०६ साउन २०८३, बुधबार

नेपालमा बिरामीले कसरी हवाई यात्रा गर्न सक्छन् ? के–के आवश्यक हुन्छ ?

जेठ ३०, २०७९
नेपालमा बिरामीले कसरी हवाई यात्रा गर्न सक्छन् ? के–के आवश्यक हुन्छ ?
  • रत्न राई, सिनियर म्यानेजर, ग्राउन्ड मार्केटिङ, बुद्ध एयर

सामान्य अवस्थामा हवाई यात्रालाई निकै सुरक्षित र छिटो गन्तव्यमा पुग्न सकिने माध्यमका रूपमा बुझिन्छ ।

पछिल्लो समयमा नेपालमा पनि आन्तरिकतर्फ हवाई यात्रा गर्नेहरू दिनानुदिन बढिरहेको तथ्यांकहरूले देखाइरहेका छन् । 

हवाईयात्राका बारेमा यात्रुहरू वा जनमानस कति जानकार छ भन्नेबारे प्रश्न उब्जिरहेकै पाइन्छ । 

हवाईसेवा प्रदायकले बुझाउनुपर्ने कुराहरू बुझाउन नसकेको वा कतिपय अवस्थामा हवाई यात्रुहरूले बुझ्न नचाहेको वा यस्तै कारणले सही जानकारीहरूबाट जनमानस वञ्चित बन्नुपरेको अवस्था रहन्छ । 

हवाईयात्राका क्रममा सामान्य अवस्था र विशेष अवस्था भनेर छुट्याइएको हुन्छ । 

यहाँ, सामान्य अवस्थाका यात्रु भन्नाले गन्तव्यसम्म पुग्नका लागि एक्लै सक्षम हुने तथा अन्य निगरानी गरिरहनुनपर्ने हुन् । 

अर्को प्रकृतिको यात्रुलाई विशेष किसिमको यात्रु भनिएको हुन्छ । यसमा सामान्य यात्रुभन्दा  अलि बढी चनाखो हुनुपर्ने, विशेष प्राथमिकता दिएर हेरविचार गर्नुपर्ने वा सेवासुविधा दिनुपर्ने यात्रुहरू विशेष यात्रुका रूपमा रहन्छन् ।

यस्तो किसिमका यात्रुहरूमा ‘भीभीआईपी’, भीआईपीका साथै ज्येष्ठ नागरिक, बच्चा, गर्भवती महिला, कैदीबन्दीहरू, अन्य अशक्तता भएका व्यक्तिहरूका साथै बिरामीहरू पनि पर्दछन् । यस्ता यात्रुहरूलाई विमानमा विशेष ‘केयर’ गर्नुपर्ने हुन्छ र गरिन्छ पनि ।

आजको यस लेखमा कस्ता किसिमका बिरामीहरूले कसरी हवाईजहाजमा यात्रा गर्नुपर्ने हुन्छ वा यात्राका लागि के–के आवश्यक हुन्छ भन्नेबारे जानकारी दिन प्रयास गरिएको छ । 

 बिरामीलाई हवाई यात्रा

बिरामी विभिन्न किसिमका हुन्छन् । कोही शारीरिक त कोही मानसिक रोगी हुन्छन् । 

मानसिक रोगीहरूको हकमा बुद्ध एयरले एक्लै बिरामीलाई यात्रा गराउँदैन । उहाँसँग अर्को एक जना सक्षम साथी हुनुपर्छ । सक्षम भन्नाले बिरामी यात्रुको रेखदेख गर्नसक्ने । 

यसका साथै डाक्टरको ‘फिट टु फ्लाई’ प्रमाण पनि आवश्यक हुन्छ ।

हामीले यो खोज्नुका कारण हुन्छ । 

मुख्यगरी एउटा यात्रा नभएर सुरक्षा र सहजताका लागि पनि हो । 

एउटा मानसिक रोगीलाई यात्रा गराइयो भने उहाँले हवाई यात्रा सुरक्षामा खलल गर्ने कार्य हुन सक्छन् । जस्तै हातपात गर्ने वा हल्ला गर्ने वा अन्य किसिमका अवाञ्छित गतिविधि गर्ने हुन सक्छन् । 

त्यसकारण उहाँलाई राम्ररी ह्याडल गर्नका लागि अर्को एकजना सक्षम यात्रु आवश्यक हुन्छ ।

