
‘झण्डै ४० वर्षको राजनीतिक इतिहास मसँग छ । अहिले स्वतन्त्र व्यक्तिका रूपमा उपस्थित भइरहँदा केही अप्ठ्यारो महसूस गरेको छु । केही हलुंगो पनि भएको छ,’ धादिङको महादेवबेसीमा प्रदेशसभा निर्वाचनका लागि आफ्नो सम्पर्क कार्यालय खोल्ने क्रममा बुधवार स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेलले भने ।
४० वर्षभन्दा लामो समयदेखि सक्रिय राजनीति गरेको र एउटा विरासत बोकेको व्यक्ति स्वतन्त्ररूपमा मैदानमा उत्रिँदै गर्दा धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा– १ मा अहिले चुनावी अंकगणित नै फेरिएको छ । बागमती प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पौडेल नेकपा एमालेका (नेकपाकालीन) पूर्व जिल्ला अध्यक्ष हुन् ।
जिल्लामा समन्वयकारी र सर्वमान्य नेताको छवि बनाएका पौडेलको विद्रोह एमालेका लागि निकै ठूलो चुनौतीको विषय बनेको छ ।
जब पक्का भएको टिकट खोसियो
धादिङ क्षेत्र नम्बर १ (१)मा एमालेबाट नेत्र पौडेलले टिकट पाउने लगभग पक्का जस्तै थियो । पार्टी महासचिव शंकर पोखरेलले ‘तपाईं उठ्नुपर्छ, नाइँनास्ती भन्न मिल्दैन’ भन्दा उपमहासचिव विष्णु रिमालसहितका नेता साक्षी थिए ।
महासचिवकै निम्तोमा पार्टी मुख्यालय च्यासल पुगेका पौडेलले त्यतिबेला भनेका थिए, ‘साथीहरूले तँ उठे जितिन्छ भनेका छन्, तर मेरो चाहना छैन ।’
त्यसपछि पोखरेलले भने, ‘तपाईंले चाहना छैन नभन्नुस्, तलबाट नाम सिफारिश भएर आउने वातावरण म बनाउँछु । त्यहाँ किन समस्या भयो भन्ने हामीले बुझेका छौं । तपाईं नहुँदा अभिभावकत्व गर्ने मान्छे नै भएन, तपाईं उठ्नुपर्छ ।’
त्यसपछि पौडेलले आफू उठ्नै पर्ने हो भने पार्टीमा पहिला कुरा मिलाउन आग्रह गरे ।
तत्कालीन नेकपाकालमा जिल्ला अध्यक्ष रहेका पौडेल नेकपा विभाजनपछि निष्क्रिय थिए ।
समन्वयकारी नेताको छवि बनेका पौडेलको अनुपस्थितिमा जिल्लामा पार्टीभित्र आन्तरिक विवादको स्थिति सिर्जना भएको थियो । सोही कारण पनि पौडेललाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन महासचिव पोखरेलले पहलकदमी लिएका थिए । यो साउन अन्तिम साताको कुरा हो ।
त्यसपछि भदौ ३ गते एमाले धादिङका शीर्षस्थ नेताहरू पुष्प कंडेल, खेम लोहनी, भूमि त्रिपाठी, जगन्नाथ नेपाल, लक्ष्मण शर्मालगायतको उपस्थितिमा च्यासलमै फेरि महासचिव पोखरेलसहितको बैठक बस्यो ।
बैठकले धादिङको विवाद सबैजना मिलेर हल गर्ने र नेत्र पौडेललाई सक्रिय राजनीतिमा फर्काउने निर्णय गर्यो ।
त्यसपछि प्रदेश कमिटीले धादिङ १ (१)का लागि एक नम्बरमा नेत्र पौडेल, २ नम्बरमा उद्धव लुइँटेल र तीन नम्बरमा अप्सरा उप्रेतीको नाम सिफारिश गर्यो ।
त्यसो त अघिल्लो प्रदेशसभा निर्वाचनमा पनि यस क्षेत्रबाट नेत्र पौडेलको नाम एकल सिफारिश भएको थियो ।
