
काठमाडौं : पतञ्जली योग समिति भक्तपुरका महामन्त्री केदार खड्काले आफ्नो दोस्रो पुस्तक ‘स्वस्थ जीवन जिउने कला’ पाठकमाझ ल्याएका छन् ।
पतञ्जली योग समिति भक्तपुरको ११औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारीद्वय लवदेव मिश्र र अर्चना घिमिरेले विमोचन गरे ।
पुस्तकले शारीरिक, मानसिक र आध्यात्मिक उत्थानमा सघाउ पु¥याउने आशा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराइले गरेका छन् । योगमय समग्र जीवनशैली सिकाउने पुस्तकका रुपमा रहेको यस कृतिमा पतञ्जली योग शिक्षकहरुकले प्रशिक्षण दिने ६० प्याकेजको सबै अभ्यासलाई ब्याख्या र सचित्र वर्णन गरिएकाले यसबाट योग शिक्षक प्रशिक्षार्थी र सामान्य अभ्यासकर्तालाई पनि विशेष लाभ पुग्ने केन्द्रीय प्रभारी मिश्रले बताए ।
योगको क्षेत्रमा आफ्नो १३ वर्षभन्दा लामो अध्ययन र अनुभवका आधारमा आफूले पहिलो पुस्तक प्रकाशन गरेको र त्यसलाई योगप्रेमीले मन पराएकाले पहिलेको भन्दा थप अध्ययन गरेर दोस्रो पुस्तक योगप्रेमीमाझ ल्याएको लेखक खड्काले बताए । पुस्तकमा योग, वैदिक मन्त्रहरु, योगिक जगिङ, सूर्य नमस्कार, आसन, सूक्ष्म ब्यायाम, प्राणायामलगायतका स्वस्थ जीवनमा लागि आवश्यक योग अभ्यासहरु समेटिएका छन् ।
जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरको उपाध्यक्ष, नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघ लिमिटेडका संचालक, लोहकिल्थली सहकारी संस्था लिमिटेडका अध्यक्षलगायतका विभिन्न संघसंस्थामा आवद्ध लेखक खड्काको योग, ध्यान, सहकारी, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा पनि विशेष दखल रहेको छ ।