जेठ २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
असोज १७, २०७९
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् ।
आगामी मंसिर ४ गते हुने चुनावमा एमालेको उम्मेदवारलाई जिताउन लाग्ने तर, आफू समानुपातिक र प्रत्यक्ष कतै पनि उम्मेदवार नबन्ने उनले घोषणा गरिन् ।
तत्कालीन कोअर्डिनेशन केन्द्रकै बेलादेखि नेपालको वामपन्थी आन्दोलनमा लागेकी शाक्य दुईपटक प्रतिनिधि सभाको चुनाव जितेर मन्त्री भइन् भने एकपटक मुख्यमन्त्रीको जिम्मेवारीमा रहिन् । नेपालको पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड बनाएकी शाक्य २०२८ सालमा नेपालको वामपन्थी आन्दोलनको श्यामप्रसाद समूहमा आबद्ध भएकी थिइन् ।
२०३६ सालबाट भूमिगत राजनीतिक जीवन शुरू गरेकी शाक्य त्यसपछि भने तत्कालीन मालेको सम्पर्कमा पुगिन् । त्यसयता अविच्छिन्न राजनीतिमा सक्रिय रहेकी उनी अब भने संसदीय राजनीतिबाट अवकाश लिएर पार्टीको राजनीतिमा मात्रै सक्रिय हुनेछिन् ।
जनताको शासन स्थापना गर्नका लागि आफूहरूले संघर्ष गरेको र अहिलेको राजनीतिक उपलब्धिमा सन्तुष्टि मिल्ने शाक्य बताउँछिन् । तर, पछिल्लो समयमा नेताहरूमा देखिएको पदलोलुपता र स्वार्थीपनको भने उनी आलोचना गर्छिन् ।
शाक्य भन्छिन्, ‘नेताहरू स्वार्थी भए । पदलोलुप भए । विगतमा त्यत्रो संघर्ष गरेको, त्याग गरेको, जनताले माया गरेको नेताहरूले बिर्सिए । अब सुविधाको, पदको राजनीतिमा नेताहरू गए । संघर्ष गरेर आएको नेतृत्वले प्राप्तिको, सुविधाको राजनीति भनेर त्यागलाई बिर्सनुहुँदैनथ्यो । नेतृत्वले बाटो बिराउन थाल्यो ।’
आफ्नो पुस्ताका राजनीतिकर्मीले समाजवादको उद्देश्य बोकेर जीवन नै राजनीतिमा समर्पण गरेको उनी बताउँछिन् ।
‘हामीले राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्ष गरेका थियौं । अब समृद्धि हासिल गर्नका लागि संघर्ष गर्नुपर्ने छ । पहिलेको संघर्ष र अबको संघर्षको स्वरूप भने फरक हुन्छ’, शाक्यले भनिन्, ‘अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ । त्यसबाहेक, सामान्ती अवशेषलाई चिनेर त्यसको पनि अन्त्य गर्नुपर्छ र लोकतान्त्रिक संस्कार विकास गरेर अघि बढ्नुपर्छ । तर, अहिले कामकुरो एकातिर, कुम्लो बोकी थिमीतिर भन्ने जस्तो भएको छ ।’
प्रस्तुत छ, उनै शाक्यसँग लोकान्तरका उद्धव थापाले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
देश निर्वाचनको संघारमा छ । उम्मेदवार चयनको बेला छ ,तर तपाईंले संसदीय राजनीतिबाट बिदा लिने अभिव्यक्ति सार्वजनिक गर्नुभयो नि किन ?
