
सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले बुधवार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
इजलासले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास बस्न नमिल्ने दाबी गर्दै अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट भने खारेज गरिदिएको छ ।
अर्का अधिवक्ता दीपकविक्रम मिश्रको रिट पनि खारेज भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषद्ले गरेका विभिन्न ५२ नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेका छन् ।
तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा एकसाथ नियुक्ति गरिएको थियो ।
नियुक्तिविरुद्धमा परेका रिटमा लामो समयपछि शुक्रवारदेखि सुनुवाइ शुरू भएको थियो ।
कामु प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा सदस्य छन् ।