
काठमाडौं, ३ साउन – चीनमा एक ५० वर्षीय पुरुषको एउटा भिडियो खुबै भाइरल भइरहेको छ । ती मानिस विगत २० वर्षदेखि महिलाका रूपमा बसिरहेका छन् ।

उनका अनुसार बहिनीको मृत्युपछि उनले यो रूप धरेका हुन् । आफ्नी आमाको मानसिक हालत बिग्रँदै गएपछि सुधार्नका लागि यो कदम उठाएको उनी बताउँछन् ।
पीयर भिडियो नामक कम्पनीको यस भिडियोलाई सामाजिक सञ्जाल वीबोमा ४२ लाखभन्दा बढी मानिसले हेरिसकेका छन् र अन्य न्युज पोर्टलले पनि खुबै शेयर गरिरहेका छन् ।
भिडियोमा गुआङ्शी क्षेत्रको गुइलिन इलाकामा बस्ने यी व्यक्ति आमाको अगाडि चिनियाँ महिलाले लगाउने परम्परागत कपडा लगाएर बसेको भेटिन्छ ।
एक युजरले कमेन्ट गरे, ‘आफ्नी आमाको खुशीका लागि २० वर्षदेखि केटी बनेर बस्ने मानिसलाई प्रशंसा गर्नुपर्छ ।’
अर्को कमेन्टमा लेखिएको छ, ‘यी मानिस महिलाका रूपमा सुन्दर देखिएका छन् ।’
केही मानिस चाहिँ यो मानिसले आफ्नो लैंगिकता लुकाउनका लागि आमाको दुःखको सहारा त लिइरहेको छैन भनी प्रश्न समेत उठाइरहेका छन् ।
पीयर भिडियोसँग कुरा गर्दै यी व्यक्तिले २० वर्षअघि बहिनीको मृत्युपश्चात् आमाको मानसिक हालत बिग्रेपछि आफ्नो बहिनीको कपडा लगाएर आमासामु आउने निर्णय गरेको बताए ।
उसलाई बहिनीको कपडा लगाएको देखेर आमालाई छोरी फर्केर आई भन्ने लागेको थियो । आमाको अनुहारमा खुशी देखेर छोराले सधैं महिलाका रूपमा बस्ने निर्णय गरेका थिए ।
त्यसपछि आफूले कहिलेपनि पुरुषको कपडा नलगाएको र मानिसले आफूलाई के भन्छन् मतलब नराख्ने उनी बताउँछन् ।
बीबीसीबाट