०६ साउन २०८३, बुधबार

घरजग्गामा २३ प्रतिशतले लगानी बढ्दा शेयर धितो कर्जा भने साढे १० अर्बले घट्यो

बैशाख ४, २०७९
घरजग्गामा २३ प्रतिशतले लगानी बढ्दा शेयर धितो कर्जा भने साढे १० अर्बले घट्यो
फाइल तस्वीर।

बैंक तथा वित्तीय संस्थाले घरजग्गामा २३.४० प्रतिशतले लगानी बढाएका छन् । चालू आर्थिक वर्षको ८ महिनामा घरजग्गामा लगानी बढेको भए पनि शेयर धितो कर्जा भने करीब १० प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिका कारण घरजग्गामा लगानी बढेको देखिए पनि शेयर धितो कर्जा भने भदौदेखि नै नियमित रुपमा घटेको छ । शेयर धितो कर्जालाई राष्ट्र बैंकले नै निरुत्साहित गरेका कारण घट्दै गएको हो । तर, घरजग्गामा भने नगद मार्जिन राखेर कडाइ गर्दासमेत गत वर्ष फागुनको तुलनामा यो वर्षको फागुनमा ४० अर्ब ३२ करोड रूपैयाँभन्दा बढीले बढेको छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्न पछिल्लो समय नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो लगानी गत महिना नगद मार्जिनको व्यवस्था केही कम भएको मात्रै देखिएको छ । फागुन महिनाको तुलनामा माघमा घरजग्गामा गएको ऋण एक अर्ब रूपैयाँले बढेको छ । 

फागुनसम्ममा बैंकहरूको घरजग्गामा भएको लगानी दुई खर्ब १२ अर्ब ६७ करोड रूपैयाँ छ । यस्तो लगानी गत वर्षको सोही अवधिमा एक खर्ब ७२ अर्ब ३४ करोड रूपैयाँ मात्रै भएको पनि राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ । 

यो अवधिमा डेढ करोड रूपैयाँ भन्दा बढीका व्यक्तिगत घर कर्जाको लागि बैंकहरूले ३ खर्ब ३७ अर्ब रूपैयाँ लगानी गरेका छन् । यस्तो लगानी गत वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब रूपैयाँ मात्रै थियो । 

सवारी कर्जामा भएको बैंकहरूको लगानी भने फागुनसम्ममा एक खर्ब ६८ अर्ब रूपैयाँ रहेको छ । सवारी कर्जामा बैंकहरूले गरेको यस्तो लगानी गत वर्षको फागुनसम्ममा ८१ अर्ब रूपैयाँ मात्रै थियो ।

शेयर धितो कर्जा १० अर्बले घट्यो 

चालू आर्थिक वर्षको ८ महिनामा शेयर धितो कर्जा १० अर्ब रूपैयाँले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेपछिको ८ महिनामा बैैंकहरूबाट प्रवाह भएको मार्जिन प्रकृतिको कर्जा १० अर्ब ४८ करोड रूपैयाँले घटेको छ । असारको तुलनामा ठूला लगानीकर्ताले शेयर धितोमार्फतको कर्जा तिरेका कारण यस्तो कर्जा घटेको तथ्यांकले देखाएको छ । 

मौद्रिक नीतिले एक जना व्यक्तिले ४ करोड र प्रतिपरिवार १२ करोड रूपैयाँसम्म मात्रै शेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । यो भन्दा बढी लिनेले थप कर्जा नपाउने र सीमाभन्दा बढी लिएको कर्जा तिर्नुपर्ने व्यवस्थाका कारण पनि शेयर धितो कर्जा घटेको देखिएको छ ।

शेयर धितो कर्जा असार मसान्तमा एक खर्ब ६ अर्ब रूपैयाँ थियो । यस्तो कर्जा फागुन मसान्तमा आइपुग्दा ९५ अर्ब ८० करोड रूपैयाँ मात्रै रहेको पनि राष्ट्र बैंकले जारी गरेको तथ्यांकले देखाएको छ । 

शेयर धितो कर्जा गत वर्षको ८ महिनाको तुलनामा भने १४ अर्ब ३८ करोड रूपैयाँले बढेको छ । गत वर्षको उक्त अवधिमा शेयर धितो कर्जा ८१ अर्ब ४१ करोड रूपैयाँ मात्रै थियो । 

शेयर धितोका साना ऋणी भने बढे

राष्ट्र बैंकको नीतिका कारण ठूला ऋणीलाई शेयर धितो कर्जा नदिने र लिएको पनि फिर्ता गर्नुपर्ने प्रावधानका कारण साना ऋणी भने बढेका छन् । 

२५ लाख रूपैयाँ भन्दा कम ऋण लिएर लगानी गर्ने लगानीकर्ताको संख्या ८ महिनामा १५.६ प्रतिशतले बढेको छ । यो अवधिमा साना लगानीकर्ताल १ अर्ब १५ करोड रूपैयाँले बढाएर ८ अर्ब ५२ करोड रूपैयाँ पुर्‍याएका छन् । 

यो अवधिमा २५ लाखदेखि ५० लाख रूपैयाँसम्म लगानी गर्ने लगानीकर्ता पनि १६ प्रतिशतले बढेका छन् । यस्ता लगानीकर्ताले ८ महिनामा नै २ खर्ब १२ करोड रूपैयाँले शेयर धितो कर्जामा लगानी बढाएर ३ अर्ब ५७ करोड रूपैयाँ पुर्याएका छन् । 

१ करोड रूपैयाँ भन्दा बढी ऋण लिने ठूला लगानीकर्ताले भने लिएको ऋण तिर्नुपरेका कारण ऋण नै १३ अर्ब ७४ करोड रूपैयाँले कम भएको छ । 

बैंकहरूको नाफा ५२ अर्ब 

बैंक तथा वित्तीय संस्थाहरूको नाफा ८ महिनामा नै १०.६३ प्रतिशतले बढेको छ । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५२ अर्ब रूपैयाँ खुद मुनाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन २०७८ सम्मको तथ्यांकअनुसार वाणिज्य बैंक र विकास बैंकहरूले चालू आवको ८ महिनामा कमाएको यस्तो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा करीब ५ अर्ब रूपैयाँले बढी हो । गत वर्ष यस्तो मुनाफा ४७ अर्ब रूपैयाँ थियो । 

वाणिज्य बैंकहरूले मात्रै चालू आवको ८ महिनामा ४६ अर्ब ८६ करोड रूपैयाँ खुद मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरूको यस्तो नाफा अघिल्लो वर्षको यही अवधिमा ४१ अर्ब ९५ करोड रूपैयाँ थियो । 

यो अवधिमा विकास बैंकहरूको नाफा ४ अर्ब ३२ करोड रूपैयाँ रहेको छ । विकास बैंकहरूले गत वर्ष कमाएको यस्तो नाफा विकास बैंकहरूको ४ अर्ब २४ करोड रूपैयाँ रहेको थियो । 

बैंकहरूले नाफा कमाएकै कारण उक्त अवधिमा कर प्रयोजनका लागि १९ अर्ब ६० करोड रूपैयाँ छुट्याएका पनि छन् । यो अवधिसम्ममा वाणिज्य बैंकहरूले कर्मचारीको बोनस प्रयोजनका लागि पनि ६ अर्ब ३५ करोड रूपैयाँ छुट्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्