
मुग्लिन–नारायणगढ सडक खण्डको पहरो फोर्नका लागि विस्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा पुगेको विषयमा नेकपा एमालेले संसद्मा रक्षामन्त्री र भौतिक पूर्वाधार मन्त्रीको जवाफ माग गरेको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सांसद रघुजी पन्तले मुग्लिन–नारायणगढ सडक खण्ड विस्तारका लागि पहरो फोर्न विस्फोटक पदार्थ माग गरिएको फाइल भारतीय दूतावासमा पुगेको भन्दै आपत्ति जनाएका हुन् ।
चिनियाँ ठेकेदार कम्पनीले टेन्डरमा प्रतिस्पर्धा गरेर पाएको प्रोजेक्टमा भारतले विस्फोटक पदार्थ नदिएको विषयले नेपाल फेरि अन्तर्राष्ट्रिय प्रतिद्वद्विताको मैदान बन्न पुगेको उनले बताए ।
विकास आयोजनका लागि चाहिने विस्फोटक पदार्थ बनाउनका लागि नेपाली सेनासँग क्षमता भए पनि आत्मनिर्भर बन्न नदिइएको उनले आरोप लगाए ।
यस विषयमा रक्षामन्त्री र भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग उनले गरे ।