
चुनावी महोत्सवमा सुनसरी–४ को चुनावी प्रतिस्पर्धाले पनि चर्चा पाइरहेको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार रहेको क्षेत्र हो सुनसरी–४ । कार्की सत्तारूढ गठबन्धन दलका साझा उम्मेदवार हुन् ।
उनीसँगको प्रतिस्पर्धामा एमालेले शेरधन राई नेतृत्वको प्रदेश सरकारमा वन, वातावरण तथा पर्यटन मन्त्री रहेका जगदिशप्रसाद कुसियैतलाई उम्मेदवार बनाएको छ ।
तीन पटक हारेका र एक पटक चुनाव जितेका कार्की दोस्रोपटक जित्ने लक्ष्यमा छन् । २०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए ।
०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यतिबेला भोजपुरमा दुईवटा निर्वाचन क्षेत्र थिए ।
पहिलो संविधानसभामाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यसबेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यसबेला कार्की माओवादीका पदम राईसँग २ हजार २१४ मतको फराकिलो अन्तरले चुनाव हारेका थिए । २०७० को चुनाव भने उनले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन् र समानुपातिकतर्फको उम्मेदवार भए ।
पूर्वी पहाडमा लिम्बु समुदायमा एउटा भनाई छ– तीन पटकमा त राँगा पनि छिन्छ । तर, कार्कीका लागि त्यसबेला यो उक्ति चरितार्थ भएन । तेस्रो प्रयासमा पनि उनले चुनाव जित्न सकेनन् ।
भोजपुरमा केहीगरी चुनाव जित्न नसकेपछि कार्कीले गिरिजाप्रसाद कोइरालाले चुनाव जित्ने गरेको क्षेत्र सुनसरी– ४ मा कार्कीको आँखा पर्याे ।
सुनसरी–४ कोइरालाले निरन्तर चुनाव जितेको क्षेत्र हो । २०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन नेता उपेन्द्र यादव उम्मेदवार थिए । कांग्रेसका डाक्टर खलि आजाद साहले यादवलाई भारी मतले पराजित गरे ।
०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग जगदीश कुसियैत पराजित भएका थिए । २०५३ सालको उपनिर्वाचनमा यो क्षेत्र बाट कुसियैत निर्वाचित भएका थिए । त्यसबेला काँग्रेसका हरि सापकोटा पराजित गर्दै कुसियैत काँग्रेसको किल्ला तोडेर लाल किल्ला बनाएका थिए । त्यति बेला सापकोटा राज्यमन्त्री थिए ।
०५६ सालमा एमालेले महबुब अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालाले जितेका थिए । संविधानसभाको पहिलो निर्वाचनमा यो क्षेत्र बाट तत्कालीन मधेसी जनअधिकार फोरम हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए ।
एमालेबाट महबुब अन्सारी र गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला पराजित भए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उपेन्द्र नै यो क्षेत्रबाट निर्वाचित भएका थिए । ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा समेत सुनसरी–४ मा कांग्रेसले आफ्नो गुमेको विरासत फर्काएको थियो । सुनसरीमा रहेको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सुनसरी–१ मात्रै बाम गठबन्धनले जितेको थियो ।
२०७४ को चुनावमा ज्ञानेन्द्रले एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै पहिलो पटक संसद छिरेका थिए । त्यही चुनाव जितेको बलमा उनी अहिले मन्त्री छन् ।
अघिल्लो चुनावमा एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएका थिए ।
अहिलेको चुनावमा उम्मेदवार रहेका एमाले नेता कुसियैतले एकपटक संघ र एकपटक प्रदेश सभामा चुनाव जितेका छन् ।
चुनावी मैदानमा रहेका संघीय सरकारका बाहलवाला मन्त्री कार्की र प्रदेश–१ मा पूर्व मन्त्री कुसियैत अहिले आफ्ना कामको प्रचारमा व्यस्त छन् ।
दुवै उम्मेदवारले आफ्नो कामको आधारमा मतदाताले आफूलाई चुनाव जिताउने दावी गर्दै आएका छन् । आफूले अहिलेसम्म गरेको काम नै आफ्नो चुनाव जित्ने आधार रहेको कार्कीले बताए ।
४ वर्षमा १० अर्बभन्दा बढी योजना निर्वाचन क्षेत्रमा ल्याएको उनले बताए । अघिल्लो चुनावमा कार्कीलाई पर्यटक उम्मेदवारको आरोप लाग्दा पनि नतिजा आफ्नो पक्षमा पारेका थिए ।
एमालेका उम्मेदवार कुसियैत भने आफू स्थानीय उम्मेदवार भएकाले चुनाव जित्नेमा ढुक्क रहेको उनले बताए । प्रदेश सरकारमा मन्त्री भएको बेला गरेका कामका आधारमा मतदाताले मत दिने उनी बताउँछन् ।
‘विकासका मोडल देखेर मतदाताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु’, उनले भने, ‘मलाई यहाँको माटोले, भूगोलले पनि चिनेको छ ।’
रामधुनी नगरपालिकाको वडा नम्बर–४, बराह नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० र ११, इनरूवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८, भोक्राहा र कोशी गाउँपालिका सबै वडा तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा सुनसरी क्षेत्र नम्बर–४ मा पर्छन् ।
यस्तो छ स्थानीय तह निर्वाचनको मत
सुनसरी–४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । त्यहाँ काँग्रेसले २८ हजार ७५६ मत पाएको छ ।
यस्तै, एमाले २३ हजार ६१३, जसपाले ९ हजार ८६३, नेकपा एसले ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।
स्थानीय तह निर्वाचनको मतको आधारमा सञ्चार मन्त्री कार्कीको पक्षमा ३७ हजार ६०६ मत देखिन्छ भने एमाले र जसपाका उम्मेदवार कुसियैतको पक्षमा ३३ हजार ४७६ देखिन्छ ।