मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
माघ २४, २०७९
‘भत्किएको भवनमुनि मैले चिनेको एउटा परिवार छ,’ भूकम्पका कारण ध्वस्त भएको सान्लिउर्फा शहरका ओमर एल जुनैद भन्छन् ।
‘लगभग बिहान ११ वा १२ बजेसम्म मेरो साथीले फोनमा जवाफ दिइरहेकी थिइन् । तर अहिले उनी कुनै जवाफ दिन्नन् । उनी तल पुरिएकी छन् । उनको फोनको ब्याट्री सकिए जस्तो लाग्छ,’ उनी थप्छन् ।
कुनै चमत्कार भएर साथी निस्किन्छिन् भनी उनी आशा गरिरहेका छन् ।
सडकमा कारहरू पंक्तिबद्ध भई शहरको उत्तरी भागतर्फ गइरहेका छन् । टर्कीमा विगत कैयौं दशकमा आएको सबभन्दा शक्तिशाली भूकम्पका कारण आघात सहिरहेका स्थानीयलाई लिएर ती कारहरू गइरहेका हुन् ।
नजिकै एउटा पीडित परिवार जाडोमा परिरहेको चिसो पानीमा भिज्दै हिँडिरहेको छ । उनीहरू आफ्ना सामानलाई बच्चा डुलाउने प्राममा राखेर राति वास बस्ने ठाउँ खोजिरहेका छन् ।
दक्षिणपूर्वी टर्कीमा रहेको ऐतिहासिक सान्लिउर्फा शहर सोमवार बिहान आएका भयंकर भूकम्पहरूका कारण तहसनहस भएको छ । भूकम्पले ४३ सयभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । देशको कुर्दिशबहुल क्षेत्र तथा छिमेकी मुलुक सिरियामा भूकम्पको विनाश सबभन्दा बढी छ ।
यी दुई देशमा भूकम्पका कारण हजारौं भवनहरू भत्किएका छन् । दशौं हजार मानिस घाइते भएका छन् । संख्या यकिन गर्न नसकिएका अनेकौं मानिस भत्किएका भवनमा पुरिएका छन् ।
यस विपतले गरेको क्षतिको आयतन विशाल छ ।
सान्लिउर्फाको एउटा मुख्य चोकमा दर्जनौं उद्धारकर्ताहरूले सात तल्ले भवनको भग्नावशेषबाट जीवित रहेका मानिसको खोजी गरिरहेका छन् । एक झड्कामा त्यो भवन इँटा र बालुवाको ढिस्कोहरूमा परिणत भएको छ ।
यस प्रान्तमा मात्र कम्तीमा ३० जना मारिएको जानकारी छ । घाम नलाग्दै आएको ७.८ म्याग्निच्युडको भूकम्प अनि त्यसपछि आएको अर्को ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछिका अनेकौं परकम्पहरूले उक्त प्रान्तका २०० वटा भवनहरू ढलाइदिएको छ ।
ओमर एल जुनैदका अगाडि भताभुंग भएको सोफा, खुट्टा छियाछिया भएको एउटा कुर्सी, च्यातिएका पर्दा अनि अकस्मात् क्षतविक्षत भएको जीवन छ ।
उनी नजिक दर्जनौं मानिस भत्किएका भवनका विशाल भग्नावशेषहरू उठाउन कोशिश गरिरहेका छन् । उनीहरू जीवनको कुनै संकेत पाइन्छ कि भनी ध्यान दिएर सुनिरहेका छन् । उद्धारकर्ताहरू नियमित रूपमा विश्राम लिन्छन् र भग्नावशेषमुनि चिहाउँछन् । थकान, पीडा र आशाको सम्मिश्रण उनीहरूमा देखिन्छ ।