– मेरो जिन्दगी नै राजनीतिमा बित्यो । मैले जीवन राजनीतिमै समर्पण गरें । जीवनको अन्तिम घडीसम्म एउटा पार्टीको सदस्य भएर त रहने नै छु । देश र जनताको लागि मैले सकेको योगदानलाई निरन्तरता दिन्छु । पदमा नबसी पनि सकेको योगदान हुन्छ । राम्रो काम गर्ने, नराम्रो काम नगरिदिने हो । अहिले पार्टी पंक्ति फराकिलो भयो । त्याग, योगदान गरेको पंक्ति विशाल छ । कुनै अवसर नपाएको पनि ठूलो पंक्ति छ ।
युवाहरू सक्षम र विज्ञ भएर आएका छन् । एउटै व्यक्तिले सबै सम्हाल्नुपर्छ भन्ने होइन । नमरुञ्जेल सबै मेरो जिम्मा हो भन्ने अवस्था छैन । म नभए पनि अरू साथीहरू छन् । योग्य र विज्ञ साथीहरू छन् । दुःख गरेका साथीहरू छन् । एउटै व्यक्ति सधैँ जिम्मेवारीमा रहिरहने, एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री हुने होइन । त्यही कारणले युवा पुस्ताले अवसर पाएन । उनीहरूले दुःख पनि पाए । विगतमा त्याग गरेका साथीहरूमा पनि खोइ त अवसर भन्ने अवस्था भयो ।
नेतृत्वमा लोभलालच भयो । एउटै व्यक्तिले मात्रै अवसर पाइरहनका लागि लोकतन्त्र ल्याएको होइन । अवस्था बदल्नका लागि ल्याएको हो । परिवर्तनलाई आत्मासाथ गर्न नसक्ने नेतृत्व विस्थापित हुन आवश्यक छ ।
मैले त विभिन्न अवसर पाइसकें । अब अरूलाई अवसर दिनुपर्छ । राम्रो र असल व्यक्तिका लागि ठाउँ छाडिदिनुपर्छ भनेर नै मैले संसदीय राजनीतिमा नआउने घोषणा गरेकी हुँ । सधैँभरी म नै हुनुपर्छ भन्ने होइन, हुनुहुँदैन ।
अब तपाईंको उमेर समूहका नेताहरूले विश्राम लिनुपर्छ भन्ने नैतिक दबाबको लागि पनि संसदीय राजनीतिबाट बिदा लिन्छु भन्नुभएको हो ?
– मेरो उमेर समूह र म भन्दा अग्रजहरूले पनि अब अरूलाई अवसर दिनुपर्छ भन्ने हो । देशले समृद्धि र विकासको जुन गति लिनुपर्ने हो, अहिलेको नेतृत्वबाट त्यो सम्भव भएन । अब नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ ।
तपाईं अहिले पार्टीको उपाध्यक्ष हुनुहुन्छ । संसदीय राजनीति छाडेपछि पार्टी राजनीतिमा चाहिँ कति समय रहने योजना छ ?
– मैले महाधिवेशनबाट उपाध्यक्षको जिम्मेवारी लिएको छु । त्यसो हुँदा दायाँ–बायाँ नगरी पार्टीको काम त गर्नैपर्छ । मैले अध्यक्षलाई भनिसकेको छु, पार्टीको राजनीतिबाट अहिले छाड्ने होइन । राजनीतिबाटै विमुख हुने भन्ने कुरा होइन । अहिले संसदीय राजनीतिबाट मात्रै बाहिरिन खोजेको हो भनेको छु ।
पार्टी विभाजनको समयमा १० बुँदे पक्षधर भएर एमालेका रहेकाहरूका लागि पार्टीभित्रै अप्ठ्यारो अवस्था छ । त्यसले चुनावमा पनि असर पर्छ भनेर संसदीय राजनीति छाडेको भन्नुभएको हो कि भन्ने टिप्पणी पनि सुनिन्छ नि ?
