
ट्राफिक प्रहरीले धेरै चीट काटेको, जरिवाना धेरै भएको तथा बाटोमा पार्किङ गर्न नपाएको भन्दै यातायात मजदुरहरूले आन्दोलन गरे ।
उनीहरूले सोमबार साँझपख काठमाडौंको नयाँ बसपार्क क्षेत्र, बालाजुको माछापोखरी बाइपास क्षेत्र, गोंगबु क्षेत्र र बसपार्कभित्र आन्दोलन गरेका थिए ।
उग्र बनेको आन्दोलनका क्रममा प्रहरीका २ वटा भ्यान (सीआरबी गाडी) जलाइयो । आँखैअगाडि गाडी जलिरहँदा पनि प्रहरीले गाडी जोगाउन र भीड नियन्त्रण गर्न सकेन ।
अर्कातिर सोही आन्दोलनका क्रममा मोबाइल पसल तोडफोड गरेर लूटपाट मच्चियो । तर, सुरक्षाकर्मी मुकदर्शक बने । यी घटनाले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ ।
आन्दोलनकारीले प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी आगजनी गरेका थिए । बालाजु वृत्तको बा १ झ ७२२४ नम्बरको अर्को गाडी पनि तोडफोड र आगजनी भएको थियो ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल एक्कासि आएको भीडले गाडी आगजनी गरेका कारण बचाउन नसकिएको दाबी गर्छन् ।
‘पहिला अवस्था सामान्य थियो । शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । त्यस्तो अवस्थामा हस्तक्षेप गर्ने कुरा भएन । पछि एक्कासि आएर आक्रमण गरेका कारण गाडीमा क्षति पुगेको हो,’ प्रवक्ता पोखरेलले भने ।
बालाजु क्षेत्रमा आन्दोलनकारी भन्दा रमिता हेर्ने मानिस र पैदल यात्रु बढी भएकाले पनि बल प्रयोग गर्न समस्या भएको उनले खुलाए । अन्य व्यक्ति नपरुन् भनेर संयमता अपनाउँदा गाडी जल्ने अवस्था आएको उनको दाबी छ ।
‘प्रहरीले संयम नअपनाएको भए धेरै मानवीय क्षति हुने थियो । प्रहरीले क्षति कम गर्नका लागि पनि त्यहाँ गोली नचलाएको हो,’ प्रवक्ता पोखरेलले लोकान्तरसँग भने ।
समयमा थप प्रहरी परिचालन हुन नसक्दा गाडी तोडफोड भएको र मोबाइल पसलहरूमा चोरी भएको आरोप स्थानीयले लगाएका छन् । तर, प्रहरी प्रवक्ता पोखरेलले भने समयमै थप प्रहरी परिचालन भएको दाबी गरे ।
‘१५/२० मिनेट त लागिहाल्छ, त्यसमा पनि बालाजु, बसपार्क तथा गोंगबु क्षेत्रका धेरै ठाउँमा थप मद्दत चाहियो भन्दा सबै ठाउँमा एकैपटक पुग्न समस्या भएको थियो,’ डआईजी पोखरेलले भने ।
यता पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले भने सोमवारको घटनामा प्रहरीको केही कमजोरी देखिएको बताउँछन् । साथै समाजमा दण्डहीनता बढेको महसूस समेत भएको उनको भनाइ छ ।
‘हिजोको अवस्था हेर्दा र विगतका केही घटनाहरूलाई हेर्दा समाजमा दण्डहीनता बढेको देखिएको छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थाले समाज कता जान्छ, त्यो विषयमा राज्यले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ ।’