
मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ ।
पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहनुभएको विश्वास गरिन्छ । निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ । गुप्तेश्वर महादेव स्थान नजिकै इङ्वाखोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले बताए ।