– त्यस्तो होइन । पार्टीमा त्यस्तो कुनै अप्ठ्यारो छैन । अहिले पनि मलाई काठमाडौंबाट उम्मेदवार बन्नुहोस् भन्ने आग्रह आइरहेको छ । मैले चाहेको ठाउँमा उम्मेदवार हुने अवसर दिन्छौं भन्नुभएको छ । मेरो क्षेत्रकै साथीहरूले पनि अष्ट आइदिए हुन्थ्यो, किन अचानक छाड्नुभयो भनिरहनुभएको छ । म उम्मेदवार भइदिए हुन्थ्यो भन्ने उहाँहरूको आग्रह, चाहना अहिले पनि असाध्यै धेरै छ । मैले त्यस्तो कुरा रोजेकै होइन, खोजेकै होइन भन्ने गरेको छु । अब नयाँ साथीहरूलाई ल्याउँदा राम्रो हुन्छ । जिताउनका लागि म लागिहाल्छु ।
उमेरको हिसाबले पनि अब हामीले राजनीतिक विश्राम लिने बेला भइसक्यो । यसैपालि ७० वर्ष पुग्दैछु । छातीमा हात राखेर भन्दा, हामीले पहिला ७० वर्षमा रिटायर्ड हुनुपर्छ भनेर छलफल गरेर निर्णय नै गरेका हौं । पार्टीको विधानमै व्यवस्था गरेका थियौं । तर, केही नेताहरूलाई त्यो पच्दै पचेन र त्यसलाई उल्ट्याउने, पल्टाउने गरियो । एकैजना व्यक्ति सकीनसकी पदमा बस्नुपर्छ भन्ने छ र ? पार्टी पंक्ति सबै हिसाबले फराकिलो भइसक्यो । यति विज्ञ साथीहरू आउनुभएको छ । सोचमा फराकिलो भइसक्यो ।
मेरै पुस्ताको पनि इमान्दार पंक्तिले अहिलेसम्म अवसर पाएको छैन । सधैँभरी दुःख गर्ने उनीहरू नै हो । पार्टीमा न्याय हुनुपर्छ । नेतृत्वले न्याय गर्न सक्नुपर्छ । नेतृत्वमा म पनि छु । अवसरको न्यायोचित वितरण गर्न सक्नुपर्छ । नजिक र टाढाको, मेरो र तेरो भन्ने भावना राख्नुहुँदैन भन्ने कुरा हो मेरो ।
२०७४ को चुनावपछि इतिहासकै ठूलो कम्युनिस्ट पार्टी बन्यो र फेरि टुक्रा–टुक्रामा विभाजन भयो । एमाले पनि सग्लो रहेन । महाधिवेशनपछि तपाईं पनि महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । अहिले पार्टीभित्रको अवस्थाचाहिँ तपाईंलाई कस्तो लागिरहेको छ ?
– विभाजन हुन नहुने थियो । त्यो नराम्रो भयो । कम्युनिस्ट पार्टीको इतिहासमा विग्रह नै धेरै छ । कम्युनिस्ट पार्टी त जनताको शासन स्थापित गर्ने भनेर आएका हुन् । त्यसैका लागि पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रितले संघर्ष गर्नुभयो, आखिर उहाँहरूले त केही पाउनुभएन । कयौं शहीदहरूले बलिदान गर्नुभयो । अन्याय, शोषण, उत्पीडन अन्त्यका लागि संघर्ष गरिएको थियो । जीवन दर्शन नै मार्क्सवाद, लेनिनवाद भनेर हिँडेको छ । जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त भनेका छौं । तर, आफूलाई चाहिँ त्यसअनुसारको शैलीमा रूपान्तरण गर्ने कुरामा चाहिँ पछाडि छौं ।
महाधिवेशनका विधि, पद्धति, प्रक्रिया छन् । तर, ती सबै छाडेर त्यहाँ गुटको खेल शुरू हुन्छ । कम्युनिस्टको हृदय त फराकिलो हुन्छ । सिद्धान्त, विचार, व्यवहार देश र जनताको हितमा समर्पित गर्छ भन्ने पढेर, सिकेर आएको हो । तर, अहिले समूहबन्दी, गुटबन्दी गर्ने र विचारलाई कमजोर बनाउने, सामूहिक नेतृत्व प्रणालीलाई कमजोर बनाउने, संकुचित धारणा बनाउने, विग्रहका लागि यी तमाम जे नुहुनुपर्ने हो तिनै कामहरू भइरहेका छन् । कम्युनिस्ट पार्टीमा पनि यस्तै अवस्थमा छ । अन्य पार्टीहरूमा हेर्दा पनि यही अवस्था छ । नेताहरू आफैँ विचलनमा, स्वार्थमा गएको देखिन्छ । किन चाहियो गुटबन्दी ? पार्टीमा लागेपछि मैले न्याय पाउँछु भन्ने भयो भने सबैले निःस्वार्थी भएर, समर्पित भएर काम गरिहाल्छ नि ! त्यो भावनालाई जसरी आत्मसात गरेर काम गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।
प्रदेशसभा र प्रतिनिधिसभको चुनाव संघारमा छ । पाँचदलीय गठबन्धनको घेराबन्दीको बीचमा एमाले चुनावमा सहभागी हुँदैछ । चुनाव आफैँमा सजिलो कुरा पनि होइन, आगामी चुनाव एमालेलाई लागि कत्तिको कठिन लागेको छ ?
