०६ साउन २०८३, बुधबार

२७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

२७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

देशका २७ जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा सोमवार लगाइँदैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई सोमवारदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ ।

उनीहरूलाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । 

दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गरे ।

ती जिल्लामा १ नम्बर प्रदेशको झापा, इलाम, सुनसरी र मोरङ, मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर छन् । 

गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ । खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुनेछन् । 

दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्