आइतवार पोखराको सिर्जनाचोक एरियामा चलिरहेको घरदैलो अभियानमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईसँगै थिए, विराज अधिकारी ।
विराज स्व. रवीन्द्र अधिकारीका जेठा छोरा हुन् । डेंगु संक्रमणका कारण दुई साताको रेस्टपछि चुनावी प्रचारमा हिँडेकी आमाको रेखदेखका लागि उनी अभियानमा हिँडिरहेका छन् ।
बिहानदेखि नै आमासँग चुनावी अभियानमा हिँडिरहेका विराज आफूचाहिँ केही बोल्दैनन् । मतदाताका कुरा सुनिरहेका हुन्छन् । हातमा ‘वेट टिस्यु पेपर’ लिएर हिँडेका विराजले आमाको निधारमा मतदाताले लगाइदिएको अवीर पसिनाका कारण आँखातिर झर्न लागे पुछिदिन्छन् ।
कास्कीबाट लगातार तीनपटक चुनाव जितेका रवीन्द्रको निधन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेको समयमा हेलिकप्टर दुर्घटनामा भएको थियो ।
रवीन्द्रको निधनपछि भएको उपनिर्वाचनमा पत्नी विद्याले कास्की २ बाट चुनाव जितिन् ।
यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका नेता श्रीनाथ बरालसँग विद्याले चुनावी प्रतिस्पर्धा गरिरहेकी छिन् ।
यो क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र स्वतन्त्र उम्मेदवार पनि छन् ।
कास्कीको विकासमा खेलेको भूमिकाका कारण रवीन्द्रको प्रभाव अहिलेसम्म पनि कायम छ । त्यही प्रभावकाबीच विराज आमासँग चुनावी अभियानमा हिँडेर जनताको भावना बुझ्ने काम गरिरहेका छन् ।
‘यसअघिको छोटो कार्यकालमा पनि ममीले गर्नुभएको कामको जजमेन्ट गरेर जनताले भोट हाल्छन् भन्ने आशा छ । राजनीतिसँग जनता असन्तुष्ट छन् । त्यो अवस्थामा पनि ममीलाई दिने रेस्पोन्स अत्यन्त सकारात्मक पाएको छु,’ विराजले लोकान्तरसँग भने, ‘म नै आउनु पर्छ भन्ने छैन, अरूलाई साथ दिएर लाग्छु ।’
पेशाले सफ्टवेर डेभलपर विराज पछिल्ला केही दिन आमासँगै चुनावी अभियानमा हिँडिरहेका छन् ।
बीआईटीको अध्ययन पूरा गरेर विराजलगायत पाँचजनाको टीमले स्वदेशमै केही गर्ने योजनासहित सफ्टवेर डेभलपिङ कम्पनी बनाएको छ ।
उनले आफूलाई राजनीतिमा आउने रुचि नरहेको बताए । ‘राजनीतिमा धेरै रुचि छैन । देशको समृद्धिका लागि स्थिर सरकार बनोस् भन्ने चाहना छ,’ विराजले भने ।
राजनीतिक दलका नेताले सबै काम गर्न नसके पनि जनतासँग सम्पर्कमा बस्नुपर्ने उनले बताए ।
‘चुनाव जितेपछि ममी कम्युनिकेसनमा बसिदिनुभयो भने जनताका समस्या त्यहीँबाट आउने हो । कम्युनिकेसनको प्रोपर मेकानिजम बनाइदिनुभयो भने त्यो इनअफ हुन्छ, काम त फेरि ब्युरोक्रेसीले गर्ने हो,’ विराजले भने ।
चुनाव जित्ने आधार– तीन वर्षको कामको मूल्यांकन
२०७६ सालको उपनिर्वाचनमा विजयी विद्या आफूले तीन वर्षमा गरेको कामका कारण जनताले फेरि न्याय गर्ने बताउँछिन् । ‘त्यो बेला म विनातयारी चुनावमा आएकी थिएँ । पोखरावासीले मलाई विश्वास गर्नुभएको थियो,’ विद्याले भनिन्, ‘वास्तविक चुनाव यसपटक फेस गर्दैछु ।’
उपनिर्वाचनमा निर्वाचित भएर संसदमा पुगेपछि पोखराको विकास र यहाँका समस्याका लागि प्रयास गर्दै आएको उनले बताइन् । ‘पर्यटकीय नगरी पोखरालाई देशकै नमूना शहर बनाउनका लागि स्थानीय तहसँग मिलेर काम गर्ने मेरो योजना छ,’ विद्याले भनिन् ।
बिहान ५ बजेदेखि राति १० बजेसम्म मतदाताको कुरा सुन्दै अभियानमा खटिएको उनले बताइन् ।
‘कतिपय मतदातासँग मेरो पहिलोपटक अन्तरक्रिया हुँदैछ । धेरैले रवीन्द्रजीले गरेको कामको निरन्तरताका लागि पनि विद्यालाई जिताउनुपर्छ भन्ने भावना व्यक्त गर्नुभएको पाएकी छु,’ उनले भनिन् ।
सत्ता गठबन्धन र अन्य पक्षसँग प्रतिस्पर्धा गरे पनि पोखरेली जनताले आफूलाई विश्वास गर्ने उनले दाबी गरिन् ।
कास्की क्षेत्र नम्बर २ पोखरा महानगरपालिकाको शहरी क्षेत्रमा पर्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एसका धनराज आचार्य मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा भने एमाले विजयी भएको थियो ।
आफू शिक्षण पेशाबाट आएको र युवा मतदाताको समेत भावना बुझेकाले इमान्दारीपूर्वक काम गर्ने उनले बताइन् ।