
नेपालमा ‘पायोनियर होटलियर’को पहिचान बनाएका राधेश्याम सराफ भौतिक दुनियाँबाट सदाका लागि बिदा भएका छन् तर उनले हस्पिटालिटी क्षेत्रमा यस्तो पदचाप छाडेका छन्, जसले उनलाई चीरस्मरणीय बनाउने छ ।
९२ वर्षको उमेरमा मंगलवार साँझ उनले भारतको मेदान्त अस्पतालमा देहत्याग गरेका थिए । उनको पार्थिव शरीरलाई बुधवार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
नेपालमा होटल सञ्चालन र सामाजिक कार्यमा अग्रपंक्तिमा रहेका राधेश्याम सराफ दक्षिण एसियामै परिचित नाम हो ।
नेपालका २ चर्चित पाँचतारे होटल ‘याक एण्ड यति’ र ‘ह्यात रिजेन्सी’का संस्थापक तथा सञ्चालक उनै सराफ हुन् ।
भारतबाट नेपाल आएर उनले २ वटा पाँचतारे होटल स्थापना र सञ्चालन गरेका थिए । उनी सन् १९६३ मा भारतबाट नेपाल (काठमाडौं) आएका थिए ।
उनले सराफ होटल इन्टरप्राइजेजको नामबाट सन् १९७७ मा पहिलो होटलका रूपमा काठमाडौंको दरबार मार्गमा ‘याक एन्ड यति’ होटल सञ्चालनमा ल्याएका थिए । अहिले भने भिन्न कम्पनी याक एन्ड यति होटल प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालनमा छ ।
याक एन्ड यति होटल सञ्चालनमा ल्याएपछि सराफले काठमाडौंको बौद्धमा ह्यात रिजेन्सी सञ्चालन गरेका थिए । यो सन् १९९७ देखि निरन्तर सञ्चालनमा छ । ह्यात रिजेन्सी नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको सबैभन्दा ठूलो ५ तारे होटलका रूपमा रहेको व्यवसायीहरू बताउँछन् । यो होटल करीब ३०५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
होटल व्यवसायमा एकछत्र राज
सराफले नेपालमा मात्रै नभएर भारतमा पनि होटलमा एकछत्र राज गरेका थिए । भारतमा एसियन होटल्स लिमिटेडको नामबाट उनले नयाँदिल्लीमा ह्यात रिजेन्सी होटल सन् १९८२ मा सञ्चालनमा ल्याएका थिए । त्यस होटलको पनि उनी संस्थापक सञ्चालक हुन् ।
यति मात्रै नभएर एसियन होटल्स समूहले सन् १९९६ मा ग्राण्ड ह्यात (हाल द ग्रान्ड) होटल सार्वजनिक गर्यो । सो होटल सन् २००० बाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यस्तै सोही समूहले ग्राण्ड ह्यात मुम्बई सन् २००४ बाट सञ्चालनमा ल्यायो ।
एसियन होटल्ससँगको साझेदारीमा सन् २००२ बाट ह्यात रिजेन्सी कोलकत्ता र ह्यात रिजेन्सी मुम्बई पनि सञ्चालनमा ल्याएको थियो ।
सराफले आफ्ना छोराहरूसँग मिलेर नेपाल र भारतमा गरी १२ वटा सुविधासम्पन्न होटलहरूको स्वामित्वमा ६ वटा व्यापारिक साम्राज्य खडा गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान
सराफले नेपालमा होटल व्यवसायमा लगानी गरेर विश्वलाई नै नेपाल होटल व्यवसायमा सक्षम बन्दै गएको सन्देश दिए । नेपालको होटल क्षेत्रमा विश्वको भरोसा दिलाउन सराफको महत्त्वपूर्ण योगदान रहेको नेपालका होटल व्यवसायीहरू बताउँछन् ।
उनले सञ्चालनमा ल्याएको याक एन्ड यति होटल अहिले ४४ वर्षको भइसकेको छ ।
होटल एसोसियसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह नेपालमा होटल क्षेत्रको विकासमा अतुलनीय योगदान गर्ने व्यक्तिका रूपमा सराफलाई सम्झन्छन् ।
उनी भन्छन्, ‘सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा उहाँले ठूलो योगदान दिनुभयो । धेरै व्यवसायहरूमा उनले सफलता हात पारे ।’
एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले सराफ सफल व्यवसायीको उदाहरण बनेर बिदा भएको बताए ।
समाजसेवामा पनि अब्बल
आफ्नो जीवनकालमा सराफ समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । याक एन्ड यति होटलका सहायक निर्देशक लोभेन्द्र मल्ल सिंह भन्छन्, ‘सामाजिक काममा उहाँ जतिखेर पनि काम गर्न तत्पर देखिनुहुन्थ्यो ।’
सराफलाई सफल होटल तथा पर्यटन व्यवसायी मात्र नभएर कुशल एवम् निष्ठावान समाजसेवकको रूपमा सिंह सम्झन्छन् । उनले आफ्ना कर्मचारी तथा साथीहरूलाई औंधी माया गर्ने र स्थान दिने गरेका थिए ।
सानैदेखि व्यवसायमा
सराफले १७ वर्षको उमेरमै व्यवसायमा हात हालेका थिए । त्यतिखेर उनले भर्खरै प्रारम्भिक तहको अध्ययन पूरा गरेका थिए ।
पश्चिम बंगालको कालिङपोङबाट उनले व्यवसाय शुरू गरेका थिए । पछि कोलकाता, सिक्किम, तिब्बत हुँदै भुटानसम्म आफ्नो व्यवसायको शाखा विस्तार गर्न उनी सफल भए ।
उनले कोरिया, हङकङ, चीन र जापानसम्म व्यापार विस्तार गरे ।
समाजसेवाकै रुचिका कारण उनले सन् १९७९ मा काठमाडौंमा मोडर्न इन्डियन स्कूल सञ्चालनमा ल्याएका थिए ।
नेपालमा पर्यटनदेखि शिक्षासम्मको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएका सराफलाई तत्कालीन राजा वीरेन्द्रले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको होटल व्यवसायीहरू बताउँछन् । तत्कालीन राजा ज्ञानेन्द्रबाट समेत उनले दोस्रो गोरखा दक्षिण बाहु सम्मान पाएका थिए ।
सराफका २ छोराहरू उमेश र अरुण छन् । उनले स्थापना र सञ्चालन गरेका होटल याक एन्ड यति र ह्यात रिजेन्सीलाई अगाडि बढाउने जिम्मा अब २ छोराको काँधमा आएको छ ।