
गत आर्थिक वर्ष २०७८/७९ मा सरकारको राजस्व संकलन लक्ष्यभन्दा करिब १० प्रतिशत कम उठेको छ । गत आवमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको भए पनि जम्मा १० खर्ब ७६ अर्ब रुपैयाँ मात्रै संकलन भएको असार मसान्तसम्मको अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ ।
यस्तो राजस्व लक्ष्यभन्दा १ खर्ब १२ अर्ब रुपैयाँले कम हो । राजस्व संकलन लक्ष्यको ९०.४६ प्रतिशत मात्रै भएको देखिएको छ ।
गत आवमा सरकारको बजेट खर्च ९१ प्रतिशत पुगेको भएपनि विकास निर्माणमा हुने पुँजीगत खर्च भने जम्मा ५७.२३ प्रतिशत मात्रै भएको छ ।
गत आवमा भएको यस्तो खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँ हुने अनुमान गरेर बजेटमार्फत विनियोजन भएको थियो । उक्त खर्च असार मसान्तसम्मा २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै भएको देखिएको छ । यो तथ्यांकअनुसार सरकारले विकास निर्माणमा छुट्याएको बजेट नै १ खर्ब ६२ अर्ब खर्च हुन सकेन ।
यो अवधिमा चालू खर्च भने १२ खर्ब ४० अर्ब हुने अनुमान गरिएकोमा ११ खर्ब ३४ अर्ब रुपैयाँ भएको छ । समग्रमा गत आवमा सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेटमा १२ खर्ब ९६ अर्ब रुपैयाँ अर्थात ७९.३९ प्रतिशत मात्रै खर्च गरेको छ ।