

मैले फर्माइस एल्बम विमोचन गरी २०१६ अप्रिलमा कतारमा गइ सांगीतिक अभियान सञ्चालन गरेको विभिन्न सञ्चार माध्ययमा समाचार आइसकेको छ । मानव जीवन संरक्षण मञ्चले अभियानमा सहयोग गर्ने दाताहरू, एल्बम बिक्रीबाट उठेको रकम लगायत सम्पूर्ण विवरण समेटेर एक विज्ञप्ती सार्वजनिक गर्यो । जसमा उक्त सहयोग रकमको सम्पूर्ण अंश नै अक्षयकोषमा जम्मा गर्ने सार्वजनिक भयो । उक्त अभियानबाट ४ लाख १६ हजार रुपैयाँ जम्मा गर्न म सफल भए ।
मैले एल्बम प्रकाशन लगायतको सम्पूर्ण खर्च आफैं ब्यहोरेर ४ लाख १६ हजार नै एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षय कोषमा जम्मा गर्ने निर्णय गरे ।
कतारमा कार्यक्रम गरी फर्के पछि बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनले पैसा दिनु भनेर मसँग माग्नुभयो । मैले ‘विज्ञप्तिमा अक्षयकोष निर्माण गर्ने उल्लेख छ, कार्यक्रम गरौं, अक्षयकोष निर्माण गरौं’ भन्दा उहाँले ‘अक्षयकोष धेरैले स्थापना गरिदिएका छन्, अक्षयकोष पर्दैन, पैसा खातामा हालिदिनु’ भन्नुभयो । उहाँको त्यो कुरा मलाई ठिक लागेन । रकम दुरूपयोग हुन नपाओस् भनेर मैले अक्षयकोष स्थापनामा जोड दिइरहेँ ।
एचआइभी पीडित वालबालिकाको सहयोगका लागि उठेको रकम सिधै पुनलाई दिन मेरो मनले मानेन । रकम पारदर्शी होस् भन्ने उद्देश्यले मैंले २०७३ कात्तिक १२ गते बालकल्याण समितिका देवीप्रसाद डोटेलसँग यो रकम दुरूपयोग हुन नदिन र बालबालिकाकै हितमा खर्च गराउन के गर्ने भनी सुझाव मागे । उहाँले समेत अक्षयकोष स्थापनामै जोड दिनुभयो ।
यस विषयमा धेरैतर्फबाट साथीहरूले अक्षयकोष स्थापना गरेर मात्र रकम दिन सुझाव दिएकाले मैले त्यो अडान लिइरहेँ । लामो समयसम्म यो रकम राखीराख्न उचित नठानेर दुवईबाट सांगीतिक अभियान सकेर फर्केपछि म केन्द्रीय बालकल्याण समितिमा गएर यो रकम समितिले बुझोस् भनेँ । समितिका देवीप्रसाद डोटेलले ‘हामीले यो रकम लिन मिल्दैन’ भनी समितिका प्रमुख तारक धितालको रोहबरमा २०७४ असार ४ गते अक्षयकोष निर्माण गर्ने निर्णय गरियो ।
अक्षयकोषमा रकम जम्मा गर्न बैंक गएर बुझ्दा संस्थाले सामान्य मुद्दती खाता खोलेको र सो रकम संस्थाले जतिबेला पनि झिक्न सक्ने शंका मलाई लाग्यो । साँवा नमासिने गरी रकम सुरक्षित रहोस् भन्ने हेतुले स्टे अर्डर लेटर भोलिसम्म आइसक्ने र भोलि बैंकमा रकम जम्मा गर्ने जानकारी प्रहरी सहायक निरीक्षक विज्ञान शाहलाई गराए । शाहले आजै रकम जम्मा गरिदिनु भनेपछि मैले प्रभु बैंक, लैनचौरका शाखा प्रबन्धक निरज पन्तलाई आज रकम जम्मा गरी एकदुई दिनमा स्टे अर्डर लेटर ल्याउँदा रकम सुरक्षित हुन्छ या हुँदैन भनेर सोधेँ । उहाँले हुन्छ भनेपछि मानव जीवन संरक्षण मञ्चकी सचिव रिना शाही मार्फत गत असार २० गते बैंकमा रकम जम्मा गरिदिएका छौं ।
अक्षयकोषमा रकम जम्मा गरेको भोलिपल्ट फेरि गायक मोक्तान पक्राउ भनी समाचार आयो । म यहिँ लेखमार्फत के स्पष्ट पार्न चाहन्छु भने प्रहरी कार्यालयमा अक्षयकोषमा पारदर्शी ढंगले रकम जम्मा गर्ने वारेमा छलफल भएको हो । र सहमति अनुसार मैले रकम दुरुपयोग हुन नपाओस् भन्ने उद्देश्यले अक्षयकोषमा रकम जम्मा गरिदिएको जानकारी गराउन चाहन्छु । बालबालिकाको शिक्षा र स्वास्थ्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।