
वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पहिराउने छन्।
डब्लुसीओटीवाई भनिने यो अवार्डमा यसपाली इतिहासमै पहिलो पटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन् ।
सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च–इ, हुन्डाइ आयोनिक–५ र किया इभी ६ परेका छन् ।
आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन्।
उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।
इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू इभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ। कार अफ द इयरको तीनओटै फाइनलिस्ट इभी रहे पनि हुन्डाइको आयोनिक ५ बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् ।
यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुण्डाई आयोनिक ५ ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ ।
विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा कारहरू छनोट गरिन्छ ।