
पछिल्लो ५ महिनामा ५६ वटा फिल्म निर्माणका लागि इजाजत लिइएको छ । २०७९ साउनयता नेपाल चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिइएको हो ।
बोर्डले दिएको विवरणमा केही फिल्मले भने समयसीमा सकिएकाले पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएको देखिन्छ । ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुनः इजाजत लिनुपर्ने प्रावधान छ ।
साउनमा इजाजत लिएका कुनै प्रदर्शनमा आइसके, कुनै छायांकनमै गएका छैनन्
सन्तोष रसाईली निर्माता एवं रमेश विसुङखे मिझार निर्देशक उल्लेख गर्दै ‘पिंक लिपस्टीक’ नामक फिल्मको इजाजत लिइएको छ ।
प्रशान्त गिरी निर्माता, निगम श्रेष्ठ निर्देशक रहने उल्लेख गर्दै ‘२.० छड्के’ फिल्मको इजाजत लिइएको छ । अनमोल केसी अभिनित फिल्मको छायांकन सकेर फागुन १९ गतेका लागि प्रदर्शन मिति तय गरिसकिएको छ ।
खगेन्द्र लामिछानेले साउनमा आफ्नो फिल्म ‘पानीफोटो’को पुनः इजाजत लिएका छन् । यो फिल्म साउनमै प्रदर्शनमा आइसकेको छ ।
विश्वप्रकाश गौचन निर्माता, दिपेन्द्र गौचन निर्देशक उल्लेख गर्दै ‘द रिसोर्ट’ नाममा इजाजत लिइएको छ । १ करोड ३८ लाख निर्माण लागत तोकिएको फिल्मको कलाकारमा अभिनेता दयाहाङ राईको नाम उल्लेख छ । फिल्मको छायांकन भने शुरू भएको छैन ।
दीपकराज गिरी निर्माता, हेमराज बिसी निर्देशक रहेको फिल्म ‘छक्का पञ्जा–४’ले साउनमा निर्माण इजाजत लिएको देखिन्छ । फिल्म फागुनको १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
दीपेन्द्र के खनाल र सुरज पाण्डे निर्माता एवं दीपेन्द्र स्वयं निर्देशक रहने गरी ‘चंगा चेट–२’को निर्माण इजाजत लिइएको छ । फिल्मको छायांकन भने शुरू भइसकेको छैन ।
दिपक श्रेष्ठ निर्देशक रहने गरी राजाराम बुढाथोकीले ‘पर्खी बसें तिमीलाई’ नामक फिल्मको इजाजत लिएका छन् । फिल्मको पनि छायांकन शुरू गरिएको छैन ।
टेक पौरखी राई निर्देशक एवं कुशल ठकुरी निर्माता रहेको फिल्म ‘मिलन’ भने प्रदर्शनमा आइसकेको छ । विकास बोर्डबाट साउनमा फिल्मको निर्माण इजाजत लिइएको थियो ।
साउनमै मर्ण जेम्स र यस सायनी निर्देशक एवं रिन्जु केसी निर्माता रहने गरी ‘चि मुसी चिः इभन डेड डिजायर बिलडिङ्ग’ नामक फिल्मको इजाजत लिइएको थियो । फिल्म पुसको २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सन्तोष पन्तले आफ्नो फिल्म ‘हिजो आजका कुरा’को साउनमा पुनः इजाजत लिएको देखिन्छ । साकार पन्तको निर्देशनमा तयार फिल्म गत असोजमा प्रदर्शनमा आइसकेको छ ।
‘द स्काई इज माइन’ नामक फिल्मको इजाजत साउनमा लिइएको देखिन्छ । दीपक रौनियार निर्देशक, रौनियार स्वयं र आशा माया मंग्राती निर्माता उल्लेख गर्दै इजाजत लिइएको फिल्ममा कलाकारका रूपमा दयाहाङ राई र आशा माया मंग्रातीको नाम उल्लेख छ । १ करोड ९० लाख लागत उल्लेख गरिएको फिल्मको छायांकन भने शुरू भएको छैन ।
भदौमा ‘स्वामी’देखि ‘कप्टी’लाई निर्माण इजाजत
गत भदौमा ‘डामाडोल’ निर्माणका लागि पुनः इजाजत लिइएको थियो । यतिबेला सांसद बनिसकेका असिम साहको निर्देशन रहने फिल्मको निर्मातामा उनीसँगै उनका दाइ असिफ साहको नाम उल्लेख छ । असिफ र आँचल शर्मा कलाकार रहने उल्लेख गरिएको फिल्मको छायांकन भने शुरू भएको छैन ।
‘यो माया कस्तो माया’ नाममा पनि फिल्म निर्माण इजाजत लिइएको छ । कृष्णप्रसाद पोख्रेल निर्देशक एवं उनीसँगै कर्णबहादुर थापा क्षेत्री निर्माता उल्लेख गरिएको फिल्मको पनि छायांकन शुरू भएको छैन । रघु परियार निर्माता एवं निर्देशक रहने गरी ‘सायरा’ नामक फिल्मको इजाजत लिइएको छ । आर्यन सिग्देल र आयुषा केसी कलाकार रहने उल्लेख गरिएको फिल्मको औपचारिक कार्यक्रमबीच निर्माण घोषणा समेत भइसकेको छ ।
