२७ जेठ २०८३, बुधबार

चुनावी सुरक्षा : ११ जिल्लाका २४ ठाउँमा ९९ राउण्ड गोली चल्यो

चुनावी सुरक्षा : ११ जिल्लाका २४ ठाउँमा ९९ राउण्ड गोली चल्यो

आइतवार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ११ जिल्लाका २४ ठाउँमा ९९ राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले ११ जिल्लाका २४ ठाउँमा हवाइ फायर गरेको बताए ।

उनका अनुसार दोलखाका ६ ठाउँ, स्याङ्जा, बाजुरा, हुम्ला र रौतहटका २/२ ठाउँ, ताप्लेजङ, सिरहा, चितवन, डोटी, दार्चुला र बझाङमा १/१ ठाउँमा हवाइ फायर गर्नुपरेको हो ।

‘अहिलेसम्म अवस्थालाई नियन्त्रण गर्नका लागि देशभरमा ९९ राउण्ड गोली चलाउन परेको छ,’ डीआईजी राईले लोकान्तरसँग भने ।

समग्रमा सुरक्षाको हिसाबले शान्तिपूर्ण रहेको उनको दाबी छ । 

बिहानदेखि अहिलेसम्म विभिन्न ठाउँमा भएका घटनाको विवरणः–

रौतहटको गुजरा नगरपालिका–४ मा २ राउण्ड गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मतदानस्थलभन्दा बाहिर हुलदंगा गरेकाले भीड नियन्त्रणका लागि हवाइ फायर गरिएको हो ।

‘हुलदंगा भएपछि अवस्था नियन्त्रण लिनका लागि २ राउण्ड हवाइ फायर गरेका हौं,’ एसपी बुढामगरले लोकान्तरसँग भने । 

सिरहाको कर्जन्हा नगरपालिकाका–६ जनता मावि बडहरामाल मतदान केन्द्रमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान शुरू भएको थियो ।

दाङको राप्ती–८ ब्रमह्यास्थलीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले निवार्चन बिथोल्न खोज्दा प्रहरीले हवाइ फायर गरेको छ । निर्वाचन बिथोल्न खोज्दा उनीहरूलाई नियन्त्रण गर्न हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

धनगढीको एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । धनगढी उपमहानगरपालिका–२ शारदा मावि मतदान केन्द्रबाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । बिहान केही बिस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति नभएको उनले बताए ।

मतदान केन्द्रभित्रै पटाका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिस्फोटको आवाजसँगै मतदाताबीच भागदौड मच्चिएको थियो । बम बिस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

गुल्मीको २ नम्बर क्षेत्रको  मालिका–५ छापाहिले मतदान स्थलमा मतदान स्थगित भएको छ । प्रत्यक्ष र समानुपातिकको मतपत्र साटिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानकारी दिए । 

‘प्रत्यक्ष र समानुपातिकको मतपत्र यताको उता र उताको यता भएपछि अहिले स्थगित भएको हो,’ एसपी रानाभाटले लोकान्तरसँग भने ।

हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी २ जना घाइते भएका छन् ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी छन् । उनीहरूको टाउकोमा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो ।

दोलखाको चिपचिपे मतदान केन्द्रमा मतदानको क्रममा विवाद भएपछि हवाइ फायर भएको छ । जिरी नगरपालिका–९ स्थित कालिका मावि चिपचिपे मतदान केन्द्रमा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको हो । गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच होहल्ला र विवाद भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको हो । २ घण्टादेखि मतदान स्थगित छ भने पुनः मतदान गराउन छलफल भइरहेको छ ।

मेलुङ गाउँपालिका–४ जुके मावि मतदान केन्द्रमा पनि एमाले र गठबन्धनका कार्यकर्ताबीच कुटाकुट हुँदा केही घाइते भएका छन् भने केहीबेर मतदान स्थगित भएको थियो । 

दोलखाको बैतेश्वर गाउँपालिका–२ जनज्योति मावि पुतलीकाट मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले गोली चलाएको छ । 

आइतवार बिहान करीब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदानस्थलमा प्रवेश गर्न खोजेर तनाव भएपछि प्रहरीले ४ राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मतदाताको भीडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेको थियो । 

दोलखाको तामाकोसी गाउँपालिका–२ अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाइ फायर भएको छ ।  मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा १ जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि स्थानीय वासिन्दाले आक्रोशित हुँदै ढुंगामुढा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । ‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिक तर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।

दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाइ फायर गरेको थियो । 

स्याङ्जाको चापाकोट नगरपालिका–१ भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाइ फायर भएको छ ।

झडपका कारण मतदान हुननसक्ने स्थिति आएपछि १ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्