२७ जेठ २०८३, बुधबार

२७ वर्षीय सुजनले छेडाए जिब्रो

२७ वर्षीय सुजनले छेडाए जिब्रो

मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो । 

बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए । दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । बीचमा थिए, जिब्रो छेड्न तयार भएका २७ वर्षीय सुजन श्रेष्ठ । उहाँ सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे । 

सुजनको आगमनसँगै बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा सुजन उक्लिएपछि लगातर यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए ।

सुजनका ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरी अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठ (सुजन)को जिब्रो छेडिदिए । 

त्यसपछि उनले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरिरहे ।

महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पु¥याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिरस बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौँको भीड विस्तारै तितरवितर लाग्यो । 
    
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाइ बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्