असोजमा प्रदर्शनमा आएको सन्तोष सेन निर्मित फिल्म ‘प्रेम गीत–३’ले भदौमा पुनः इजाजत लिएको देखिन्छ ।
निर्माता एवं निर्देशक सन्तोष सेनले आफ्नो नयाँ फिल्म ‘हुतुतु’को पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएका छन् । फिल्मको कोरोनाअघि नै निर्माण घोषणा गरिएको थियो । मल्टिस्टारर कलाकारहरूको अभिनय रहने फिल्मको छायांकन भने शुरू भएको छैन ।
प्रेम सुब्बा निर्देशक एवं टीकाराम लिम्बु निर्माता उल्लेख गर्दै ‘माङगेन्ना’ नामक फिल्मको इजाजत लिइएको छ ।
भदौमा निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले आफ्नो फिल्म ‘झिंगेदाउ’को पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएर प्रदर्शनमा ल्याइसकेका छन् ।
सुदर्शन थापा निर्देशक एवं अजितकुमार थापा निर्माता रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि नयाँ प्रक्रियाबाट इजाजत लिएर भदौमा नै प्रदर्शनमा आइसकेको छ ।
आरबी पुन निर्देशक एवं भगवान भुजेल निर्माता रहने गरी ‘दि रियल शमशेर’ नामक फिल्मको इजाजत लिएको देखिन्छ । यद्यपि फिल्म ‘पासो’ नाममा प्रदर्शनमा आइसकेको छ ।
प्रदीपलाल श्रेष्ठ निर्देशक एवं जितेन्द्र श्रेष्ठ (मौनता) निर्माता रहने गरी ‘स्वामी’ फिल्मको इजाजत लिइएको छ । भूपेन्द्र गुरुङ निर्माता एवं निर्देशक रहने गरी ‘कप्टी’ नामक फिल्मको इजाजत लिइएको छ ।
विनोद परियार निर्देशक एवं जितेन्द्र गिरी निर्माता रहने गरी ‘गोजी रित्तै’ नामक फिल्मको इजाजत लिइएको छ ।
भूपेन्द्र गुरुङ निर्माता एवं निर्देशक रहने गरी ‘कूल देवता’ नामक फिल्मको इजाजत लिइएको छ ।
लोकबहादुर विक निर्देशक उल्लेख गर्दै ‘बालापन’ फिल्मको निर्माण इजाजत लिइएको छ । सबिन श्रेष्ठ र सोनी बिसी कलाकार उल्लेखित फिल्म पनि छायांकनमा गएको छैन ।
समुन्द्र भट्टको निर्देशनमा ‘गुलाबी एक रंग’ फिल्मको इजाजत भदौमा लिइएको थियो । नाजिर हुसेन, सञ्चिता लुइँटेल लगायतको अभिनयमा फिल्मको छायांकन सकिसकेको छ । निर्देशक राजु गिरीले ‘दिलमाया–२’को निर्माण इजाजत भदौमा लिएको देखिन्छ । भदौमा किरण नेपालीले ‘मनसुन’ नामक फिल्मको इजाजत लिएका छन् ।
झरना थापाको निर्देशन रहने गरी ‘भगवत गीता’को इजाजत पनि भदौमा लिइएको थियो । धिरज मगर र सुहाना थापाको अभिनय रहने फिल्मको छायांकन शुरू भइसकेको छैन ।
परशुराम चौधरीले ‘जितिया’ नामक फिल्मको निर्माण इजाजत लिएका छन् भने रोशनकुमार श्रेष्ठ निर्देशक एवं दिपेन्द्र कोइराला निर्माता उल्लेख गर्दै ‘आरम्भ’को इजाजत लिइएको छ ।
असोजमा ‘जीवन साथी’देखि ‘पीपल साक्षी’सम्मको इजाजत
असोज महिनामा बिक्की महर्जन निर्देशक एवं विनोद कडायत निर्माता उल्लेख गर्दै ‘द आउटलयर’, दिपक लामा निर्देशक उल्लेख गर्दै ‘जीवन साथी’, ओमप्रकाश सिंह राई निर्माता एवं निर्देशक उल्लेख गर्दै ‘पीपल साक्षी’ नामक फिल्मको इजाजत लिइएको छ ।
अभिनेता कामेश्वर चौरासियाले ‘भूपति’ नामक फिल्मको निर्माण इजाजत लिएका छन् ।
समीरकुमार जोशी पौडेल निर्देशक एवं सुधन धिताल निर्माता रहने गरी ‘चक्रब्यूह’, हिमाली लिङ्देन र मिलन चाङवान लिम्बु निर्देशक एवं एदय सुब्बा निर्माता उल्लेख गर्दै ‘डम्बरे’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ ।
‘महापुरुष’ सफल भएसँगै ‘महाजात्रा’