साथै डाक्टरले ‘फिट टु फ्लाई’ प्रमाणित गरिदिनुपर्ने हुन्छ ।

सरुवा रोग भएका बिरामी 

हुन त सरुवा रोग भएका बिरामीलाई यात्रा हिँडडुलमा बन्देज नै हुन्छ । 

हामीले पनि यस किसिमका यात्रुलाई उडानमा निषेध गरेका छौं । यसले कर्मचारीसहित अरू यात्रुहरूलाई सुरक्षामा खलल पुर्‍याउँछ । 

तर कतिपय सरुवा रोगहरू उपचार शुरू भएपछि नसर्ने पनि हुँदा रहेछन् । यस्तो अवस्थामा डाक्टरले उडान गर्न योग्य वा सक्षम भनेर लेखिदिनुपर्छ । डाक्टरले उडान सुनिश्चित गरिदिएमा यस्ता किसिमका यात्रुहरूले उडान गर्न पाउँछन् । 

अक्सिजन दिनुपर्ने बिरामी

कतिपय यात्रुहरू/बिरामीहरू अक्सिजन दिइराख्नुपर्ने हुन्छन् । त्यस्ता बिरामीहरूलाई उडाउन समस्या हुन्छ । 

बुद्ध एयरले सर्टिफाइ अक्सिजनको प्रयोग गर्ने गरेको छ । बिरामी यात्रुका लागि बुद्ध एयरले  म्यानेज गरिदिन्छ । केही गरी बिरामी स्वयंले अक्सिजन ल्याउनुभयो भने पनि २.५ फीट अग्लो र ५ किलोसम्मको पोर्टेबल सिलिन्डरसहित यात्रा गर्न सकिन्छ ।  तर त्यो भन्दा बढीको भयो भने अस्वीकार्य हुन्छ । यो अन्तर्राष्ट्रिय मान्यताविपरित हो । 

यसमा पनि डाक्टरले उडानयोग्य अथवा ‘फीट टु फ्लाई’ सर्टिफाइ गरिदिनु आवश्यक हुन्छ । उहाँलाई चिकित्सकले अक्सिजनको लेभल के कति हुनुपर्छ, सबै खुलाउनुपर्छ । अक्सिजन लेभल मिलाउन नसक्दा जोखिम पनि उत्तिकै हुन्छ ।

अर्को मुख्य कुरा, अक्सिजन लगाएर हिँड्ने मानिस आफैं हिँड्न सक्दैनन् भन्ने हाम्रो बुझाइ हो । यसको मतलब अक्सिजन बोकेर हिँड्ने बिरामीको साथमा एक सबल वा स्वस्थ साथी आवश्यक हुन्छ, तब मात्रै उडानयोग्य हुन्छन् । 

अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्ने मेसिन बोकेर हिँड्ने बिरामीहरूको हकमा भने उहाँको अवस्था हेरेर यात्रा अनुमति दिन सकिन्छ । 

‘हामीलाई जबजब समस्या हुन्छ, तबतब अक्सिन्जन लिन्छौँ,’ भन्ने किसिमका बिरामीहरूले जब गाह्रो हुन्छ तब आफैं अन गरेर सहज अवस्थामा आउन सक्छन् । यस्तो बिरामीलाई भने हामी एक्लै यात्रा गराउन सक्छौँ । अक्सिजन कन्सन्ट्रेटर बोकेर हिँड्नेले त्यसलाई चलाउन सक्ने हुनुपर्छ । उहाँलाई भने सहयोगी साथी आवश्यक हुँदैन ।

गर्भवती अवस्था

गर्भवती महिलाको अवस्था भनेको संवेदनशील अवस्था हो । हवाई यात्रामा यस्ता यात्रुहरूको विशेष ध्यान दिनुपर्छ । त्यसकारण यसमा पनि हामीले केही सुरक्षाका शर्तहरू राखेका छौँ ।

२८ हप्ताभन्दा मुनिको गर्भवतीले सहजै उडान गर्न पाउँछन् । तर पनि गर्भवती भनिसकेपछि उहाँहरूको प्यासेन्जर प्रोफाइल हेरिरहेका हुन्छौँ । हामीले त्यसै भएर काउन्टरमै आउनुपर्छ भनेको कारण पनि त्यै हो । त्यहाँ हामीले शारीरिक रूपमा कति स्वस्थ वा सहज हुनुहुन्छ अनुगमन गर्ने हो । 

२८ हप्ताभन्दा माथि ३६ हप्तासम्मको गर्भवती, जसको गर्भमा एकमात्रै बच्चा छ भने उहाँहरूलाई उड्न दिइन्छ । यसका लागि चिकित्सकले फीट टु फ्लाई सुनिश्चित गरेको हुनुपर्छ ।