– चुनाव अप्ठ्यारो त अप्ठ्यारै छ । स्थानीय तहको चुनावमा गठबन्धनविरूद्ध लडेर आएको हो । संख्याको हिसाबमा केही हारे पनि पार्टीले पाएको मतको हिसाबमा एमाले अगाडि नै छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा सहज हुन्छ भन्ने लागेको छ । यसबीचमा हामी देशभर गयौं । स्थानीय तहको निर्वाचनको अवस्थाको मूल्यांकन गर्यौं ।
चुनावका लागि हामीभित्रको आन्तरिक एकता अझै मजबुद हुन आवश्यक देखियो । एकले अर्कोलाई स्वीकार्नु पर्यो । मैले टिकट पाए मात्रै जित्ने, अर्कोले टिकट पाउँदा नजित्ने भन्ने भावना राख्नुभएन । मैले टिकट पाइन भने जेसुकै होस् भन्ने कुराले पनि निर्वाचन बिग्रिने हो । स्थानीय तहमा टिकट वितरण पनि न्यायोचित हुन सकेको थिएन । विल्कुलै न्यायोचित भएन । त्यही टिकट वितरण नमिलेको हुँदा हार्न नहुने ठाउँमा हारियो ।
१० बुँदे सहमतिलाई मानेर एमालेमै रहेका नेताहरूलाई अध्यक्षले आत्मालोचना गरेपछि मात्रै टिकट दिने भन्नुभएको रहेछ । यसबारेमा के भन्नुहुन्छ ?
– (हाँस्दै..) अहिलेसम्म त मैले त्यस्तो कुरा सुनेको छैन । मलाईचाहिँ उम्मेदवार हुनुपर्छ भनेर कर गरिरहनुभएको छ । त्यस्तो भनेको कुरा मलाई थाहा छैन । त्यस्तो भन्नु पनि हुँदैन । अध्यक्षको मन त साँघुरो बनाउनै हुँदैन । फराकिलो हुनुपर्यो । अलिअलि तलमाथि केही भयो होला तर, पार्टीमा आएर सबै एकै ठाउँमा बसिसकेपछि त्यस्तो कुरा त अलिकति पनि सोच्न सकिँदैन । नेतृत्वले कहिल्यै अन्याय गर्नु हुँदैन । न्याय दिनुपर्छ । पार्टीको अध्यक्ष भनेर मानिसकियो नि त । त्यो त बदलाको भावनाजस्तो हुन्छ । त्यस्तो त सोच्न पनि हुँदैन भन्छु ।
आगामी चुनावको लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसक्नुभएको छ । यसमा चाहिँ न्यायोचित वितरण भयो कि भएन त ?
