
मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।
रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।
रंगेली नगरपालिका मेयरका कांग्रेस उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३४४२ मत खसेको थियो । तर, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको उनले बताए ।
‘९९ वटा मतपत्र बढी भेटिनु निर्वाचन धाँधली भएको छ,’ उनले भने, ‘मतगणना स्थगित गरेर रंगेलीमा पुनः निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु पर्दछ ।’
रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माका अनुसार शुक्रवारदेखि रोकिएको मतगणना अहिलेसम्म शुरू हुन सकेको छैन ।
मतगणना शुरू गर्न सहमति गरे पनि अहिलेसम्म सहमति हुन नसकेको उनले बताए । सबै दलको सहमतिमा मतगणना शुरू गर्ने पक्षमा निर्वाचन कार्यालय रहेको उनले बताए । ‘७ वडामा १० मतपेटिका छ । १०८ मत बढी आएको कांग्रेस प्रतिनिधिहरूको गुनासो थियो । कम्प्युटरमा इन्ट्री गर्दा १०० सिट डबल इन्ट्री भएको रहेछ । त्यसलाई हामीलाई सच्याएका छौं,’ उनले भने, ‘यस विषयमा हामीले दलका प्रतिनिधिहरूलाई पनि बुझाइसकेका छौं । तर, उहाँहरू अहिलेसम्म गणनास्थलमा आउनुभएको छैन ।’ सहमति नभए निर्वाचन आयोगको निर्देशनअनुसार गणना प्रक्रिया अगाडि बढाउने उनले बताए ।
गणना रोकिएको १२ घण्टा बितिसक्दा पनि रंगेली नगरपालिकाको मतगणना शुरु नभएपछि गणनास्थलमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख निर्वाचन अधिकारी लेवन काश्यव अधिकारीसहित तीन सदस्य टोली त्यहाँ आइपुगेका छन् ।
रंगेली नगरपालिकाको १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ । गणना सम्पन्न भएको पाँच वटै वडाध्यक्षमा एमाले विजयी भएका छन् ।
६, ७, ८ र ९ वडाको गणना हुन बाँकी छ । ७ नं वडा गणना गर्दा विवाद भएपछि अहिले रोकिएको हो ।
रंगेलीमा २७ हजार २७० मत खसेको छ । रंगेलीमा एमालेले उम्मेदवार दिलिपकुमार अग्रवालले मेयरमा अग्रता लिएका छन् । उनले ७ हजार ३८५ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत ल्याएर पछि परेका छन् ।