
नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक मर्जरपछि कम्तिमा १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बिहीवार राजधानीमा भएको नेपाल इन्भेष्टेमन्ट बैैंंकको ३६औँ वार्षिक साधारणसभाले मेगा बैैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले भने ‘मेगा बैंकसँग मर्जरपछि यो वर्ष दिएको भन्दा बढी लाभांश दिन्छौँ । आगामी वर्ष कम्तिमा १५ प्रतिशत लाभांश दिन सक्छौँ ।’ पाण्डेका अनुसार इन्भेष्टमेन्ट बैंकले यो वर्ष ११ प्रतिशत लाभांश दिन सकेको छ । मेगा बैंकसँग एकीकृत कारोबारपछि नाफा बढ्ने र आगामी वर्ष लाभांश पनि बढी पाइने उनको भनाइ छ ।
उनले भने ‘कर्मचारीलाई पनि सम्मानजनक व्यवहार गर्नेछौँ । कर्मचारीको वृत्तिविकास आफैँले हेर्ने, कुनै कर्मचारीलाई जबरजस्ती निकाल्ने काम हुँदैन भने कसैको पनि तह घटबढ नगरी सम्माजनक रूपमै अगाडि बढ्छौँ ।’
पाण्डेले पछिल्लो समय निकायमकी निकाय नेपाल राष्ट्र बैंकके धेरै पेलेको पनि गुनासो गरे । लगानी धेरै गरेका बैंकहरूले पाएको थोरै नाफामा पनि सबैले ठूलो आँखा लगाएर हेर्ने, मिडियाले पनि नाफा मात्रै देख्ने र राष्ट्र बैंकले पनि बढी नै नियमन गर्ने नाममा पेल्ने गरेको गुनासो पाण्डेले गरे । तर, राष्ट्र बैंककै नियमभित्र आफूहरू बाँधिनुपर्ने भएकोले उसको निर्देशन मान्नैपर्ने बाध्यता रहेको पनि पाण्डेले बताए ।
वार्षिक साधारण सभामा बैंकले केन्द्रीय बैंकले तोकेको भन्दा बढी कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गरेको भन्दै साधारण शेयरधनीहरूले प्रश्न उठाएका छन् । बैैंकले खुद नाफाको १ प्रतिशत मात्रै (सीएसआर)मा खर्च गर्न पाउँछन् । तर, इन्भेष्टेमन्ट बैंकले गत वर्षको नाफाको १.५ प्रतिशत अर्थात ५ करोड ३३ लाख २८ लाख ८२० रुपैयाँ सीएसआरमा खर्च गरेको छ । बैंकले गरेको यस्तो खर्च अघिल्लो वर्ष १ प्रतिशत भन्दा कम भएको थियो भने यो वर्ष कर तिर्दा तोकिएको सीमा नाघ्न पुगेको पनि पाँडेले बताए ।
इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश पारित गरेको छ । यो बैैंकले गत वर्षको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँबाट उक्त लाभांश वितरण गरेको हो ।
बैंकले गत आव २०७८÷७९ मा १ खर्ब ८६ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तो निक्षेप अघिल्लो वर्ष १ खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ थियो ।
यस्तो निक्षेपबाट गत आवमा इन्भेष्टेमन्ट बैंकले १ खर्ब ६४ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तो कर्जा अघिल्लो वर्ष २०७७/७८ मा १ खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ भएको बैैंकले जानकारी दिएको छ ।