
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको उनको दाबी थियो । साथै उनले अप्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको बताए ।
‘मैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालीको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामथ्र्यवान छ । अत्यन्त अफ्ठ्यारो परिस्थिति छ । त्यही अप्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ’ उनले भने ।
देश अप्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अन्य कुनै हुन नसक्ने उनले सांसद जबराको जिकिर थियो ।