
जर्मनी, १५ साउन — चुरोट, कफी र रक्सी पिउने समय आफ्नो परिवारलाई दिएमा परिवार पनि खुशी हुने अनि समयको सदुपयोग पनि हुने धारणा गैरआवासीय नेपाली संघका (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले व्यक्त गरेका छन् ।

शनिवारबाट जर्मनीको फ्र्यांकफर्टमा शुरु भएको दुईदिने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरूको दशौं युरोपेली बैठकलाई सम्बोधन गदै डा. महतोले भने, ‘हामी विश्वभर छरिएर रहेका सबै नेपाली एक भएर छलफल गर्ने भनेर जर्मनीको फ्र्यांकफर्टमा आज भेट भएका छौं, बिदा र रमाइलो गर्न होइन । समयको महत्त्व बुझेर हामी सबै अघि बढ्नुपर्छ ।’
आइतवारसम्म चल्ने बैठकमा विश्वभरका एनआरएनए प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ ।
डा. महतोले भने, ‘कार्यक्रममा सहभागी हुनका लागि व्यस्तताका बाबजुद आउनुभएका हाम्रा मित्रहरूले बैठकमा उपस्थिति भन्दा बाहिर रमाइलो र बिदा मनाउन आएको जस्तो नगर्नुहोला ।’
उनले थपे, ‘गैरआवासीय नेपालीहरू आज विश्वको कुनै पनि कुनामा हरेक क्षेत्रमा सक्षमता देखाइरहेका छौं । चिल्लो सडकदेखि भवन निर्माणलगायतमा हामी सफल भएका छौं । गर्व लाग्छ मलाई । एनआरएनए स्थापना गर्दाको समयका साथीहरू अहिले नभएपनि आज विशाल जनसहभागिताले म हर्षविभोर भएको छु । जर्मनीमा अहोरात्र खटेर कार्यक्रम सफल बनाउन लाग्नुहुने सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।’