–समानुपातिकमा पहिले बुझाएको सूचीमा केही फेरबदल भएको पनि छ । पहिले अवसर पाइसकेकालाई समानुपातिकमा नदोहोर्याउने भन्ने मापदण्ड नै बनाएका थियौं । समानुपातिक भनेको पटक–पटक पाउने पुरस्कार होइन । राम्रो गरे पनि, नराम्रो गरे पनि एकपटक समानुपातिकमा अवसर पाइसक्नुभयो, अब अर्कोलाई अवसर दिनुपर्छ भनेका थियौं । पार्टीमा हरेकलाई चित्त बुझ्दो बनाउन पनि सम्भव हुँदैन । इच्छा, आकांक्षा राख्नेहरूको समूह पनि विशाल छ । दुःख गरेका साथीहरूको पंक्ति पनि विशाल छ । एउटै निर्वाचनमा सबैलाई अवसर दिने, सम्बोधन गर्ने भन्ने कुरा पनि सम्भव हुँदैन ।
तर, सकेसम्म सबैको चित्तबुझ्दो हुन सकोस् भनेर नै हामीले तल्लो कमिटीबाट तीन जनाको नाम सिफारिश गर्न भनेका थियौं । त्यसरी सिफारिस भएर आएकै व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेका छौं । मलाई लाग्छ, यसमा धेरैको चित्त दुखाइ हुँदैन होला ।
पैसा लिएर पार्टीले समानुपातिक उम्मेदवार बनाएको आरोप विगतमा लाग्ने गरेको थियो । यसपटक त्यस्तो अवस्था छ कि छैन ?
– अहिलेसम्मको अवस्थामा त्यस्तो हुने देखिएको छैन । समानुपातिकको ठूलो विकृति भनेको पैसाको चलखेल नै हो । पैसाको खेलमा लागेर निर्वाचन प्रणालीलाई नै बदनाम बनाउने कुराले राम्रो हुँदैन । हाम्रो पार्टीमा त्यस्तो हुने सम्भावना नै छैन ।
राजनीतिक नेतृत्व सकेसम्म सबै अवसर आफैँ लिने प्रयासमा देखिन्छन् । अवसर बाँडफाँटमा नेता आफैँ अग्रसर हुनुपर्ने होइन र ?
– मैले त सकेसम्म अरूलाई अवसर दिनुपर्छ भनेर काम गरेको छु । २०७२ मा संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला मलाई मन्त्री बन्ने अफर आएको थियो । मन्त्री बन्न पार्टी अध्यक्षले पनि साह्रै आग्रह गर्नुभएको थियो । मेरो टीममा आउनुपर्यो, सहयोग गर्नुपर्यो भन्नुभएको थियो । मैले त्यसबेला मन्त्री बन्दिनँ अरु साथीहरूलाई अवसर दिनुपर्छ भनें । एक्लै राखेर पनि कुरा भयो । दुईपटक मन्त्री भइसकेको थिएँ । तेस्रोपटक मन्त्री भइरहनुपर्ने आवश्यकता थिएन । सबै हिसाबले सहयोग गर्छु, तर मन्त्रीचाहिँ हुन्नँ भनें । शपथ ग्रहणमा मेरो नाम गएको थियो । मैले मान्दै नमानेपछि शान्त मानवीलाई मन्त्री बनाइयो ।
त्यसरी त्याग गरेको व्यक्ति बागमती प्रदेशको मुख्यमन्त्री बन्नचाहिँ हामफालेर जानुभयो भनेर आलोचना पनि गर्छन् नि ?
