०५ साउन २०८३, मंगलबार

समानुपातिकको बन्द सूचीमा नअटाएका लिम्बूको जित निश्चित

समानुपातिकको बन्द सूचीमा नअटाएका लिम्बूको जित निश्चित

नेपाली कांग्रेसका मानबहादुर लिम्बूले प्रदेश सभाको निर्वाचनमा समानुपातिक बन्द सूचीमा नाम पार्नका लागि बल गरेका थिए । तर, उनलाई पाटीले पत्याएन । त्यसपछि उनले प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट लिन दौडधुप गरे । 

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले उनीसहित चार जनाको नाम सिफारिस गरेको थियो । तर, उनले टिकट पाएनन् । शेखरचन्द्र थापाले टिकट हत्याए । तर, शेखरले मनोनयन दर्ता गर्न मात्रै भ्याए । टिकट पाएपछि लिम्बू शेखरलाई चुनाव जिताउने अभियानमा खट्ने तयारीमा थिए । मनोनयन दर्ता गरेको भोलिपल्ट नै थापा बिरामी भएर अस्पतालमा भर्ना भए । 

थापालाई डेंगु संक्रमण भएपछि नोबेल अस्पतालमा भर्ना गरिएका थिए । उपचारकै क्रममा थापाको निधन भयो । थापाको निधन भएपछि पुनः टिकटका लागि नेताहरूको दौडधुप शुरु भयो । मृतक थापाकै श्रीमती लक्ष्मी थापाले पनि इच्छा राखेकी थिइन् । तर, पाटीले लिम्बूलाई टिकट दियो । लिम्बू कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका समकक्षी हुन् । 

पार्टीको सक्रिय राजनीतिमा लागेको ३७ वर्षपछि लिम्बूले बल्ल प्रदेश सभाको टिकट पाए । नेविसंघको राजनीतिमार्फत सक्रिय भएका लिम्बू ५४ वर्षका भए । नेविसंघको मोरङ जिल्ला अध्यक्ष, तरुण दलको जिल्ला सचिव, पाटीको जिल्ला समिति सदस्य भएका थिए । १३औँ जिल्ला अधिवेशनमा उनी जिल्ला सचिवमा पराजित बनेका थिए । १४ औँ महाधिवेशनमा भने महासमिति सदस्यमा निर्वाचित भएका थिए । 

लिम्बूले १८ हजार २८६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मत पाएका छन् । गणना गर्न बाँकी भएको मतभन्दा लिम्बूले पाएको मत बढी छ ।

बेलबारी–१० को ३ हजार २३३ मत गणना गर्न बाँकी छ । उनले ४ हजार ४ सय २८ मतले अग्रता लिइसकेका छन् । बाँकी रहेको मतले लिम्बूको जितलाई रोक्न सक्ने छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्