
नयाँ वर्ष मनाउन भन्दै अधिकांश कर्मचारी बिदामा बसेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सुनसान भएको छ ।
संघीय राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित परिषद्को कार्यालयमा बुधवार मध्याह्न पुग्दा अधिकांश कर्मचारीहरू अनुपस्थित थिए ।
कतिपय कर्मचारीहरू चैत २७ गतेदेखि नै अनुपस्थित छन् भने कतिपय चैत २८ गतेदेखि र चैत २९ गते (आज)देखि अनुपस्थित भएका हुन् ।

चैत २९ गते परिषद्का विभिन्न शाखामा पुग्दा प्राय:जसो कर्मचारीको कार्यकक्ष खाली थियो ।
संघ-संस्था शाखा, कर्मचारी प्रशासन शाखा, कानून शाखा, आर्थिक प्रशासन शाखा, सूचना शाखा, विकास निर्माण शाखा लगायत शाखा तथा विभाग समेतमा कर्मचारीहरूको कार्यकक्ष सुनसान देखिएको थियो ।
हरेक शाखा तथा विभागमा एकदेखि दुई जना महिला कार्यालय सहयोगीहरू मात्र उपस्थित देखिएका थिए। कुनै–कुनै शाखामा मात्र आक्कलझुक्कल पुरुष कर्मचारी देखिएका थिए ।

चैत मसान्ततिर कर्मचारीहरू हरेक वर्ष यसरी नै बिदामा बस्ने गरेको त्यहाँ भेटिएकी एक कार्यालय सहयोगीले बताइन्।
'वर्षको अन्त्यमा हरेक वर्ष सरहरू एक सातासम्मका लागि बिदा लिएर वा बिदा नै नलिए पनि कार्यक्रमका नाममा अनुपस्थित हुने गर्नुहुन्छ,' ती कार्यालय सहयोगीले लोकान्तरसँग भनिन्, 'अब वैशाख १ गतेपछि नयाँ वर्ष मनाएर मात्र सरहरू फर्किनुहुन्छ ।'
कर्मचारीहरूको खटन-पटन, बिदा सिफारिश समेत गर्ने कर्मचारी प्रशासन विभाग पनि खाली थियो । एक कार्यालय सहयोगी मात्र देखिएकी थिइन् ।

कर्मचारी प्रशासन शाखा प्रमुख अनन्ता देवी खनाल भने आफ्नो कार्यकक्षमा भेटिएकी थिइन् । उनले अधिकांश कर्मचारीहरू बिदामा रहेको बताइन् ।
कतिजना कर्मचारीहरूले बिदा लिएका छन् भन्ने कुराको जानकारी भने नरहेको उनले बताइन् ।
'हाजिरी हेर्ने कर्मचारी हिरा पौडेल आफैं २ दिनदेखि बिदामा रहेका कारण कतिजना उपस्थित छन् र कतिले बिदा लिएका छन् भन्ने कुरा थाहा पाउन सकिँदैन,' खनालले लोकान्तरसँग भनिन्, 'हाम्रोमा हाजिरी म्यानुअल हुँदैन । ई-हाजिरी हुने हुँदा कम्प्युटरमा मात्र त्यसको अभिलेख हुन्छ । त्यो हेर्ने मानिस नै दुई दिनदेखि बिदामा हुनुहुन्छ । त्यसैले कतिजना बिदामा हुनहुन्छ भन्ने अभिलेख मसँग छैन ।'

छोराछोरीहरूको पनि शैक्षिक शत्र सम्पन्न भएर बिदा पर्ने हुँदा यो समयमा अधिकांश कर्मचारीहरू परिवारसहित घुमघाममा जाने गरेको उनको भनाइ छ ।
क्याबी बिदा, घर बिदा, सञ्चित नरहने बिदा खर्च गर्नैपर्ने हुँदा अधिकांश कर्मचारीहरू यही समय पारेर बिदा बसेको खनालले जानकारी दिइन् ।
करीब ८० जना कर्मचारी कार्यरत रहेकोमा आधाभन्दा बढी नै बिदामा बसेको हुनसक्ने उनको अनुमान छ ।

'यसरी एक साथ आधाभन्दा बढी कर्मचारीहरूको बिदा स्वीकृत गर्न मिल्दैन, तर पनि बिदामा बस्नु भएको छ,' खनालले लोकान्तरसँग थपिन्, 'एकसाथ अधिकांश कर्मचारी बिदामा बसेपछि कामकाज स्वाभाविक रूपमा प्रभावित हुन्छ ।'
एकसाथ बिदा स्वीकृत नहुने भएपछि केही कर्मचारी जानकारी नै नगराई बिदामा बसेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखा प्रमुख समेत रहेका सहसचिव इमनारायण श्रेष्ठ भने त्यसरी एकसाथ अधिकांश कर्मचारीहरू बिदामा बस्न नमिल्ने बताउँछन्। 'हुन त राखेपमा निजामती कर्मचारी हुँदैनन्। परिषद स्वायत्त संस्था भएकाले उसको आफ्नै कर्मचारी हुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'त्यस विषयमा म राखेपको सदस्य सचिवज्यूसँग बुझ्छु ।'
वास्तवमा नै त्यसो भएको हो भने कारवाही हुनुपर्ने उनले बताए ।
भिडियोमा हेर्नुहोस्
हेर्नुहोस्, थप तस्वीरहरू :




