
राष्ट्रिय परिचयपत्रका लागि मोरङमा हालसम्ममा दुई लाख ३५ हजार मानिसको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत असोज ४ गतेदेखि सुरु भएको यो अभियानअन्तर्गत मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल थान गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिका गरी नौ वटा पालिकामा अभियान सम्पन्न भई उर्लाबारी नगरपालिकामा सञ्चालनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । मोरङमा १७ वटा पालिका छन् ।
उनका अनुसार उर्लाबारीमा एक÷दुई दिनभित्रै अभियान सम्पन्न भई सो अभियान कानेपोखरी गाउँपालिकामा सुरु हुने र यसका लागि अभियानमा जुट्ने प्राविधिक टोली तयार भएर बसेको जनाइएको छ ।
प्रत्येक पालिकामा प्राविधिक टोली पठाएर अभियान सञ्चालनमा रहे पनि आम नागरिकलाई थप सुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मोरङबाट चार एकाइ, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट एक एकाइ तथा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट दुई स्थानबाट नियमितरूपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन जारी रहेको सहायक प्रजिअ पोखरेलले जानकारी दिए।
उनका अनुसार प्रदेश प्रहरी तालिम केन्द्र रानीमा यो अभियान सम्पन्न भई जिल्ला कारागार मोरङमा सुरु भएको छ । उनले कारागारमा नौ सय ७८ पुरुष र ८८ महिलाको विवरण सङ्कलन गर्न केही समय लागे पनि राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने सक्कली कागजातहरु भएमा कुनै समस्या नहुने बताए । कुनै विवरण गलत भएमा मेशिनले नै ग्रहण नगर्ने भएकाले यसमा सेवाग्राहीले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।