अन्तिममा राजेन्द्र पाण्डेले टिकट हत्याए । जो हाल बागमती प्रदेशको मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि धादिङ– १ मा गठबन्धनका उम्मेदवार हुन् ।
सम्बन्धित कमिटीबाट एक नम्बरमा सिफारिश हुँदा समेत यसपटक पनि पौडेलले टिकट पाउन सकेनन् ।
एमालेका बाग्मती प्रदेश कमिटी सदस्य एवं केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य रमेश आचार्यले टिकट ‘हाइज्याक’ गरे ।
पार्टीले यसपटक पनि अन्याय गरेको महसूस गरेर पौडेल स्वतन्त्र रूपमा मैदानमा उत्रिएका हुन् । शुरूमा आफैं बोलाएर आश्वासन दिई पछि धोका दिइएको उनको बुझाइ छ ।
उनको उम्मेदवारीमा पार्टीका संस्थापक नेता जगन्नाथ नेपाल प्रस्तावक र प्रदेशसभा सदस्यका लागि दोस्रो नम्बरमा नाम सिफारिश भएका निर्वाचन क्षेत्र इञ्चार्ज उद्धव लुइँटेल समर्थक छन् ।
पार्टीका थाक्रे गाउँपालिका कमिटी अध्यक्ष कृष्ण पन्त, प्रदेश सभा निर्वाचन क्षेत्र संयोजक गोकर्ण रुपाखेती, जिल्ला कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख रामेश्वर कार्कीलगायत पौडेलको समर्थनमा खुलेर लागेका छन् । यी सबै धादिङ १(१) भित्र एमाले पंक्तिमा दह्रो पकड भएका नेता हुन् ।
खुल्न बाँकी अधिकांश नेताको सहानुभूति पनि पौडेलतर्फ देखिन्छ ।
स्थानीय चुनावदेखि रोपिएको विद्रोहको बिउ
स्थानीय चुनावका क्रममा थाक्रे गाउँपालिका अध्यक्षका लागि एमालेबाट २ जनाको मनोनयन दर्ता भयो । गाउँपालिका कमिटी अध्यक्ष कृष्ण पन्तले पार्टीको आधिकारिक टिकट लगेर शुरूमा उम्मेदवारी दर्ता गराएका थिए भने तत्कालीन समयमा निवर्तमान गाउँपालिका अध्यक्ष रहेका रामकुमार आचार्यले पछि पार्टीकै टिकट लगेर उम्मेदवारी दर्ता गराए ।
एउटै पार्टीबाट दुईजनाले टिकट ल्याएपछि निर्वाचन कार्यालय अन्यौलमा पर्यो । पहिला दर्ता भएको उम्मेदवारी कायम हुने कानूनी व्यवस्था भएपनि पार्टीको माथिल्लो कमिटीको दबाबमा आचार्यलाई आधिकारिक उम्मेदवार घोषित गरियो । त्यसपछि स्वतन्त्र ढंगले प्रतिस्पर्धा गर्ने भन्दै विद्रोहको उद्घोष गरेका पन्तलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भेटेर थम्थम्याए ।
विवाद केही समयका लागि आंशिकरूपमा हल भयो । र, गठबन्धनविरुद्ध एमालेले थाक्रे गाउँपालिकाको अध्यक्ष पद जित्न सफल भयो । उपाध्यक्ष भने माओवादी केन्द्रका यन्त्रबहादुर थापाले जिते ।
त्यतिबेला टिकट हत्याउने रामकुमार र अहिले प्रदेशसभा सदस्यका एमाले उम्मेदवार रमेश बाबुछोरा हुन् । बाबुछोराले पालैपालो टिकट खोसेको आरोप असन्तुष्ट पक्षको छ ।
तल्ला कमिटीबाट सिफारिश नभई माथिबाट टिकट ‘हाइज्याक’ गर्ने प्रवृत्ति मौलाएको भन्दै एमालेमा विद्रोह जन्मिएको हो ।
चुनावी अंक गणित
