
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वसदस्य महबूब आलमले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई 'स्पट फिक्सिङ' गर्ने प्रयास गरेको खुलेको छ ।
नेपाल टी–ट्वान्टी लीगमा भएको स्पट फिक्सिङका सम्बन्धमा भएको अनुसन्धानका सम्बन्धमा जानकारी गराउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त तथ्य खुलाएको हो ।
साथै राष्ट्रिय टीमका सदस्य मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाइड फाल्नका लागि एप्रोच आएको र उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीले जानकारी दिएको छ ।
उनले २६ डिसेम्बरमा भएको 'म्याच ८' काठमाडौं भर्सेस जनकपुर र २९ डिसेम्बरमा भएको 'म्याच १२' जनकपुर भर्सेस फार वेस्टको खेलमा फिक्सिङ गरेको खुलेको छ ।
नेपाली व्यक्तिलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फिक्सिङका लागि एप्रोच भएको पनि सीआईबीले जनाएको छ ।
टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक सेसनमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको पनि खुलेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिएपनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।
केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ ।
हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले पक्राउ गरिसकेको छ ।