०६ साउन २०८३, बुधबार
राष्ट्रपति चुनाव अघिको राजनीतिक परिदृष्य

राष्ट्रपति निर्वाचनः चरम अविश्वासको अवस्थामा एमाले-माओवादी सम्बन्ध

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– कुरो जहाँको तहीँ छ
फागुन ६, २०७९
राष्ट्रपति निर्वाचनः चरम अविश्वासको अवस्थामा एमाले-माओवादी सम्बन्ध

राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमतिको अडान तेर्‍स्याएपछि प्रमुख सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच चरम अविश्वासको स्थिति पैदा भएको छ ।

माओवादी पुस १० को सहमतिबाट पछि हटेर अविश्वासको वातावरण सिर्जना गरेको एमालेको बुझाइ छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिक संवाद भए पनि उपलब्धिमूलक बन्न सकेको छैन। फागुन ४ गते बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक बन्न नसकेपछि प्रचण्ड शुक्रबार ओली निवास बालकोट गएका थिए ।

बालकोटमा हिजो शुक्रवार भएको बैठकमा ओलीले पुस १० गते सोही कोठमा भएको सहमतिबारे प्रचण्डलाई स्मरण गराएका थिए । प्रचण्डले पनि कांग्रेसलाई समेत मिलाएर लैजाने कुरा गरेपछि दुई नेताबीच संवाद फलदायी बन्न सकेन । प्रचण्ड र ओली दुवै जना आफ्नो अडानमा सतिशालझैँ उभिएका छन् ।

माओवादीका एक प्रभावशाली नेताले राष्ट्रपतिमा साझा पात्र खोज्नुपर्ने पार्टीको लाइन यथावत् रहेको बताए । ‘राजनीतिमा परिस्थिति बदलिरहन्छ, एमालेले प्रस्ताव गरेको व्यक्तिलाई आँखा चिम्लेर समर्थन गर्ने अवस्था छैन’, ती नेताले लोकान्तरसँग भने । 

शुक्रबार अपराह्न ओलीसँगको भेटपछि बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले दुई तीन दिनमा राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्ने दाबी गरेका थिए । उनले गठबन्धन टुट्ने या भत्किने सम्भावना नरहेको जिकिर गरेका थिए ।

शुक्रबारको भेटमा पनि प्रचण्डले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउन प्रस्ताव गरेका थिए । तर, ओलीले पुस १० को सहमतिअनुसार एमालेले उठाएको उम्मेदवारलाई निःशर्त सघाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल दुई नेताबीच खुलेरै छलफल भइरहेकाले उम्मेदावर मनोनयनको दिनसम्म कुनै सहमतिमा पुगिने विश्वास व्यक्त गर्छन् । ‘कुरो जहाँको त्यहीँ छ, तर्क र बहस खुलेरै भएको छ, डराएर होइन’, शनिबार साँझ लोकान्तसँग कुरा गर्दै गजुरेलले भने, ‘पोजेटिभ पक्ष भनेको दुई नेताबीचको संवाद चलिरहेको छ ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयको कार्यतालिका छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेमा सहकार्य टुट्ने चेतावनी एमालेले दिएको छ ।

माओवादीसँग शशंकित एमाले

पहिलो कार्यकालको प्रधानमन्त्री माओवादीले लिने, राष्ट्रपति र सभामुख आफ्नो पार्टीले लिनेगरी पुस १० गते दिउँसो भएको सहमति कार्यान्वयनमा माओवादी इमानदार नबन्दा अविश्वासको वातावरण सिर्जना भएको एमाले नेताहरू बताउँछन् ।

माओवादीले कांग्रेससँग संवाद बढाइरहेकोले कांग्रेसका नेताहरूबाट गठबन्धन भत्काउने खालका अभिव्यक्ति आइरहेको एमालेको आशंका छ ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्युह रच्ने प्रयत्न भएको टिप्पणी पनि गरेका थिए ।

‘कांग्रेसका नेताहरूले दिन नै तोकेर यो गठबन्धन भत्किन्छ, कांग्रेसको राष्ट्रपति बन्छ भनेर कुन आत्मविश्वासका साथ भनिरहेका छन् ?’ एमालेका एक नेताले भने, ‘माओवादीमा राजनीतिक इमानदारिता पटक्कै देखिएन ।’

केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले फागुन १० सम्म वर्तमान गठबन्धन भत्किने ठोकुवा गरेका थिए । शुक्रबार मात्र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले १० दिनमा राजनीतिक परिस्थिति बदलिने दाबी गरेका थिए । 

नेकपा एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङ प्रधानमन्त्री बन्दाको समयमा गरिएको सहमति कार्यान्वयनमा माओवादी इमानदार बन्नुपर्ने बताउँछन् । ‘पुस १० को सहमति एमालेको राष्ट्रपति भन्ने नै हो । अहिले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिन्छु भनेर लोभ्याएजस्तो देखिन्छ’, तामाङले भने, ‘राजनीतिक इमानदारितामा माओवादी कतिको अडानमा बस्छ, प्रचण्डको सुझबुझपूर्ण कदमको अपेक्षा हामीले गरिरहेका छौं ।’

साझा पात्रको खोजी

सत्ता गठबन्धनको अर्को एक घटक नेताले एमालेमाथि दबाब सिर्जना गर्न खोजे पनि प्रधानमन्त्री स्वयं नै अहिलेको समीकरण बदल्ने पक्षमा नभएको दाबी गरे। ‘हाम्रो विश्वास गठबन्धनबाटै राष्ट्रपति बनोस् भन्ने छ, त्यो सम्भव भएन भने सबैलाई मान्य हुने र संविधानको रक्षा गर्न सक्ने स्वतन्त्र व्यक्तिमा गएर भए पनि गठबन्धन बचाऔं भन्ने छ’, सत्तारुढ राप्रपाका एक नेताले लोकान्तरसँग भने ।

व्यक्ति र पात्रको विषयमा एमाले लचिलो बन्नु पर्ने सरकारलाई समर्थन गरेका गठबन्धनका साना दलको सुझाव छ ।

‘राष्ट्रपति र सभामुख दुवै एमालेको हुँदा प्रचण्डले दबाब महसुश गरेका हुन्, तर समीकरण बदल्नेगरी जोखिमको बाटो रोज्दैनन् भन्ने हाम्रो विश्वास छ । एमालेसँग बार्गेनिङ गरिरहेका हुन्’, सरकार समर्थित एक दलका नेताले भने, ‘अहिलेको समीकरण जोगाउने कस्टमा एमालेले पनि मेरो गोरुको बाह्रै टक्का नसरोस् । कांग्रेस पनि हार्न नसक्ने साझा पात्र अगाडि सारौँ ।’

salt training

कमेन्ट गर्नुहोस्