धादिङ क्षेत्र नम्बर १ (१)मा धुनिबेसी नगरपालिका, थाक्रे गाउँपालिका र गल्छी गाउँपालिका पर्छन् । यीमध्ये २ गाउँपालिकाको अध्यक्ष पद एमालेले जितेको छ ।
धुनिबेसीमा गठबन्धनबाट एकीकृत समाजवादीले जीत हात पारेको छ ।
यी तीनवटै स्थानीय तह एमालेको बलियो पकड भएका क्षेत्र हुन् । तर, एमाले विभाजन र अहिले आएर पार्टीभित्रको नयाँ विद्रोहले आधिकारिक उम्मेदवार कमजोर बन्न पुगेका छन् ।
प्रदेशसभाको यस क्षेत्रमा पौडेलका अलावा एमालेबाट रमेश आचार्य र गठबन्धनबाट नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ मुख्य प्रतिस्पर्धी छन् ।
एमालेको अधिकांश मत आफूले तान्ने विश्वासमा रहेका पौडेल माओवादी केन्द्रको पनि उम्मेदवार नरहेकाले थप आशावादी छन् । कांग्रेसभित्र समेत विवाद रहेकाले चुनाव जित्न सहज हुने उनको विश्वास छ ।
स्थानीय एक मतदाताले पनि नेत्र पौडेलको उम्मेदवारीले चुनावी अंकगणित नै फेरिदिएको दाबी गरे ।
‘पार्टीबाट टिकट पाएको भए नेत्र पौडेल सजिलै जित्ने नेता हुन् । उनको विद्रोहले एमाले उम्मेदवारलाई प्रतिस्पर्धामा आउन नै मुस्किल पर्ने देखिएको छ,’ ती स्थानीयले भने, ‘बाहिर खुले पनि, नखुले पनि एमालेको ठूलो पंक्ति पौडेलकै पक्षमा छ । मुख्य प्रतिस्पर्धा गठबन्धन र पौडेलबीच हुने मेरो आकलन छ ।’
२०५४ सालमै जिविसको निर्वाचित सदस्य बनेका पौडेल आफूले यस क्षेत्रको विकासमा उल्लेख्य काम गरेको दाबी गर्छन् ।
‘मैले यस क्षेत्रमा अगाडि बढाएका विकासका कामहरू अहिले सम्झिरहेको छु,’ बुधवार सम्पर्क कार्यालय उद्घाटनका क्रममा महादेवबेसीमा पौडेलले भनेका थिए, ‘चाहे महादेवबेसी–रातमाटे सडक भन्नुस्, चाहे महादेवबसी–निगाले सडक भन्नुस्, या त महादेवबेसी–हल्तुङ–गोगनपानी सडकको कुरा गर्नुस्, यी सबै मैले अगाडि बढाएका योजना हुन् ।’
उनले महेश खोलाको पुल तथा जनजागृति मावि र यस क्षेत्रका अन्य शिक्षण संस्थाका लागि समेत आफूले उल्लेख्य योगदान गरेको दाबी गरे ।
स्वतन्त्र उम्मेदवारी दिइसकेपछि निर्वाचन चिह्न लिने दिन महासचिव पोखरेलले पौडेललाई फेरि फोन गरेका थिए । पोखरेलले आफूले न्याय गर्ने भन्दै उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरे ।
जवाफमा पौडेलले भने, ‘म अगाडि बढिसकें, अब पछाडि हट्ने कुरा हुँदैन । सक्नुहुन्छ भने पार्टीको उम्मेदवारलाई निष्क्रिय बनाएर मलाई समर्थन गर्नुहोला ।’
सधैँ सूर्यको दबदबा हुने क्षेत्रमा पौडेल बिजुलीको चिम चिह्न लिएर चुनावी मैदानमा छन् । उनको उम्मेदवारीले प्रतिनिधिसभा क्षेत्रको हिसाबकिताबमा समेत फरक पार्न सक्ने आकलन गरिएको छ ।
प्रतिनिधिसभामा धादिङ– १ बाट गठबन्धनका राजेन्द्र पाण्डे (एकीकृत समाजवादी) र एमालेका भूमि त्रिपाठी मुख्य प्रतिस्पर्धामा छन् ।