
वर्जु गाउँपालिका वडा नं ६ चिमडी सुनसरीस्थित श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापक, एक सब-इन्जिनियर र एक जना उपसचिवविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ।
प्रदेश सरकारबाट छात्रा शौचालय निर्माणका लागि विनियोजन गरिएको बजेटको हिसाब किताब सार्वजनिक नगरी हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
विद्यालयका तत्कालीन प्रधानाध्यापक रामविलास यादव, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका तत्कालीन सब-इन्जिनियर निरजकुमार झा र शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका तत्कालीन प्रमुख रमेश बहादुर दाहालले प्रदेश नं १ सामाजिक विकास मन्त्रालयबाट शिक्षा विकास तथा समन्वय इकाइ, इनरूवा, सुनसरीमार्फत गरेको सम्झौताविपरीत शौचालय बनाएको अख्तियारको ठहर छ।
उनीहरूले मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने, लागत अनुमान र सम्झौताविपरीत कार्य गरी वास्तविक कार्यभन्दा बढी रकम देखाएका अख्तियारको आरोपपत्रमा उल्लेख छ।
१,८६,७६५।९६ रुपैयाँ वदनियतपूर्ण तरिकाले भुक्तानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले विद्यालयका तत्कालीन प्रअ यादव, शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका तत्कालीन सब-इन्जिनियर झा र शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव रमेश बहादुर दाहाललाई बिगो १ लाख ८६ हजार ७ सय सय ६५ रूपैयाँ र कायम गरी कैद एवं जरिवाना माग गरिएको छ। विगोसमेत सोही दफा बमोजिम निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।