
कैलालीकी २२ वर्षीया सविता (नाम परिवर्तन) मंगलवारदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वर धाइरहेकी छिन् ।
उपत्यकाको एक कलेजमा स्नातक तेस्रो वर्षमा पढ्ने सविता आफू ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।
एक सातामा आफ्नो ७८ हजार रूपैयाँ ठगिएको उनी बताउँछिन् ।
अब प्रश्न उठ्छ, उनी कसरी ठगिइन् ? कसले लग्यो पैसा ? प्रश्नको उत्तर रोचक छ ।
केही दिनअगाडि उनकी दिदीको इन्स्टाग्राम आईडीमार्फत ‘स्टक नेपाल ट्रेडिङ’ नामको एप्लिकेसनको लिंक शेयर भयो ।

एन्ड्रोइड मोबाइलमा इन्स्टल गरेर चलाउन मिल्ने ‘एपीके’ फाइल आएकाले उनले त्यसलाई क्लिक गरिन् । एप इन्स्टल भयो । उनले दिदीलाई म्यासेज गरिन्, कसरी चलाउने ? के गर्ने ? उनलाई अर्को एउटा इन्स्टाग्राम आईडीमा जोडिन आग्रह गरियो । आग्रहबमोजिम उनी ‘विनिता डोनाल्ड’ नामको इन्स्ट्राग्राम आईडीमा जोडिइन् ।
उनलाई त्यो एप्लिकेसनमा कसरी जोडिने भनेर सिकाइयो । पैसा नेपाल बैंक, इसेवा लगायतमा पठाइदिन भनियो । सविताले भनेअनुसार पैसा पठाइन् ।
उनलाई ३ घण्टामा पैसा दोब्बरतेब्बर बढ्छ भनिएको थियो । उनले त्यसको लोभमा पैसा पठाएको लोकान्तरलाई बताइन् ।
‘३ घण्टामा पैसा दोब्बरतेब्बर हुन्छ भनेपछि पैसा पठाएकी हुँ,’ सविताले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘उसले बढेको अमाउन्ट एप्समा देखाइदियो, त्यसपछि त विश्वास लाग्यो नि सर ।’
उनले शुरूमा १० हजार रुपैयाँ लगानी गरेको बताइन् ।
बैंकिङ एप्लिकेसन इसेवा, मोबाइल बैंकिङलगायतमा पैसा राख्न लगाइएको थियो । उनका अनुसार अन्य साथीहरू र आफन्तले पनि त्यसरी नै ‘लगानी’ गरेका छन् । अर्थात्, ठगहरूको जालोमा परेका छन् ।

उनले पैसा आउने लोभमा साथीभाइसँग मागेर ७८ हजार रुपैयाँ लगानी गरेकी थिइन् । जब उनको एप्सको खातामा धेरै पैसा देखियो, तब झिक्न खोज्दा पाइनन् । उनले आफ्नी दिदीलाई फोन गरेर सोधिन्, तब उनले केही पनि थाहा नभएको बताएपछि झसंग हुन पुगिन् । त्यतिबेलासम्म उनले दिदीसँग पनि च्याटमै संवाद गरेकी थिइन् ।
पछि थाहा भयो, दिदीको इन्स्टाग्राम अकाउन्ट अर्कैले ह्याक गरेर चलाएको रहेछ । उक्त व्यक्तिले सविताको दिदीकै शैलीमा च्याट गर्ने गरेको थियो ।

आफू ठगिएको थाहा पाएपछि उनी प्रहरीमा जाहेरी दिन पुगेकी हुन् ।
उनले इन्स्ट्राग्रामको म्यासेन्जरमा सम्पर्क भएको ‘विनिता डोनाल्ड’लाई पैसा पठाइदिन भन्दा उसले आनकाकी गर्दै अर्कै इमेलमा सम्पर्क गर्न भनिरहेको छ । सविताले ‘तँ स्क्यामर रहेछस्, पैसा फिर्ता गर’ भन्दा अरूले पनि त्यसै भने, म स्क्यामर होइन, अर्को इमेलमा सम्पर्क गर, तेरो पैसा फिर्ता हुन्छ,’ भनिरहेको सविताले लोकान्तरलाई बताइन् ।
उनी अहिले आफ्नो पैसा फिर्ता आउने आशमा प्रहरी कार्यालय धाइरहेकी छन् । पछिल्लो समय नेपाल स्टक ट्रेडिङ नामको एप्लिकेसन पठाएर इन्स्टल गर्न लगाई पैसा ठगी गर्ने गिरोह सक्रिय भएको अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठोरले बताए ।
‘अहिले फेरि एउटा नयाँ एप्लिकेसनको माध्यमबाट ठगी गर्ने गरेको उजुरी हामीकहाँ आइरहेका छन्,’ एसपी राठोरले लोकान्तरसँग भने, ‘युवायुवतीहरूले पैसाको लोभमा लगानी गरिरहेका देखिन्छ ।’
सामाजिक सञ्जालमार्फत उक्त एप व्यक्तिहरूमा पुग्ने गरेको छ ।
काठमाडौंका अर्का एक युवाले आफू सोही एपबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनका अनुसार ४ लाख ठगिएको छ । उनले पनि ‘विनिता डोनाल्ड’ र ‘चाल्र्स डोनाल्ड’ नामको व्यक्तिले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।
अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो समय स्क्यामरहरूले किप्टोकरेन्सीमा लगानी गरिदिने र त्यसलाई नेपालमा पैसा साट्न नमिल्ने भन्दै आफैं लैजाने गरेको देखिएको छ ।
‘यी स्क्यामरहरूले इसेवालगायका बैंकिङ एपका माध्यमबाट पैसा लैजाने र डिजिटल करेन्सीमा लगानी गर्ने र त्यो नेपालमा अवैधानिक भएकाले त्यसको डर देखाएर आफैं राख्ने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँगको कुराकानीमा भने ।
पैसा माग्नेहरूलाई थर्काउने वा पैसा फिर्ता गरिदिन्छु भन्दै फेरि ठग्ने गरेको देखिएको छ । यसभन्दा अगाडि ‘नेपाली गल्र्स’ नामको एप्लिकेसनबाट पैसा ठगी भइरहेको थियो । त्यो कुरा सञ्चारमाध्यममा आएपछि अर्को एप बनाएर ठगिएको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए ।
‘पछिल्लो समय नयाँ तरिकाको अनलाइन ठगीको ट्रेन्ड चलेको देखिएको छ,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘अनलाइनमा पार्सल पठाइदिने बहानामा ठगी गर्नेको संख्या पनि उत्तिकै संख्यामा छ ।’
उनका अनुसार पछिल्लो समय पैसाको लोभमा १८ देखि २२ वर्षसम्मका युवायुवती बढी ठगिएको देखिएको छ ।
अपराध अनुसन्धान कार्यालमा रहेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६७१ जना पीडितको १२ करोड ३६ लाख ४२ हजार ३५० रुपैयाँ अनलाइन, पार्सल पठाउने, चिठ्ठा परेको भन्ने बाहनामा ठगी भएको छ । त्यसमध्ये ४० जना आरोपी पक्राउ गरेर ३ करोड ७ लाख ५४ हजार ७७६ रुपैयाँ बराबरको ठगी कसूरको बिगोसहित मुद्दा चलाएको छ ।
ठगीको विवरण