आफू साथीहरूसँग रातभरि उक्त भत्किएको भवन नजिक रहिरहने ओमर बताउँछन् । हिउँ र पानी परिरहेको भए पनि अनि थकाइले चुर भए पनि आफू त्यहीँ बस्ने उनको अडान छ ।
उक्त स्थानबाट ३५० किलोमिटर पश्चिममा रहेको अदानामा उद्धारकर्ता र सर्वसाधारणले सोमवार दिनभरि भवनका भग्नावशेषबाट कंक्रिटका टुक्रा र घरायसी सरसामान बाहिर झिके । उनीहरू जीवित व्यक्तिको खोजीमा हातैले भग्नावशेष पन्छाइरहेका छन् ।
‘मेरो आवाज सुन्ने कोही छ ?’ उद्धारकर्ताहरू भग्नावशेषमा चिच्याउँछन् । टर्कीको काहरामानमारास प्रान्त भूकम्पको केन्द्रविन्दु थियो ।
लगभग २० जनामध्ये केहीले संकटकालीन उद्धार ज्याकेट लगाएका थिए । उनीहरू शक्तिशाली आरा लिएर भग्नावशेष काटिरहेका छन् । त्यसबाट जीवित रहेका कोही मानिसलाई निकाल्न सकिने उनीहरूको आशा छ । पछि एक्सक्याभेटर ल्याएर भग्नावशेष हटाउन थालियो ।
दर्जनौं मानिस एउटा विशाल कंक्रिटको मुनि हेरिरहेका छन् । त्यस कंक्रिटलाई स्टीलका छडीहरूले एउटा कोणमा अड्याइहेका छन् । ती मानिसहरू भित्रबाहिर गर्दै जीवित मानिसकहाँ पुग्न खोजिरहेका छन् ।
एक्सक्याभेट गर्ने उपकरणले भग्नावशेषलाई हटाइरहेको छ । भूकम्पको शुरूको झड्का आएको घन्टौंपछि पनि बहुतल्ले भवनहरू धराशायी भइरहेका थिए ।
उक्त प्रान्तका अन्य स्थानमा उद्धारकर्ताहरूले दुई बालबालिकालाई भग्नावशेषबाट उद्धार गरेका छन् । हिउँले ढाकेको जमीनमा राखिएको स्ट्रेचरमा एउटा बालक छ ।
मद्दत गर्न आएका मानिसलाई उद्धारकर्ताहरूले चुप लाग्न भनिरहेका छन् । सहायताका लागि पुकारिरहेका जीवित मानिसको आवाज सुन्न र तिनीहरू रहेको ठाउँ पत्ता लगाउन उद्धारकर्ताहरूले अरूलाई चुप लाग्न भनेका हुन् ।
टर्की र सिरियाभरि हजारौं खोजी तथा उद्धार अभियन्ता, अग्निनियन्त्रक, चिकित्सक, सैनिक तथा सर्वसाधारणले जीवित रहेका व्यक्तिको खोजी र उद्धार गर्ने कोशिश गरिरहेका छन् ।
सिरियाको उत्तरपश्चिममा रहेको इदलिब शहरमा पत्रकार मोहम्मद काजमूज आफ्नो परिवारसहित भागेको बताउँछन् । बिहान घाम नलाग्दै आएको भूकम्पपछि आफू परिवारसहित घर छोडेर पलायन भएको उनको भनाइ छ ।
‘जम्मै मानिस भित्रै हुँदा एउटा भवन ढलेको हामीले देख्यौं । गृहयुद्धको बेलामा उक्त भवनमा रुसी र सिरियाली सरकारी सेनाले बम प्रहार गरेका थिए । हामी वरपर रहेका सबैजना डर र त्रास बोकी सडकमा निस्केका थिए । उनीहरू कपडाको पोको मात्र काँधमा राखेर अरू कुरा छोडी घरबाट निस्किए,’ उनले बताए ।
उनले सिरियाको ह्वाइट हेल्मेट्स नामक मानवीय स्वयंसेवा संगठनका सदस्यका साथ १२ घन्टा लगाएर आफ्नो टोलमा भत्किएका भवनबाट मानिसहरूको शरीर निकाल्न मद्दत गरेका थिए ।