निर्माता एवं निर्देशक ऋषिराज आचार्यले ‘द्रोपदी’ नामक फिल्मको पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएका छन् । मुकुन्द भट्ट निर्देशक उल्लेख गर्दै ‘एक्स नाइनः स्तर एक’ नामक फिल्मको इजाजत लिइएको छ । अनमोल केसी, अर्पण थापा, नीति शाह कलाकार उल्लेख गरिएको फिल्मको लागत ५ करोड तोकिएको छ । कलाकारहरूका कारण निकै चर्चामा रहेको फिल्मको छायांकन भने शुरू हुन सकेको छैन ।
प्रदीप खड्गी निर्देशक एवं भाईकाजी महर्जन निर्माता उल्लेख गरेर ‘अपीच्य’ नामक फिल्मको इजाजत लिइएको छ । शेरबहादुर बरालले ‘यो कस्तो माया’ नामक फिल्मको पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएका छन् ।
दीपक परियार निर्देशक एवं शेरबहादुर निर्माता उल्लेख गरेर ‘हाउगुजी’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ ।
राजु गिरी निर्देशक एवं नारायण विक र सरोज खाती निर्माता उल्लेख गर्दै ‘नम्बरी सुन’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ ।
रामशरण पाठक निर्देशक एवं पाठक स्वयं र राजुमैया प्रधान श्रेष्ठ निर्माता उल्लेख गरेर ‘पिरतीको गाउँ’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ ।
हरिहर अधिकारी र नीता ढुंगानाले पनि कात्तिकमा मात्रै ‘ह्रस्वदीर्घ’को निर्माण इजाजत लिएका हुन् । मल्टिस्टारर कलाकारहरूको अभिनय रहने फिल्मको छिट्टै छायांकन शुरू गर्ने तयारी छ ।
प्रदीप भट्टराई निर्देशक एवं रविन्द्र सिंह बानियाँ र दिपेश खत्री निर्माता उल्लेख गर्दै ‘महाजात्रा’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ । कात्तिकको दोस्रो हप्ता प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ सफल भएसँगै सोही टीमले कात्तिक अन्त्यतिर ‘महाजात्रा’ निर्माणका लागि इजाजत लिएको हो ।
ओमबहादुर घिमिरे निर्देशक एवं विजय पोख्रेल निर्माता उल्लेख गर्दै ‘सेतीबेणी’ फिल्मको इजाजत पनि कात्तिक महिनामा लिइएको देखिन्छ ।
मंसिरमा ‘टुहुरा’देखि ‘चाउरे’सम्म
‘डेसान’ नामक फिल्मले पुनः नयाँ प्रक्रियाबाट इजाजत लिएको छ । कमल एक्चै मगर निर्देशक रहेको फिल्म मंसिरमै प्रदर्शनमा आइसकेको छ । मंसिरमा यमर सिंह भ्लोन निर्देशक उल्लेख गर्दै ‘टुहुरा’, कुमार गजुरेल निर्देशक एवं मोहन राई निर्माता उल्लेख गर्दै ‘चाउरे’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ । घनश्याम लामिछाने निर्देशक एवं सन्तोष अधिकारी निर्माता रहने गरी ‘चित्रा’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ । फिल्मको कलाकारमा अर्पण थापा, सन्तोष अधिकारी र हेना नगरकोटी उल्लेख गरिएको छ ।
मंसिरमै रिमबहादुर विश्वकर्माले ‘यो मनमा तिमी छौ’ नामक फिल्मको निर्माण इजाजत लिएका छन् । पुसमा पनि निर्माण इजाजत लिने फिल्महरूको संख्या बाक्लै देखिएको छ । तेजशराज जोशीले ‘सलिना’, कमल एक्चै मगरले ‘आलिङ्कन’ नामक फिल्मको निर्माण इजाजत लिएका छन् ।
किरण नेपालीले ‘हात्तिछाप’ नामक फिल्मको निर्माण इजाजत हालसालै लिएका हुन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । निरञ्जन प्रधान निर्देशक एवं सन्तोष तिमिल्सिना र सुगम आचार्य निर्माता उल्लेख गर्दै ‘अनौठो त्रिष्णा’ नामक फिल्मको निर्माण इजाजत लिइएको छ । फिल्ममा १ करोड ९२ लाख लागत लाग्ने एवं सृष्टि खड्का, देशभक्त खनाल र बिजय बराल कलाकार रहने उल्लेख छ । चलचित्र विकास बोर्डबाट इजाजत निर्माण इजाजत लिने फिल्मको संख्या उल्लेख्य भए पनि तत्काल छायांकनमा जाने भने निकै कम छन् ।