– हामफालेर गएको होइन । मुख्यमन्त्री पद धेरै दिन टिक्ने अवस्थामा छैन भन्ने मलाई थाहा थियो । शुरूमा मलाई मुख्यमन्त्री हुन नदिन प्रदेश संसदीय दलमा हराइयो । अध्यक्ष नै विरुद्धमा लाग्नुभयो । त्यसबेला उहाँको ठूलो आलोचना पनि भयो । मलाई सोध्नेहरूले पनि केपी ओलीले तपाईंलाई के गरेको भन्छन् । उहाँलाई पनि जवाफ दिएर साध्य भएन । उहाँलाई अलि टेन्सन नै भएछ । पछि मलाई बोलाएर आत्मआलोचित जस्तै भएर मैले ठूलो गल्ती गरें, तपाईंलाई मुख्यमन्त्री बनाउनुपर्थ्यो भन्नुभयो ।
त्यत्रो दुःख गरेको मान्छे, हामी सँगसँगै हिँडेका हौं । दुःख गर्नुभएको छ, यातना भोग्नुभएको छ । मलाई यो आलोचनाबाट मुक्ति दिनुहोस्, टिक्न धेरै दिन के टिक्ला र तर, पनि एकपटक मुख्यमन्त्री भइदिनुहोस् भन्नुभयो । मैले त्यसबेला अरू साथीहरूसँग पनि सल्लाह गर्नुपर्छ, परिवारमा पनि सल्लाह गर्नुपर्छ, सल्लाह गरेर भन्छु भनें । त्यसपछि माधव नेपाललाई भेटेर अध्यक्षको यस्तो कुरा छ के गरौं भनेर सोधें ।
यो कुरा सुनेर माधव नेपाल छक्क पर्नुभयो । तपाईंलाई साँच्चिकै भनेको हो ? केपी ओलीले मुख्यमन्त्री दिने भए ? भन्नुभयो । मैले, यस्तो प्रस्ताव छ तपाईंले साथ दिने हो त ? भनेर सोधें । ल ठीक छ, तपाईं अगाडि बढ्नुहोस् भन्नुभयो । तपाईंको सहयोग हुन्छ नि भनेर सोध्दा, ठीक छ, जानुहोस् न, मैले जानुहोस् भनेपछि सहयोग नै भयो नि भन्नुभयो ।
विद्या भण्डारीले पनि बोलाएर तपाईंलाई चिन्न सकिनँ, मबाट ठूलो गल्ती भयो भन्ने कुरा महसूस गर्नुभयो । शुरूमा मुख्यमन्त्री हुन नदिन उहाँ पनि लाग्नुभएको थियो । मैले त्यतिबेलै यो कुरा खुलेर भनेको थिएँ । यति सबै भएपछि मात्रै मुख्यमन्त्री बन्न गएको हो ।
पछि पार्टी विभाजन भयो । त्यसपछि माधव नेपालले फोन गर्नुभएको थियो । तपाईं अलि लामो समय मुख्यमन्त्री हुनुपर्छ । हाम्रो पार्टीमा आउनुहोस् न त, म सहयोग गर्छु मुख्यमन्त्रीमा निरन्तरता दिनुहोस् भन्नुभयो । मैले पार्टी फुटाउनका लागि मुख्यमन्त्री चाहिएन भनें । मलाई पटक–पटक फोन गर्नुभयो । मैले आइन्दा यस विषयलाई लिएर फोन नगर्नुहोला भनेपछि मात्रै फोन गर्न छाड्नुभयो ।
तपाईं माधव नेपाल र केपी ओली दुवैको नजिक रहेर काम गर्नुभयो । अहिले उहाँहरू शत्रुतापूर्ण सम्बन्धमा हुनुहुन्छ । अब कहिल्यै माधव नेपाल र केपी ओलीको पुनर्मिलनको सम्भावना देख्नुभएको छ ?
– सम्भावना छ । नमिली सुख पनि छैन । अहिलेचाहिँ उहाँहरू उत्ताउलो भइराख्नुभएको छ । माधव नेपाल सैद्धान्तिक हिसाबले पनि नमिल्ने गठबन्धन भनेर हिँड्नुभएको छ । त्यो कसैलाई फाइदा छैन । यो चुनाव जसोतसो टर्ला । दुई नेताले आ–आफ्नो कुरा ओकलिरहेका छन् । अहिले नै दुवै नेता मिल्ने अवस्था छैन । अहिले त सबैले आआफ्नो स्थिति भोग्नैपर्छ । एउटा अवस्था यस्तो आउँछ, त्यसबेला दुई नेता नमिली सुखै हुँदैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...