२८ हप्ताभन्दा माथिको गर्भमा २ जना बच्चा छन् भने उहाँहरूलाई ३२ हप्तासम्मको अवस्थामा मात्रै उडान गराउँछौँ । उहाँलाई पनि चिकित्सकले फीट टु फ्लाई सुनिश्चित गर्नुपर्छ । 

गर्भवती महिलाहरूका लागि हामीले सीटमा क्याबिन क्रुलाई विशेष निगरानीका लागि जानकारी दिएका हुन्छौँ । 

कतिपय अवस्थामा क्याप्टेनलाई नै पनि जानकारी दिएका हुन्छौँ ।

गर्भवती महिलाहरूका लागि मात्रै नभएर विशेष आवश्यकता भएका हरेक यात्रुलाई हामीले यसरी निगरानी गर्ने गरेका छौँ । 

स्ट्रेचरको बिरामी 

स्टेचरका बिरामीहरू पनि बुद्ध एयरले बोकिरहेको छ । 

जो बसेर आउन सक्दैनन्, त्यस्ता बिरामीलाई स्ट्रेचरमा बोकिन्छ । एउटा प्लेनमा २ वटासम्म स्ट्रेचर राख्न सकिन्छ । 

यसमा चिकित्सकले फीट टु फ्लाई दिनुपर्ने हुन्छ । यसका लागि हामीललाई २४ घन्टा अगाडि नै जानकारी चाहिन्छ भनेका छौँ तर विशेष परिस्थितिमा ३/४ घन्टामा थाहा पाएमा पनि सम्भव हुन्छ । 

यो समय हामी तयारी हुनका लागि हो । 

जानकारीमा आएपश्चात काठमाडौंबाट स्ट्रेचर लैजानुपर्ने हुन्छ । २ जना टेक्निसियन जानै पर्छ । यसका लागि ४ वटा दुईतर्फी सिट आवश्यक हुन्छ । यस्तै स्ट्रेचर फीट गर्न करीब ४५ मिनेट समय लाग्छ । सबै प्रक्रियाहरू पूरा गर्न करीब डेढ घण्टा लाग्छ । एउटा उडानमा हामी दुईवटा स्ट्रेचरसम्म फिट गर्नसक्छौं ।

सामान्य अवस्था जस्तै हाँत भाँचिएको, खुट्टा भाँचिएको अवस्थामा हामीले फीट टु फ्लाई मागेका हुँदैनौँ । विशेष परिस्थिति वा यात्रुको स्वास्थ्य जटिल लागेमा हामीले फीट टु फ्लाई माग्छौं ।

स्ट्रेचर सुविधा बुद्धबाहेक अरू कुनैमा छैन । त्यसैगरी हामीले सर्टिफाइड अक्सिजन मात्रै प्रयोग गर्छौं । यस्तै ह्वीलचेयर गुडाउनका लागि प्यासेन्जर्स र्‍याम्प छ । बाहिर राखिएको त्यो भर्‍याङले ह्वीलचेयर गुडाउन तथा बिरामीलाई सहज रूपमा जहाजको सिटसम्म पुर्‍याउन सक्छ ।

यात्रुहरूले टिकट काटेर हवाईयात्रा गर्न पाइन्छ भन्ने हुँदैन । समयमै विमानस्थल, सुरक्षा चेकजाँच पास गरी चेकइन काउन्टरमा आउनुपर्ने हुन्छ । हामीले हरेक यात्रुको शारीरिक अवस्थाको निगरानी गरेका हुन्छौं । गन्तव्यसम्म पुग्न उहाँको शारीरिक सक्षमता निक्र्यौलपछि मात्रै बोर्डिङ पास दिन्छौं । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो ।  

पुगिने गन्तव्यमा सेवा 

हामीले यात्रुहरू सबैलाई सुरक्षित र सहज रूपमा गन्तव्यमा पुर्‍याउँछौँ । स्पेशल सर्भिस भनेर राखेका छौँ । सिस्टममै यस्तो किसिमको बिरामी आउँदै हुनुहुन्छ, निगरानीमा राख्नु भन्ने खालको जानकारी दिन्छौँ । साथै अधिकांश समयमा हामीले फोनमार्फत पनि जानकारी दिन्छौँ । कतिपय अवस्थामा एम्बुलेन्स पनि बोलाइदिएका हुन्छौँ ।

(बुद्ध एयरको ग्राउन्ड मार्केटिङका सिनियर म्यानेजर रत्न राईसँगको कुराकानीमा आधारित)
 

salt training

कमेन्ट गर्नुहोस्