
कांग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले जित निकालेको छ । एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६३९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९५२ मत ल्याएका थिए ।
राजवंशी गत चुनावमा माओवादीबाट मेयरमा उठेका थिए । उनी माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् ।
उपमेयरमा मीरादेवी दास केवरतले ८ हजार ३८३ मतसहित विजयी भइन् । कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत ल्याएकी थिइन् ।
सुनवर्षीमा अघिल्लो चुनावमा मेयर-उपमेयर दुवै कांग्रेसले जितेको थियो । पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको पकड क्षेत्र मानिएको यस पालिकामा पहिलोपटक एमालेले जितेको हो ।
साविकका अमरदह गाविस, डाइनिया गाविस गोविन्दपुरको रंगेलीलाई मिलाएर सुनवर्षी बनाइएको थियो ।
यो पालिकामा यसअघि एमालेले जित हासिल गर्न सकेको थिएन ।
गिरिजाप्रसाद कोइरालाले राजनीति गर्दा वडाहरूमा समेत कांग्रेसले जित्ने गरेको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए ।
यो पालिका सुजाता कोइरालाको समेत पकड क्षेत्रका रुपमा मान्ने गरिएको छ ।