
प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यहरूको मत बाझिएको छ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्थासम्बन्धी छलफलका क्रममा समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताए।
उनले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नगरी सो पद रिक्त हुने व्यवस्था भएको पनि उल्लेख गरे। कसैले सनाखत गर्ने गरेको र कसैले सनाखत नगर्ने गरेको भन्दै उनले यो दुवै दृष्टान्तलाई हेरेर उपयुक्त व्यवस्था गर्नुपर्ने बताए।
बैठकमा समिति सदस्य प्रदीप यादवले आफूहरूको हस्ताक्षरको दुरुपयोग गर्दै राजीनामा बुझाउन सक्ने भन्दै स्वयं व्यक्तिले सनाखत गर्ने व्यवस्था गर्नुपर्ने बताए।
उनले भने, ‘हामी राजनीतिकर्मी । हाम्रो हस्ताक्षर धेरै ठाउँमा हुन्छ । त्यो लगेर बुझाइदियो भने बाटोबाटै सांसद गइहाल्छ । त्यसकारण सम्बन्धित माननीयज्यु आएर हस्ताक्षर गर्यो भने त्यो ठिक हुन्छ ।’
समितिसदस्य प्रेम सुवालले भने लिखित राजीनामा गरिसकेपछि सनाखत गरिरहनु आवश्यक नभएको तर्क गरे। कतिपयले राजीनामा गरेपछि पनि सनाखत अघि बार्गेनिङ गर्ने गरेको भन्दै सनाखत गर्ने व्यवस्था राख्न आवश्यक नरहेको बताए।
उनले राजीनामा दिइसकेपछि स्वतः स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने बताए।
उनले भने, ‘उहाँले राजीनामा पेस गरिसकेपछि पनि बाँकी रहन्छ ? सनाखत होस् या नहोस् पेस गरिसकेपछि सनाखत गर्न आउने जसले राजीनामा गर्यो उहाँको इच्छाको कुरा । सनाखत नै गर्दिन मैले राजीनामा दिएँ भनेपछि बार्गेनिङ ? करोडौँ रुपैयाँ लिएको पनि भेटिएको छ राजीनामा दिएर सनाखत नगरी । राजीनामा दिइसकेपछि सनाखत भएन भन्न मिल्दैन । राजीनामा दिनेले सनाखत गर्ने हो । नगरे सकियो ।’
यसअघि सांसदहरूले राजीनामा गरेर बार्गेनिङ गर्ने गरेको तथा सार्वजनिक व्यक्ति भएकाले हस्ताक्षरको दुरुपयोग पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राजीनामा सम्बन्धी प्रावधानलाई व्यवहारिक बनाउनुपर्नेमा समिति सदस्यहरूले जोड दिएका थिए ।