भूकम्पपछिको दृश्य हेर्दा प्रलयको दिन जस्तो अनुभव भएको उनी बताउँछन् ।
सिरियामा कठ्यांग्रिदो ठण्डी भए पनि इदलिब शहरको ८० प्रतिशत जनसंख्या आफ्नो घर फर्किन डराएको उनको अनुमान छ । भूकम्पका कारण थिलथिलो बनेको भवन पूरै भत्केर आफू किचिएर मरिएला भनी उनीहरू घर फर्कन नमानेका हुन् ।
‘मेरो परिवार र म एउटा फार्ममा जैतूनका रुखहरूमुनि बसिरहेका छौं । भवन भत्किएलान् भन्ने डरले हामी खुला ठाउँमा बसेका हौं । सबैजना सडकमा छन् । म वरपर रहेका कोही पनि सुत्नका लागि घर फर्किन सकेको छैन,’ उनी थप्छन् ।
वर्षौंदेखि युद्ध, सुक्खा र व्यापक भोकमरीका कारण आक्रान्त शहरले यो पछिल्लो विपत सहन नसक्ने उनी बताउँछन् ।
‘शहरमा स्वास्थ्य र आकस्मिक सेवासहितका सेवाप्रवाहहरू पहिले नै कमजोर थिए । अहिले तिनीहरूले आफ्नो क्षमताभन्दा बढी मानिसको सेवा गर्नुपरेको छ । मृतक र घाइतेहरूलाई सम्हाल्न उनीहरू सकिरहेका छैनन् ।’
‘अधिकांश अस्पताल र स्वास्थ्य केन्द्रहरूले अब थप रोगी लिन नसकिने बताइसकेका छन् किनकि त्यहाँ मृतक र घाइतेहरू टनाटन भरिएका छन् ।’
सीमामा रहेको शहर जिन्दिरेसका अली बातेल आफ्नो गाउँको भग्नावशेषबाट सहायताको पुकारा गर्छन् ।
‘मेरो परिवार, मेरा बालबालिका अझै पनि भग्नावशेषमै पुरिएका छन् । उनीहरूलाई उद्धार गर्ने कोही छैन । उद्धारकर्ता पनि छैनन् । पुकारा सुन्ने मान्छे पनि छैनन् । केही पनि छैन ।’
‘हामी यता र उता आवाज सुन्छौं । तर अधिकांश समय केही पनि सुनिँदैन । उनीहरूलाई जोगाउने कोही छैन । कुनै सहायता छैन । विश्वका सबै मुलुक कता गए ? उनीहरू हाम्रो सहायता गर्न किन नआएका ? हामीमाथि ठूलो विपत आइलाग्यो ।’
सिरियाका अर्का पीडित ओसामा अब्देल हमिद भूकम्पले घर हल्लाउन थाल्दा आफ्नो परिवार सुतिरहेको बताउँछन् ।
‘घरको भित्तो लड्यो तर मेरो छोरो बाहिर निस्कन सक्यो,’ उनले बताए ।
‘ऊ चिच्याउन थाल्यो र मानिसहरू भेला भए । उनीहरूले हामीलाई भग्नावशेषबाट बाहिर निकाले ।’
उद्धारकर्ताहरूको व्यापक प्रयासका बावजूद मृत्युसंख्या थप बढ्ने सम्भावना छ ।
यस क्षेत्रले भोग्नुपरेको पीडालाई प्रतिनिधित्व गर्ने एक मार्मिक दृश्य पनि देखियो । धराशायी भएको दुईतल्ले भवनको भग्नावशेषबाट एक मृत बालिकालाई लिएर एकजना पुरुष हिँडिरहेका थिए ।
उनी र एक महिलाले बालिकाको शरीरलाई ठूलो कम्बलले छोपे । अनि उनीहरूले मृत शरीरलाई पानीबाट जोगाउन कम्बलले छोपेर भुइँमा राखे ।
द गार्डियनमा प्रकाशित बेन डोहर्टी, मोस्तफा रचवानी तथा एजेन्सीहरूको सामग्रीलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...