एप मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको “गभर्मेन्ट अफ नेपाल’ अन्तर्गत ‘सेमी गभर्मेन्ट/सँस्थान’ भित्र “बीमा समिति” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी आफ्नो भुक्तानी आवश्यकता अनुरुप “एजेन्ट पेमेन्ट” वा “सर्भेयर पेमेन्ट” छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी “एजेन्ट पेमेन्ट” का निम्ती लाइसेन्स नम्बर, इस्यु डेट, टाईप अफ एजेन्ट र इस्युअर नेमको विवरण दाखिला गरी आफ्नो ट्रान्सेक्सन पासवर्ड/ओटीपी प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ ।
त्यसै गरी “सर्भेयर पेमेन्ट” का निम्ती सर्भेयर कोड, लाइसेन्स इस्यु डेट र टाइप अफ सर्भेयरको विवरण दाखिला गर्नुपर्ने हुन्छ ।
कर्पोरेटपे प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत आफ्नो युजर लग–इन गरी रियर टाइम पेमेन्ट अन्तर्गत गभर्मेन्ट पेमेन्टभित्र बीमा समिति छनोट गरी भुक्तानी गर्न सक्दछन् ।
२०४९ देखि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकास र नियमन गर्दै आइरहेको बीमा समितिको डिजिटलाईजेनको यस कदमले समितिको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।