कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपालको संविधानको धारा १८२ (५) बमोजिम प्रदेश प्रमुख तिलक परियारले उनलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट शाह दैलेख २ (२) बाट निर्वाचित भएका थिए । उनी एमालेको कर्णाली प्रदेश कमिटी अध्यक्ष समेत छन् ।
२०५१ मा दैलेख २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह त्यसयता संसदीय भूमिकामा थिएनन् ।
ज्येष्ठ सदस्यको हैसियतमा शाहले सोमबार दिउँसो ३ बजे प्रदेशसभा भवनमा बाँकी ३९ जना सदस्यलाई शपथ खुवाउनेछन् ।
प्रदेशसभामा सभामुख/उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यले नै सभा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख/उपसभामुख निर्वाचित गरिसक्नुपर्छ ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरू, नवनिर्वाचित प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो ।