२२ असार २०८३, सोमबार

१० करोड बढी हेरिएका चार नेपाली गीत, कुन–कुन हुन् ?

१० करोड बढी हेरिएका चार नेपाली गीत, कुन–कुन हुन् ?

‘आज एक अविस्मरणीय दिन र एक निरन्तर यात्राको अर्को उपलब्धि । ‘पिरिम नलाउने’ गीतलाई १० करोड भन्दा बढी माया पाउँदा हामी एकदमै हर्षित र विनम्र छौँ । हजुरहरुको साथ, माया र हौसलाको आजीवन ऋणी रहने छौँ’ – आफ्नो गीतले युट्युबमा १ सय मिलियन प्लस भ्युज पाएपछि गायक आशिष गौतम (सचिन)ले बुधवार फेसबुकमार्फत खुशी साटे । 

गायक सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ले युट्युबमा १० करोड १ लाख बढी भ्युज पाएको छ ।

दीपक शर्माको शब्द, संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियोमा गायक आशिष सचिन र अभिनेत्री वर्षा राउतको अभिनय एवं नृत्य छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका थिए । 

१० करोड प्लस भ्युज यसअघि अन्य तीन वटा नेपाली गीतले पाइसकेका थिए । 

जसमध्ये युट्युबमा सर्वाधिक भ्युज पाउने नेपाली गीत भने ‘कुटुमा कुटु’ हो ।

यो गीतले अहिलेसम्म १८ करोड ३५ लाख प्लस भ्युज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको हो । 

राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको यो चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत हो । राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् ।

उनका साथमा चलचित्रका मुख्य कलाकारहरू निश्चल बस्नेत, असिफ शाह र बुद्धि तामाङ पनि भिडियोमा प्रस्तुत छन् । सार्वजनिक भएको छोटो समयमै करोड भ्युज पाएको गीतको लोकप्रियता त्यसयताका दिनमा पनि निरन्तर उस्तै छ । गीत विवाह, पार्टी, पिकनिकमा सदाबहार रुपमा बज्ने गरेको छ ।

दोस्रो सर्वाधिक भ्युज पाउने नेपाली गीत भने गायिका टिका प्रसाईँको ‘माया लुकी लुकी’हो । 

‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको गीत चार वर्षअघि सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै गीतले निकै चर्चा पाएको थियो । आजसम्म पनि गीतको चर्चा उस्तै छ । यो गीतले अहिले १३ करोड ४२ लाख प्लस भ्युज पाइसकेको छ ।

आनन्द अधिकारीको शब्द रहेको यस गीतलाई आशिष अविरलले कम्पोज एवं एरेन्ज गरेका हुन् । ‘द कार्टुन क्रु’का सरोज अधिकारीको निर्देशन रहेको भिडियो गायिकाको अफिसियल ‘टिका प्रसाईँ’ युट्युब च्यानलमा हेर्न सकिन्छ । 

१० करोड बढी भ्युज पाएको अर्को नेपाली गीत हो, ‘साली मन पर्यो’ । निश्चित बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको यस गीतले हालसालै युट्युबमा १० करोड प्लस भ्युज प्राप्त गरेको हो । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ । कालीप्रसादकै शब्द, रिकेश गुरुङको एरेन्ज रहेको यो गीत तीन वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । अहिले गीतको भ्युज १० करोड ४१ लाख पार भइसकेको छ । 

१० करोड भ्युज नजिक भने थुप्रै गीतहरू छन् । ‘फुलबुट्टे सारी’, ‘कसरी कसरी २’, ‘माया विरानी’, ‘गोजीमा दाम छैन’, ‘नाच फिरिरि’ लगायतका गीतहरुले लोभलाग्दो भ्युज पाएका छन् ।

लोकदोहोरीमा भने अहिलेसम्म सर्वाधिक भ्युज पाउने गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको ‘सालको पातको टपरी’ छ ।

salt training

कमेन्ट गर्नुहोस्