
काठमाडौं, भदौं ७- गुल्मीका प्रकाश थापाले नजिकको शहर बुटवलमा गाडी चलाउँथे । जिन्दगी राम्रैसँग चलेको थियो । परिवार पनि प्रकाशकै कमाइले पालिएको थियो । तर उनलाई एक दिन लाग्यो – गाडी मात्रै कति चलाउनू, विदेश जान्छु राम्रै कमाइ होला ।
चार वर्षअघि प्रकाशले विदेश जाने निधो गरे । गाउँघरका साथीभाईले वैदेशिक रोजगारीबाट राम्रै पैसा ल्याएका थिए । विदेशमा कमाएको पैसा बचत गरेर विवाह गर्ने सोंच समेत उनले बताए ।
योजना बनाउन कति नै समय लाग्थ्यो र ! विदेश जाने भएपछि गाडी चलाउन छोडे । ड्राइभरको जिन्दगीको भर हुँदैन भन्ने ठानेर उनले विदेश जानुभन्दा चार महिना अघिदेखि नै गाडी चलाउन छोडे ।
गाडीमा मात्रै होइन जिन्दगीको भर कहिँ पनि हुँदैन भन्ने उनले शायदै सोंचेका थिए । तर भयो त्यस्तै । वर्षौंसम्म गाडी चलाउँदा जोगिएको उनको शरीर अहिले ‘आधा’ भएको छ । बुटवलमै चिप्लिएर लडेका उनको कम्मरभन्दा तलको शरीर अहिले चल्दैन ।
‘विदेशमा पैसा कमाएर फर्किएपछि विहेवारी गरौंला भन्ने सोंचेकको थिए, तर जिन्दगीको भर नहुँदो रहेछ,’ उनले लोकान्तरसँग भने, ‘गाडी नै चलाएको भए मलाई यस्तो समस्या पर्दैनथ्यो कि !’ उनको रोग अब पूर्ण रुपमा निको हुँदैन, तर उनले सजिलोको लागि थेरापी गरिरहेका छन् ।
उनले अहिले राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुर्नस्थापना केन्द्रमा अकुपेसनल र फिजियो थेरापी गरिरहेका छन् । थेरापीले चल्न छोडेको शरीर थारै भएपनि चल्छ कि भन्ने उनले ठानेका छन् ।
प्रकाशकी आमा हुमाले चार वर्ष पहिले १२ हजार रुपैयाँ खर्च गरेर काठमाडौं ल्याएकी थिइन् । विर अस्पतालमा सात महिना उपराचार गर्दा पनि उनलाई निको भएन ।
हुमाले वीरबाट निकाले अरु अस्पतालहरूमा पनि परीक्षण गराएकी थिइन् । १ वर्षसम्म अस्पतालमै बस्दा भएको सम्पत्ति पनि सकियो तर प्रकाशलाई निको हुने छाँट देखिएन ।
उनले भनिन्,‘ १ वर्षसम्म अस्पताल मै बस्दा भएको सम्पत्ति सकियो तर निको भएको छैन । सरकारी अस्पताल भन्नु मात्रै हो । धेरै खर्च लाग्छ ।’
विदेशबाट ल्याएको पैसाले बिहे गरौंला भन्ने सोचेका प्रकाशको योजना भताभुंग भएको छ । सपना त हुमाले पनि सजाएकी थिइन् । पतिले अर्कै बिहे गरेर गएपछि उनको सम्पूर्ण भरोसा प्रकाशमै थियो । छोराले विदेश गएर कमायो भने राम्रोसँग पालन पोषण गर्छ भन्ने उनले ठानेकी थिइन् । तर सपना उनको पनि टुट्यो, ५४ वर्षको उमेरमा ३५ वर्षे छोराको स्याहरमा लाग्नु परेको छ ।

हुमाले छोराको उपचारमा पाँच लाख भन्दा धेरै खर्च भएको बताइन् । जवान छोरालाई व्हिलचियरमा बोकेर उनी अहिले काठमाडौंमा भौंतारिँदै छिन् । हुमाले अहिले राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुर्नस्थापना केन्द्रमा छोराको थेरापी गराउँदै छन् । चाउरी परेको हुमाको अनुहारले छोरो निको होला भन्ने आशा पालेको छ ।
‘काम गरिरहेको छोराको यो हाल भयो,’ उनले भनिन्, ‘अब गाउँमा लगेर पनि के गर्नु, यसलाई कस्ले पाल्छ, मलाई कस्ले पाल्छ ।’ हुमाका अनुसार यी आमाछोरा चार वर्षदेखि गाउँमा गएका छैन । प्रकाशको शरीरको पछाडि मेरुदण्डमा समस्या छ । प्रकाशलाई ‘इन्पाइनल कट इन्जुरी’ भएकोले पेटभन्दा तलको शरीरको भाग चल्दैन । उनले पिसाब समेत पाइपबाट गर्नुपर्छ । छोरा विरामी भएपछि वीर अस्पतालमा हुँदा एकपटक पति भेट्न आएको हुमाले बताइन् ।
प्रकाश र हुमा साढे दुई वर्ष अघिदेखि टिचिङ हस्पिटल नजिकै रहेको बाम्हथानी चेतनशिल समाजको विरामी आश्रममा निशुल्क बस्दै आएका छन् । त्यहा उनीहरुजस्तै विपन्न वर्गका बिरामीहरु बस्दै आएका छन् ।
समाज कल्याण परिषद्को मातहतमा संचालन भएको राष्ट्रिय अपाङ्ग कोषको पुर्नस्थापना केन्द्रमा प्रकाशको निःशुल्क थेरापी भईरहेको छ । कोषले देशभरका अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सायक सामाग्री वितरण र उनीहरुको लागि सिप मुलक तालिमहरु समेत दिँदै आएको जनाएको छ ।

गत आर्थिक वर्षमा ८ सय ६२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ९ सय ५५ थान साहायक सामग्री वितरण गरीएको राष्ट्रिय अपाङ्ग कोषकी प्रशासन अधिकृत सुनिता पौडेलले बताईन् । उनले भनिन्, ‘आर्थिक वर्ष २०७३/७४ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि कृतिम हात, खुट्टा, व्हिलचियर बैसाखी, आर्थोपेडिक, जुत्ता, वाकर, सेतो छडी लगायतका ९ सय ५५ थान साहायक सामाग्री वितरण गरिएको छ ।’
अपाङ्गता भएका व्यक्तिहरुमा पनि फरक किसिमको क्षमता हुने भएकाले उनीहरुलाई प्रोत्साहन गर्न र आत्मनिर्भर बनाउन कोषले सरकारी तथा गैरसरकारी संघ संस्थाबाट सहयोग गर्दै आएको पौडेलको भनाइ छ ।