
अभिनेता राजेश हमालले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता हमालले उक्त कुरा बताएका हुन् ।
उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरूलाई भित्र्याउन सके देशले अर्थतन्त्रमा फड्को मार्ने बताए । अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरू सञ्चालनमा रहेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरीक्षण हुन जरुरी रहेको हमालले बताएका थिए ।
उनले देशमा अहिले च्याउ उम्रिएझैँ होटलहरू सञ्चालनमा आए पनि तिनीहरूको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरूको ध्यानाकर्षण हुने बताए । ‘होटलहरू देशव्यापी रूपमा बन्दै गएका छन् । हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ । यो तलमाथि हुनेबित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ । नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो’, उनले भने, ‘अहिले च्याउ उम्रिएझैँ होटलहरू बनेका छन् । ती होटलहरूको गुणस्तर कस्तो छ ? कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ ।’
अभिनेता हमालले रेण्डर बुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड २०२२ गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताए । पुष ४ गते नेपाल होटल अवार्ड हुन लागेको हो ।